अनलाइनबाटै मासिक ५ लाख आम्दानी

इलाम-कोरोनापछिको अवस्थाले धेरैलाई बेरोजगार बनाएको छ । ठूला उद्योगधन्धा र होटल बन्द हुँदा लाखौं नेपालीले एकैपटक रोजगारी गुमाएका छन् भने स्वरोजगारहरूलाई पनि व्यवसायको सञ्चालन खर्च धान्न नै धौ धौ छ । तर, कोरोना कहरकै बीच केही सिर्जनशील र फरक ढंगले सोच्न सक्ने युवालाई भने फलिफाप पनि भएको देखिन्छ । खासगरी सूचना प्रविधिसँग अभ्यस्त युवा यसमा अगाडि छन् ।
इलामका एक युवाले घरमै बसेर मासिक तीनदेखि पाँचलाख रुपैयाँसम्म कमाउन थालेका छन् । २५ वर्षीय निर्मल दाहालले अनलाइनबाटै काम गरेर मासिक ५ लाख रुपैयाँसम्म कमाउने गरेको बताए । उनको कमाइ जापान, दक्षिण कोरिया गएर काम गरेभन्दा बढी हुने गरेको छ । “जागिर खाँदा सधैँ अर्काको निगरानीमा बस्नु पर्छ तर म आफ्नै व्यवसायसँगै राम्रै आम्दानी गरिरहेको छु,” उनी भन्छन्, “मुख्यतः अनलाइन जबलाई प्राथमिकतामा राखेको छु । विदेशको भन्दा बढी आम्दानी भएपछि स्वेदशका सहर पनि चहार्नु परेन भने विदेश त जानै परेन । घरबाट विदेशको काम गरेर कमाइरहेको छु । मलाई त कोभिड–१९ ले पनि प्रभाव पारेको छैन ।”
दाहालले अनलाइन विज्ञापन र अनलाइन गेममार्फत विदेशी पैसा भित्र्याउने गरेको बताए । विदेशी कम्पनीले आफ्नो विज्ञापनका लागि आग्रह गर्ने गरेको उनको भनाइ छ । ति विज्ञापन विभिन्न अनलाइनका माध्यमबाट प्रचार गरेवापत आफ्नो खातामा गुगल तथा विदेशी कम्पनीमार्फत रकम आउने गरेको उनी बताउँछन् । काम गरेवापत पैसा हराउने, नआउने भन्ने चिन्ता समेत नहुने उनको भनाइ छ । “सिस्टमअनुसार पाउनुपर्ने पैसा समयमै आउने गरेको छ,” उनी भन्छन् । यस्तै, सफ्टवेयर निर्माण, वेबसाइट निर्माण, मोवाइल एप्स, फेसबुक र युट्युबमा विज्ञापन लगायतका उनका सेवा छन् । साथै उनले हाल इलाममा नै बसेर नयाँ कामको तयारी पनि गरिरहेका छन् । ‘फुड एप्स’मार्फत दिउँसो खाजाको व्यापार गर्ने उनको भनाइ छ । विभिन्न संघसंस्था तथा कार्यालयमा काम गर्ने तथ घरमै बसेर पनि आफूलाई जे खान मन लागेको छ, सोही अनुसारको खाना अर्डर गरिसकेपछि खाजा पु-याउने काम गर्ने योजना छ । त्यसमा आफैं खाना र खाजा तयार गर्ने नभइ विभिन्न होटलहरूसँग सहकार्य भइरहेको छ । देशका अन्य सहरमा चलनचल्तीमा रहे पनि यस किसिमको योजना इलाममा भने पहिलो हो ।
