बुद्ध सर्किटमा नयाँ प्याकेज : महाअभिनिस्कर्मण क्रार्यक्रम «

बुद्ध सर्किटमा नयाँ प्याकेज : महाअभिनिस्कर्मण क्रार्यक्रम

भैरहवा-बुद्ध जन्मस्थल लुम्बिनीसहित बुद्ध जीवनीमा आधारित कपिलवस्तु, रामग्राम, देवदहसहितको बुद्ध सर्किट भ्रमणमा आउनेका लागि महाअभिनिस्कर्मण कार्यक्रम नयाँ पर्यटन प्याकेजका रूपमा सार्वजनिक भएको छ ।
बुद्ध सर्किट डटकमले महाअभिनिस्कर्मण क्रार्यक्रम सार्वजनिक गरेको हो । बुद्धको जीवनीमा महानत्यागको महत्वलाई उजागर गर्नु, बौद्ध सर्किटको नयाँ गन्तव्यको प्रचार प्रसार गर्नु, विश्व पर्यटन दिवस मनाउनु र तिलौराकोटको अनुपम महत्व दर्साउन जरुरी रहेको आयोजक संस्थाका अध्यक्ष एवं संस्थापक विक्रम पाँडेकाजीले बताए ।
राजकुमार सिद्धार्थले गृहत्याग गरेको दिनलाई स्मरण गर्दै यो कार्यक्रम बनाइएको हो । बौद्ध ग्रन्थका अनुसार असार पूर्णिमाका दिन (गुरुपूर्णिमा)लाई राजकुमार सिद्धार्थले गृहत्याग गरेको दिनका रूपमा लिइन्छ ।
सोही नुसार अघिल्लो वर्षबाट यो कार्यक्रम सुरुवात भएता पनि यस वर्ष असार महिनामा २१ गते (जुलाई ५, २०२०) व्यापक रूपमा आयोजना गरी अन्तर्राष्ट्रियस्तरमा प्रचार प्रसार गर्ने लक्ष्य रहेकोमा कोरोना भाइरस संक्रमणका कारण हुन सकेको थिएन । अहिले लकडाउन खुकुलो भएको समय र विश्व पर्यटन दिवसको अवसरमा शनिबार मध्यरात पौने १२ बजे राजकुमार सिद्धार्थ गौतम घोडा चढेर गृहत्याग गरेको दृष्य झल्कने गरी कार्यक्रम आयोजना गरिएको थियो ।
राजकुमार सिद्धार्थ तिलोराकोट दरबारको पूर्वीद्वार हँुदै सुखसयल, भोगविलाश सबै त्यागी बाहिरिएका थिए र यो दृष्यलाई त्यहाँ देखाइएको थियो । राजकुमारको प्रतिरुपलाई घोडामा चढाई पूर्वीगेटबाट बाहिर गएको देखाइएको छ ।
यो आन्तरिक र बाह्य पर्यटकका लागि नयाँ पर्यटन प्याकेज हो । मध्यरातमा कार्यक्रम हुने भएपछि यो हेर्न पर्यटकहरू बास बस्नै पर्छ र यसले पर्यटकको बसाइ अवधि एक रात बढाउँछ, पाँडेले भने ।
कार्यक्रमको उद्देश्य पर्यटकलाई नेपालभित्र स्वागत गर्न तयार हँुदै गइरहेको शुभसन्देश विश्व समुदायलाई दिन सम्प्रेषण गर्नु पनि रहेको र यो सांकेतिक रूपमा कार्यक्रम भएको र नेपालमा विस्तारै पर्यटन क्षेत्रका सबै गन्तब्य मठमन्दिर खोल्नु पर्ने कार्यक्रमका लागि आएका पर्यटनविद शरद प्रधानले बताए ।
लामो लकडाउनपछि नेपाल अब पर्यटनमैत्री भएको र यसै विश्व पर्यटन दिवसको शुभदिनमा विश्वका पर्यटकलाई नेपाल, लुम्बिनी, कपिलवस्तु भ्रमण गर्न बुद्ध दरबार तिलौराकोटबाट आह्वान गर्दै सद्भावना दूतविक्रम पाँडेकाजी, ओलम्पियन तथा अन्तराष्ट्रिय धावक बैकुण्ठ मानन्धर र रेडियो टुरिजमका मिडिया प्रबन्धक सलिना श्रीद्वारा संयुक्तरूपमा आह्वान गरेका थिए । पर्यटन ब्यूँताउन निजी क्षेत्रले गरेको यो पहल र कार्यक्रम सकारात्मक रहेको सरोकारवालाले बताएका छन् ।
यो कार्यक्रम महाअभिनिस्कर्मण मध्यरातमा भएको घटनाको परिकल्पना गरेर मनाइएको छ । तीनवटा घोडाहरू राजकुमार सिद्धार्थको मनपर्ने सेतो घोडा कन्थकको प्रतिनिधित्व गर्न राजकुमारको भूमिकामा तौलिहवा निवासी सिद्धार्थ शाक्यले निर्वाह गरेका थिए । उनले संसार छोड्नुभन्दा पहिले बौद्ध ग्रन्थमा वर्णन गरिएका सबै प्रमुख घटनामा कन्थकको प्रयोग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्