बाढी र पहिरोका कारण निर्माणाधीन बेलीब्रिजमा क्षति

लमजुङको मस्र्याङदी गाउँपालिका–४, ताघ्रिङअन्तर्गत घोप्टे खोलामा निर्माणाधिन बेलीब्रिजमा अविरल वर्षासँगै आएको बाढी र पहिरोले असर पारेको छ । सडक डिभिजन कार्यालयअन्तर्गत डुम्रे–बेंसीसहर–चामे सडक इकाइले बेलीब्रिज राखेर यातायात सहज बनाउने तयारी अन्तिम चरणमा पुगेपनि लगातार तिन दिनसम्म परेको वर्षासँगै खोलामा आएको बाढी र पहिरोले निर्माणाधीन बेलीब्रिजमा असर पारेको हो ।
खोलामा आएको बाढीले बेलीब्रिजको केही सामग्री बगाइदिएको सडक डिभिजन कार्यालयका ओभरसियर हरिकुमार श्रेष्ठले बताए । श्रेष्ठका अनुसार खोलाको किनारामा राखिएका अन्य सामाग्री पनि माथिबाट आएको पहिरोले पुरिएको छ । पुरिएको सामग्री निकाल्ने काम भइरहेको ओभरसियर श्रेष्ठको भनाइ छ ।
एक महिनाअघि खहरे खोलाले निकै गहिराईमा सडक बगाएपछि सवारी साधन ठप्प भएको सो खोलामा निरन्तर वर्षा र पहिरोले काम गर्न कठिनाई हुँदा बेलीब्रिज राख्ने काममा पनि ढिलाइ भएको सडक डिभिजनले जनाएको छ । बर्षा कम भएसँगै दुईतर्फी पिल्लर पनि तयार भइसकेकाले एकसाता भित्र बेलीब्रिज तयार हुने सडक डिभिजन कार्यालयको दाबी थियो । तर, केही सामान पुरिएको र केही समान बगाएकाले निर्माण सम्पन्न हुन केही दिन ढिलाइ हुने भएको छ ।
उक्त सडकमा बेलीब्रिज राख्नको लागि कराभान कन्सट्रक्सन प्रालिले जिम्मा लिएको छ । बेलीब्रिज राख्नको लागि आवश्यक सामाग्री सहित केही दिन अघिमात्रै श्रमिक आइपुगेको र तीव्र गतिका साथ काम भइरहेको थियो । आवश्यक संरचना तयार भईसकेको र बेलीब्रिज जडानको मात्रै काम बाँकी रहेको पनि पछिल्लो तिनदिनको वर्षाले काम प्रभावित भएको निर्माण कम्पनीले जनाएको छ ।
विगत एक महिना अघिदेखि घोप्टे खोलाले सडक बगाउँदा लमजुङ मनाङ सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा बेसीशहर देखि मनाङ पुग्ने सवारीहरू घोप्टे खोलाबाट फर्कने गरेका छन् भने घोप्टे खोलाबाट मनाङसम्म माथिल्लो भेगमा रहेका सवारी साधनले यातायात तथा ढुवानी सेवा दिएका छन् । सडक बगाएपछि पैदल यात्रीका लागि बाँसको भ¥याङ राखिएको छ । सोहि भ¥याङको प्रयोग गरेर पैदलयात्री तथा सामान ओसार्ने गरिएको छ ।
यसअघि दुईपांग्रे सवारी साधन गुड्न मिल्नेगरी फलामको पुल राखिए पनि सो पुलपनि खोलाले बगाएको थियो । सडकको दीर्घकालीन टिकाउ हुनेगरी स्तरोन्नती गर्न सम्बन्धित निकायले चासो नदेखाएको सर्वसाधरणको गुनासो बढेसँगै सडक डिभिजन कार्यालयले बेलीब्रिज राख्ने तयारी गरेको हो ।
लमजुङ सदरमुकाम बेंसीसहरदेखि मनाङसम्म पुग्ने मुख्य सडक निर्माण सुरु भएको दुई दशक बितिसकेको छ । हिउँदमा समेत जीर्ण सडकमा यात्रा गर्दा दुःख पाएका सर्वसाधरणले वर्षा लागेपछि झनै सास्ती पाउने गरेका छन् ।
भौगोलिक विकटता र बिगँ्रदो सडकका कारण सो सडकमा सबारी दुर्घटनाको जोखिम उच्च हुँदै गएको छ । वषौँदेखि बिजोगसँग बिग्रिएको सडकले दुइपाँग्रे तथा ठूला सवारीहरूलाई निकै समस्या भएको छ । अझै बेंसीसहरदेखि उत्तरतर्फका व्यवसायीहरू भने सामान ढुवानीमा झनै समस्या भएको बताउँछन् ।