सिन्धुलीगढीको जिर्णोद्धार एवं पुनर्निर्माणका लागि १६ करोड लाग्ने
सिन्धुलीगढीको जिर्णोद्धार एवं पुनर्निर्माण गुरुयोजना सार्वजनिक
ऐतिहासिक सम्पदा सिन्धुलीगढीको जिर्णोद्धार एवं पुनर्निर्माणका लागि १६ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जिर्णोद्धार एवं पुननिर्माणसम्बन्धी गुरुयोजना सार्वजनिक गर्दै यो लागत अनुमान सार्वजनिक गरेको हो । अनुमानित १६ करोडमध्ये स्थानीय, प्रदेश र संघीय सरकारको १० करोड तथा बाँकी पीपीपी मोडलमा गएर विभिन्न गैरआवासीय नेपालीबाट जुटाइने गैरआवासीय नेपाली संघ (एनआरएनए) संघका अध्यक्ष भवन भट्टले बताए ।एक वर्षअघि एनआरएनए र कमलामाई नगरपालिकाबीच जिर्णोद्धार एवं पुननिर्माण गुरुयोजना तयार गर्ने सम्बन्धमा सहमति भएको थियो । सो सहमतिअनुसार संघका अध्यक्ष भवन भट्टले बुधबार एक कार्यक्रमबीच कमलामाई नगरपालिकाका मेयर खड्कबहादुर खत्रीलाई गुरुयोजना हस्तान्तरण गरेका छन् । गुरुयोजना हस्तान्तरण गर्दै अध्यक्ष भट्टले ऐतिहासिक महत्व बोकेको सिन्धुलीगढी जिर्णोद्धार एवं पुनर्निर्माणका लागि सम्बन्धित सबै पक्षसँग छलफल गरी उनीहरूको सहभागितामा तयार गरिएको बताए । “गुरुयोजनाको स्वामित्व स्थानीय सरकारले लिने सहमति भएको छ,” अध्यक्ष भट्टले भने, “हाल जीर्ण अवस्थामा रहेको सिन्धुलीगढीको ऐतिहासिक महत्व उजागर गर्ने गरी सो गढीका संरचनाहरू पुनस्र्थापना गर्ने गुरुयोजनामा उल्लेख छ ।”
नेपालीको वीरतासँग जोडिएको ऐतिहासिक क्षेत्र गढीको मौलिकतालाई यथावत राख्ने गरी संरचना निर्माण गर्ने जनाइएको छ । गुरुयोजना तयार पर्ने क्रममा कमलामाई नगरपालिका र एनआरएनएबीच निरन्तर समन्वय गर्दै संघले आवश्यक पर्ने परामर्शदाता चयन गरी गुरुयोजनामा खर्च गरेको छ । गुरुयोजना आर्की र कार्ड कन्सलट्यान्टको टोलीले संयुक्तरूपमा तयार पारेको एनआरएनएले जनाएको छ । गुरुयोजना निर्माण टोलीको संयोजन आर्किटेक्ट डा. संजय उप्रेतीले गरेका हुन् । गुरुयोजना तयारीसँगै कतिपय ससाना कामहरू भइरहे पनि मुख्य काम सुरु भएको २ वर्षभित्र सम्पूर्ण पुनर्निर्माण र जिर्णोद्धारको काम सकिने एनआरएनएले जनाएको छ । योजना पूरा भएपछि नेपालीको ऐतिहासिक महत्वको क्षेत्रको विकास मात्र नभएर स्थानिय सरकारको आर्थिक स्रोतसमेत बढ्ने देखिएको छ । सिन्धुलीगढीको पुनर्निर्माण र जिर्णोद्धारसँगै देशभर रहेका अन्य ऐतिहासिक, धार्मिक तथा पुरात्वातिक सम्पदाको काम अघि बढाउन स्थानीय, प्रदेश र संघीय सरकारलाई प्रेरणा मिल्ने छ । एनआरएनए र कमलामाई नगरपालिकाबीच गत माघ ४ गते गुरुयोजना तयार गर्ने सम्बन्धमा सम्झौता भएको थियो ।
सिन्धुलीगढी तत्कालीन गोर्खाली सेनाले वीरता देखाएर अंग्रेजी सेनालाई परास्त गरेको स्थल हो । २५० वर्षअघि पृथ्वीनारायण शाहले नेपाल एकीकरण सुरु गरेपछि तत्कालीन उपत्यकाका मल्ल राजाहरूले भारतमा शासन गरिरहेको बेलायती सरकारसँग सहयोग मागेका थिए । ब्रिटिस कम्पनीले कप्तान किनलकको नेतृत्वमा पठाएको बेलायती सेनालाई गोर्खालीले सिन्धुलीगढीमा परास्त गरेर धपाएका थिए । विश्वमा कतै नहारेको बेलायतलाई सिन्धुलीगढीमा परास्त गरेको सम्झनामा सिन्धुलीगढीमा हरेक वर्ष विजयोत्सव मनाइने गरिन्छ । यो काठमाडौंबाट १५० किलोमिटर पूर्वदक्षिण क्षेत्रमा समुन्द्र सतहबाट ४ हजार ६ सय ४८ फिट उचाईमा रहेको छ ।
समृद्ध सिन्धुली अभियानले सिन्धुलीगढीको प्रबद्र्धन गर्न काठमाडौंदेखि सिन्धुलीगढी हुँदै सिन्धुलीमाढीसम्म ‘राइड टु सिन्धुलीगढी’ नाममा साइकल यात्रा गर्दै आएको छ । यसैगरी, अभियानले सिन्धुलीगढी घुम्न जानेहरूलाई बसोबासको व्यवस्था गर्न सिन्धुलीगढी वरपरका गाउँमा होमस्टे तथा फार्मस्टे सञ्चालन गर्न स्थानीय बासिन्दालाई तालिम लगायतको सहयोग गर्दै आएको छ ।