हिमालयनको ‘ग्राउन्ड ह्यान्डलिङ’मा रोक «

हिमालयनको ‘ग्राउन्ड ह्यान्डलिङ’मा रोक


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हिमालयन एयरलाइन्सले पाएको ‘सेल्फ ग्राउन्ड ह्याण्डलिङ’ तत्काल कार्यान्वयन नगराउन निर्देशन दिएको छ । मन्त्री योगेश भट्टराईले आइतबार नागरिक उड्डयन प्रधिकरणका महानिर्देशक राजन पोखरेललाई बोलाएर एयरलाइन्सले पाएको सेल्फ ग्राउन्ड ह्याण्डलिङको प्रमाण पत्र यथास्थितमा राख्न निर्देशन दिएका हुन् । मन्त्रालय स्रोतका अनुसार, मन्त्री भट्टराईले ‘सेल्फ ग्राउन्ड ह्याण्डलिङ’ को कार्यान्वयन कार्यान्वयन अहिलेलाई स्थगित गरेर प्राविधिक पक्षको थप मूल्याङ्कन गरेर मात्र अधिकार प्रदान गर्न निर्देशन दिए ।
प्राधिकरणले भने आवश्यक कार्यविधि र कानुनमा रहेर हिमालयन एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्याण्डलिङको अधिकार प्रदान गरिएको जनाएको छ । तर मन्त्री भट्टराईले प्राविधिक मूल्याङकन आवश्यक परे फेरि प्रक्रिया पूरा गरेर निर्णय लिनू भन्दै पुनरावलोकन गर्न तर तत्काललाई भने दिएको अधिकार रोक्न भनेको स्रोतले जनाएको छ । मन्त्रीले अनुमति पाएका अन्य अन्तर्राष्ट्रिय विमान कम्पनीले पनि तोकिएको मापदण्ड पूरा गरे नगरेको हेरेर आवश्यक कारवाही अगाडि बढाउन निर्देशन दिएको स्रोतले जनाएको छ ।
प्राधिकरणले हिमालय एयरलायन्सलाई असोज ४ गते सेल्फ ग्राउन्ड ह्याण्डलिङको प्रमाणपत्र प्रदान गरेको थियो । सातामा ३५ भन्दा बढी उडान भर्ने विमान कम्पनीलाई सेल्फ ग्राउन्ड ह्याण्डलिङ पाउने गरी प्राधिकरणको ‘ग्राउन्ड ह्याण्डलिङ–२०७२’ अनुसार प्रमाण पत्र दिन पाउने कानुनी व्यवस्था रहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय विमान कम्पनीमध्ये अधिकांशको ग्राउन्ड ह्याण्डलिङ व्यवस्थापन नेपाल वायुसेवा निगमले गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्