४७ करोडको लगानीमा अत्याधुनिक फनपार्क निर्माण «

४७ करोडको लगानीमा अत्याधुनिक फनपार्क निर्माण

पर्यटक आकर्षित गर्न बाँकेमा करोडौं लगानी गरिँदै
बाँकेको पर्यटन व्यवसायमा टेवा पु-याउनका लागि करोडौं लगानीमा नयाँ–नयाँ किसिमका फनपार्क, वाटरपार्क, बोटिङ विहार र चिडिया घरको निर्माण कार्य थालिएको छ ।
समग्र पश्चिम नेपालकै सबैभन्दा स्तरीय सहरको रूपमा परिचित नेपालगन्जमा बढीभन्दा बढी स्वदेशी र सीमापारीका केही जिल्लाका भारतीय पर्यटकहरूलाई आकर्षित गर्न यहाँ ठूलो लगानी गर्न थालिएको छ ।
यसअघि नै करोडौको लगानीमा ठूला–ठूला तारे होटलहरू सञ्चालनमा आइसकेको नेपालगन्जमा मनोरञ्जनका लागि अहिले ठूला–ठूला फनपार्क, वाटरपार्क, बोटिङ विहार तथा चिडिया घर बनाउन लागिएको हो ।
नेपालगन्जस्थित ऐतिहासिक रानी तलाउको पुननिर्माण गरेर बोटिङ विहारमा परिणत गरिएको छ भने मिनी चिडिया घरलाई पनि स्तरोन्नती गर्ने कार्य सुरु गरिएको छ ।
सोही क्रममा पछिल्लो समय ४७ करोड लागतमा पहिलो पटक नेपालगन्जमा अत्याधुनिक ‘फनपार्क’ निर्माणको काम सुरु गरिएको छ ।
संघीय संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत व्यवस्थापन समितिकी सभापति पूर्णाकुमारी सुवेदीले एक समारोहबीच ‘नेपालगन्ज थ्रिलर जोन’ नामक फनपार्कको शिलान्यास गरेपछि सो को निर्माण सुरु गरिएको हो ।
मानसरोवर अमुजमेन्टपार्क एन्ड रिसोर्ट प्रालिले नेपालगन्ज उपमहानगरपालिका–१४ भवानीयापुर, बालेगाउँमा निर्माण सुरु गरेको ‘नेपालगन्ज थ्रिलर जोन’मा रिसोर्ट, वाटरपार्क, फनपार्क, इन्डोर गेम्स, सभा हल, रेष्टुरेन्ट, पिंङलगायत मनोरञ्जनस्थल निर्माण गरिने कम्पनीका प्रबन्ध सञ्चालक डा.ओमप्रकाश मिश्रले जानकारी दिए ।
उनले भने, “पहिलो चरणमा ४७ करोड रुपैयाँको लागतमा निर्माण कार्य हुनेछ । आन्तरिक र वाह्य पर्यटकको माग र चाहाना अनुरुप आगामी दुई वर्षभित्र यसको लागत २ अर्बको पु-याइने लक्ष्य छ ।”
मिश्रका अनुसार बाँके जिल्लामा फनपार्क नै छैन । यो पार्कले नेपालगन्ज आउने आन्तरिक र भारतीय सीमापारीका पर्यटकलाई उपयुक्त मनोरञ्जनस्थल हुने मिश्रले बताए ।
खास गरी भारतबाट मानसरोवर जान नेपालगन्ज हुँदै आउने पर्यटक र सीमावर्ती भारतीय क्षेत्रका बासिन्दालाई लक्षित गरी सञ्चालन गर्न लागिएको सो फनपार्क नेपाल–भारत सीमाको मुस्किलले दुई किलोमिटरको दूरीमा पर्छ ।
सो फनपार्क निर्माणका लागि गरिएको कम्पनीमा रामकरण मिश्र अध्यक्ष छन् भने विमला मिश्र, सन्तोषकुमार सिंह र डा.ओमप्रकाश मिश्र सञ्चालक छन् ।
डा.ओमप्रकाश प्रबन्ध सञ्चालक पनि हुन् । सुरुमा ८ विगाहा क्षेत्रफलमा निर्माण गरिने फनपार्कमा कम्पनीले दुई वर्षभित्र सुविधासम्पन्न रिसोर्ट निर्माण गर्ने जनाएको छ ।
सो अवसरमा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैैश्यले पछिल्लो समयमा आएर पर्यटक आकर्षित गर्ने थुप्रै स्थलहरूको निर्माण सुरु भएकाले नेपालगन्जमा धेरै पर्यटक भित्रिने बताए ।

प्रतिक्रिया दिनुहोस्