समकालीन नेपालको अर्थराजनीति : परीक्षण, कम्पन र आशा पुस्तक प्रकाशित «

समकालीन नेपालको अर्थराजनीति : परीक्षण, कम्पन र आशा पुस्तक प्रकाशित

पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा. रामशरण महतद्वारा लिखित समकालीन नेपालको अर्थराजनीतिः परीक्षण, कम्पन र आशा प्रकाशित भएको छ ।
केही महिनाअघि अनावरण भएको डा. महतको उक्त अंग्रेजी पुस्तकलाई नेपालीमा सर्वसाधारणले बुझ्ने भाषामा प्रकाशन गर्न थुप्रै पाठक तथा शुभेच्छुकबाट अनुरोध आएपछि मकालु प्रकाशन गृहले नेपाली संस्करणलाई बजारमा ल्याएको हो । वरिष्ठ पत्रकार गजेन्द्र विष्टले उक्त पुस्तकलाई नेपालीमा अनुवाद गरेका छन् ।
यस पुस्तकको अंग्रेजी संस्करणलाई भारतको एड्रोइट पब्लिसर्सले प्रकाशनमा ल्याएको थियो । पुस्तकलाई नेपालीमा प्रकाशित गरी नेपाली पाठकहरूको पहुँचसम्म पु¥याइदिनु भएकोमा लेखक डा. महतले मकालु प्रकाशन गृहलाई धन्यवाद दिएका छन । सो प्रकाशन गृहले डा. महतको यसअघिको पुस्तक लोकतन्त्रको पक्षमालाई पनि नेपालीमा प्रकाशित गरेको थियो ।
जम्मा १२ वटा अध्यायमा विभक्त यस पुस्तकमा समाजवादी दृष्टिकोणको उत्पत्ति, बदलिँदो विश्व परिस्थितिमा यसको विकास र आधुनिक विश्वका विभिन्न प्रजातान्त्रिक तथा साम्यवादी मुलुकमा अवलम्बन गरिएका यसका विभिन्न पक्षका बारेमा चर्चा गर्दै विषय प्रवेश गरिएको छ ।
राज्य निर्देशित केन्द्रीय योजना प्रणाली अथवा अहस्तक्षेपकारी र पूर्णरुपमा स्वतन्त्र बजारमुखी शास्त्रीय आर्थिक नीति दुवै असान्दर्भिक भएको चित्रण गर्दै दुवै दर्शनका दुर्बल पक्षहरूको विस्थापन गरी व्यवहारिक रुपमा कार्यान्वयनयोग्य सकारात्मक पक्षहरू सम्मिलित मिश्रित आर्थिक तथा राजनीतिक शासन प्रणालीलाई नयाँ दर्शनको रुपमा वकालत गरिएको छ ।
त्यसैगरी पुस्तकमा नेपालको समकालीन अर्थराजनीतिका विविध पक्षहरूको यथार्थता र तथ्यका आधारमा समीक्षा एवं विश्लेषणको प्रयास गरिएको छ । विगतका विभिन्न राजनीतिक परीक्षण तथा अन्य घट्नाक्रम र कम्पनहरू विशेषगरी माओवादी द्वन्द्व र सन् २०१५ को महाभूकम्पको प्रभाव एवं असरका बारेमा समीक्षात्मक चर्चा गरिएको छ । साथै पुस्तकमा नयाँ संविधानका प्रमुख विशेषता र कार्यान्वयनका चुनौतीहरूलाई पनि सरल र सुस्पष्ट ढंगले समेटिएका छन् ।
समकालीन नेपालमा जे जति आर्थिक उपलब्धिहरू हासिल भए त्यसलाई प्रभाव पार्ने मुलुकको अर्थराजनीतिका विविध पक्षहरूका बारेमा पनि पुस्तकमा चर्चा गरिएको छ । नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा खासगरी दुई ठूला छिमेकी मुलुकहरूसँगको सम्वन्धका विविध पक्षहरूका अतिरिक्त राष्ट्रको आर्थिक विकासमा दुई पक्षीय र बहुपक्षीय संस्थाहरूसँगको साझेदारिताको भूमिका एवं हालका बर्षहरूमा नेपालबाट बढ्दै गएको आप्रवासनबारे चर्चा एवं विश्लेषण गरिएको छ ।
नेपालको प्रचूर साधन, स्रोत एवं तुलनात्मक लाभका क्षेत्रहरूको अधिकतम सदुपयोग गरी उच्च आर्थिक वृद्धि हासिल गर्नुपर्नेमा जोड दिइएको छ । नेपालको कायापलट गर्ने तुलनात्मक लाभका क्षेत्रहरूमध्ये जलशक्तिबाट स्वच्छ उर्जाको वृहत् संभावना, भौगोलिक विविधता, उच्च हिमाली शृंखलासहितको पर्यावरणीय पर्यटन, धार्मिक तथा सांस्कृतिक सम्पदा, दुई ठूला छिमेकीका बीचमा रहेको भूभौगोलिक अवस्थिति र नेपालप्रति अन्तर्राष्ट्रिय जगतको सद्भाव एवं सदाशयता आदिलाई उजागर गरिएको छ ।
आर्थिक एजेण्डामा राज्यको सारा ध्यान केन्द्रित गरी सन् २०२१ भित्रमा नेपाललाई अल्प विकसितबाट विकासोन्मुख मुलुकको रुपमा स्तरोन्नति गर्ने र दिगो विकासका लक्ष्य पूरा गरी सन् २०३० सम्ममा मध्यम आय भएका मुलुकमध्येमा स्थापित गर्नेतर्फ केन्द्रीकृत हुन सुझाव दिइएको छ । यो लक्ष्य हासिल गर्नका लागि मुलुकले नयाँ सुधारका कार्यक्रमहरूलाई तीब्रताका साथ अगाडि बढाउनुपर्ने र कार्यान्वयनका जटिलताहरूको शीघ्र समाधान गर्नुपर्नेमा जोड दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्