मनपरी भाडा असुल
इलाम- इलाममा सञ्चालित केहि सवारी साधनले मनपरी भाडा असुल्दै आएका छन् । चाडबाडको मौका छोपेर सार्वजनिक यातायातका साधनले यात्राुहरूको भीडभाड देखेर मनपरी भाडा असुल्ने गरेको सर्वसाधारण यात्रुले गुनासो गरेका छन् ।
मेची राजमार्गको बिभिन्न ठाउँबाट गन्त्यव्यतर्फ जाने यात्राु र ग्रामीण डिकहरूमा समेत बढी भाडा तिर्नु परेको यात्रुहरूको गुनासो छ । इलाम सदरमाुकामबाट बिर्तामोड, फिदिम, मंगलबारे तथा यहाँका ग्रामीण क्षेत्रमा सधैंको रेटभन्दा माथि भाडा माग्ने गरेको यात्रुहरूको भनाइ छ । दसैंको टिका लगाउन जाने र घर फर्किनेको पूर्णिमासम्म नै यात्रुको चाप बढ्ने गर्छ । यही समयमा सवारीसाधनमा काम गर्नेहरूले मागेजति पैसा नदिए गन्तव्यसम्म नलैजाने गरेको गुनासो यात्रुहरूको छ ।
मौका छोपेर चालक र यातायातका कर्मचारीहरूले जथाभावी रकम असुलेको गुनासो सर्वसाधारणहरूले बताइरहे पनि प्रशासनले यसतर्फ कुनै कदम नचालेको उनीहरूको भनाइ छ । इलामदेखि फिक्कलसम्मको भाडा १ सय ५० हो तर यहाँ सञ्चालित सवारीका साधनहरूले बिर्तामोडसम्मको अर्थात तीन सयसम्म भाडा असुल्ने गरेको एक यात्रुले बताए । प्रहरीलाई खवर गर्दा पनि वास्ता नगरेको उनको भनाइ छ ।
धेरै यात्रु भएकाले सवारीसाधन समेत छिटो भरिन्छ । गाडी भरिएपछि अरू गाडीले रिजर्व गरेर लैजाने भएमात्र जाने भनेपछि महँगो मूल्यमा रिजर्व नै गरेर भए पनि आफूहरूले यात्रा गर्नुपरेको सर्वसाधारणको गुनासो छ । बिर्तामोडबाट इलामसम्मको भाडा ३ सय रुपैयाँ तोकिएको छ । तर, बिर्तामोडदेखि इलामसम्मकै भाडा केही सवारीले ५ सयदेखि ८ सय रुपैयाँसम्म तिर्नु परेको गुनासो गरेका छन् । यात्राुहरूको चाप अत्याधिक हुने र यही मौका छोपेर सर्वसाधारण यात्रुबाट मनपरी भाडा उठाउने विषयमा प्रमुख जिल्ला अधिकारी सुवर्णकुमार तिमिल्सिनालाई जिज्ञासा राख्दा आफूले सबैतिर प्रहरी परिचालन गरी भाडा बढी असुल्ने गाडी र चालकलाई नियन्त्रणमा लिन निर्देशन दिएको बताए ।
प्रहरी परिचालन गरेर भए पनि महँगो मूल्य नतिर्न र महँगो मूल्य नलिन आग्रह गरिरहेको उनले बताए ।