दाहालले सवारीसम्बन्धी एप्ससमेत सञ्चालनको तयारी गरिरहेका छन् । त्यस एप्समार्फत गाडी रिजर्भ र काठमाडौंलगायत लामो दूरीको गाडी र सिट संख्याको बारेमा जानकारी हुनेछ । यात्रुको सहजताका लागि सञ्चालन हुने सो एप्स मार्फत आफूलाई आर्थिक रूपमा फाइदा नहुने भए पनि नयाँ सेवाको सुरु गर्न लागिएको उनको भनाइ छ । गाडी नम्बर, सिट संख्यासहित चालकको नम्बर उपलब्ध गराउने सफ्ट्वेयर निर्माणको तयारी भइरहेको छ । जीपीएस प्रणालीमार्फत चालक कुन ठाउँ वा क्षेत्रमा भएको समेत सोही एप्समार्फत यात्रुलाई जानकारी हुने बताइएको छ ।
द्रुत गतिको इन्टरनेट भित्रिँदै गरेको इलामलाई उनले डिजिटल इलाम बनाउने अठोट राखेका छन् । अब इलामका होटल तथा रेष्टुरेन्टमा कापी र कलम बोकेर खाना र चियाको अर्डर लिने दिनको अन्त्यको लागि एप्स तयार भइसकेको छ । साथै इलामका चिया उद्योगहरूमा किसानको चिया, हरियो चियाको ग्रेड र मूल्य समेत सफ्टवेर मार्फत नै निर्धारण गर्ने गरी एप्स तयार हुँदै गरेको छ ।
निजी तथा सामुदायिक बिद्यालयमा बिद्यार्थीको अभिलेखीकरण समेत सफ्टवेयर मार्फत नै राख्नका लागि काम भइरहेको छ । यसको सफ्टवेयर निर्माण भइसकेको छ तर लकडाउनका कारण बिद्यालय बन्द भएपछि प्रयोगमा नआएको उनी बताउँछन् । औपचारिक शिक्षा र प्राविधिक शिक्षाका लागि आफनो करिव १० लाख खर्च भए पनि इलाममा व्यवसायको लागि मात्र लगानी २ लाख ५० हजार खर्च भएको उनको भनाई छ ।
निर्मल इलामबाट एसएलसी दिएपछि उच्च शिक्षाका लागि काठमाडौं गए । बीएससी सीएसआईटीको पढाइपछि इलाममा नै फर्किएका उनी प्लस टु मा कम्प्युटर साइन्स प्रमुख बिषय राखेर पढेको बताउँछन् । उनलाई सानैदेखि कम्प्युटरबाट व्यावसायिक बन्न सकिन्छ भन्ने लागेको थियो । त्यसपछि उनले नेपालमा नै बसेर बिभिन्न ठाउँमा गएर अनलाइनसम्बन्धी कक्षा लिए । कहिले पिदेशबाट समेत अनलाइन कक्षा लिएर आफ्नो दक्षता वृद्धि गरेको उनको भनाइ छ । ‘तर कति सिक्ने ? कहिले सम्म सिक्ने’ भन्ने सीमा नै नहुने उनी बताउँछन् । प्रविधिले सेकेन्ड र मिनेन्टमा फड्को मार्ने भएकाले सोहीअनुसार आफू अपडेट भइरहनु पर्ने उनले बताए । उनले केहीलाई रोजगारी पनि दिएका छन् । केहीलाई भने स्वरोजगारको बाटोमा अघि बढाइरहेका छन् ।
पाँचजनालाई उनले सञ्चालन गरेको ट्वान्टी वान फस्टटेक नामक कार्यालयमा रोजगारी दिइरहेका छन् भने १० जनालाई स्वरोजगार बनाइरहेका छन् । एक वर्ष यता इलाममा ब्यवस्थित कार्यालय सञ्चालन गरेपछि काम सिक्ने र काम गर्न इच्छुक युवाहरूको भिड नै लाग्न थालेको छ । १५ जना प्रत्यक्ष स्वरोजगार भइसकेको उनले बताए । काम सिक्ने युवाहरू प्रशस्तै छन् ।
टीका खतिवडा