मध्यपहाडी लोकमार्गको दीर्घकालीन समस्या ‘सहस्रधारा पहिरो’ «

मध्यपहाडी लोकमार्गको दीर्घकालीन समस्या ‘सहस्रधारा पहिरो’

पर्वत-भारी वर्षा भैरहेका कारण मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ सडक पटक पटक अवरुद्ध भैरहेको छ ।
पर्वतको कुस्मा नगरपालिका–१ सहस्रधारामा निरन्तर पहिरो झर्ने क्रम नरोकिएपछि दैनिक रुपमा सडक अबरुद्ध हुँदै आएको हो । गत मंगलबार रातिदेखि अबरुद्ध भएको सडक बुधबार दिउँसो ४ बजेपछि एकतर्फी सुचारु भए पनि बुधवार रातिदेखि नै पुनः फेरि अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार मंगलबार रातिदेखि अबरुद्ध सडक दिउँसो केहीबेर भए पनि राति फेरि पहिरो खसेपछि अबरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिए । उनका अनुसार वर्षा नरोकिएका कारण पहिरो खुलाउन सकिएको छैन ।
सामान्य वर्षा हुने बित्तिकै पहिरो ठूलो भएका कारण ढुंगा र लेदो बगेर आउँछ । बर्षा हुँदा स्काभेटर प्रयोग गरेर हटाउनसमेत कठिन भएकाले २० घण्टादेखि बाटो अवरुद्ध बनिरहेको उनले बताए ।
कुस्मा नगरपालिका–१ पाङ जोड्नका लागि सहस्रधारा–पाङ सडक निर्माण गरिएपछि सहस्रधाराका बिभिन्न ठाउँमा पहिरो खसेको छ । गत असार २८ गते सडकको ठूलो भूभाग खसेपछि सहस्रधारामा पहिरोले सडक अबरुद्ध भएको थियो भने पछिल्लो समय सडकको सुरुवात भएकै ठाउँमा पहिरो गएपछि दैनिक रूपमा यातयात अबरुद्ध हुँदै आएको छ । सडक अबरुद्ध हुँदा यातयातका साधन घण्टौ रोकिने गरेका छन । अहिले लामो दूरीका सवारी साधन खुलेपछि यात्रुको चाप बढे पनि अबरुद्ध हुँदा त्यसले यातयात व्यवसायी र यात्रु नराम्रोसँग प्रभावित हुन पुगेका छन् ।
सुरुमा ढुंगा खसे पनि पछिल्ला दिनहरुमा लेदो समेत बगेका कारण झनै समस्या भएको छ । गएको भदौ २८ गतेपछि निरन्तर पहिरो खसेको छ । त्यस बखत तीनपछि मात्रै अबरुद्ध सडक सुचारु भएको थियो । सडक खुलाउनका लागि दुईवटा स्काभेटर तयारी अवस्थामा राखिएको छ ।
दैनिक ४, ५ घण्टा स्काभेटर चलाएर सडक खुलाउँदा सडक निर्माणको जिम्मा लिएको लामा कन्ट्रक्सनले पनि थप आर्थिक भार बेहोर्न बाध्य छ । लामा कन्ट्रक्सनका प्रोजेक्ट म्यानेजर गोबिन्द भुसालका अनुसार डोजर परिचालनमा दैनिक ५ हजार खर्च भैरहेको छ भने सडकमा खाल्डाखुल्डी पुर्ने काम पनि गर्न कठिन भएको छ । भएका स्काभेटर त्यही पहिरो हटाउन प्रयोग हुँदा अन्य काम पनि प्रभावित हुँदै आएको भुसाल बताउँछन् । पहिरो हटाउनका लागि प्रयोग हुने इन्धन र खर्च कम्पनीको थप खर्च हो जुन उसले लोकमार्ग आयोजना कार्यालयबाट समेत पाउँदैन ।
मुख्य राजमार्गबाट जथाभावी रुपमा शाखा सडकहरु निर्माण हुँदा जताततै राजमार्ग ध्वस्त बनाउने काम भएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख आषिश थापा मगर बताउँछन् । ‘शाखा सडक खन्दा मुख्य राजमार्गमा असर नपर्ने गरी खन्नुपर्ने हुन्छ ।’ उनले भने ‘बर्सेनि शाखा सडकबाट आउने पहिरो र लेदोका कारण राजमार्गमा पहिरो र मर्मत गर्न समस्या हुने गरेको छ ।’
सहस्रधारामा पनि शाखा सडकबाटै पहिरो आएका कारण समस्या भएको उनको भनाई छ । यस पटक बर्षा याम सकिएपछि पहिरो रोकमाथामका लागि आवश्यक प्रकृया थालिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्