गैरआवासीय नेपाली संघ एसिया प्यासिफिकको आठौं क्षेत्रीय भेला सुरु «

गैरआवासीय नेपाली संघ एसिया प्यासिफिकको आठौं क्षेत्रीय भेला सुरु

गैरआवासीय नेपाली संघ एसिया प्यासिफिकको आठौं क्षेत्रीय भेला तथा पहिलो विज्ञ सम्मेलनको औपचारिक उद्घाटन भएको छ । नेपाल सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अनलाइन माध्यमबाट संघको भेलाको सम्बोधन गर्दै औपचारिक उद्घाटन गरे ।
सो अवसरमा मन्त्री ज्ञवालीले नेपालको विकासमा गैरआवसीय नेपालीको योगदान अतुलनीय रहेको बताउँदै विदेशमा नेपालीले सिकेको ज्ञान, सीप र प्रविधि नेपालमा हस्तान्तरण गर्ने सुनौलो अवसर आएको बताए । कोभिड–१९ पछिको नेपालको अर्थतन्त्रलाई उकास्न नयाँ प्रविधिको माध्यमबाट मुलुकको समृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताउँदै मन्त्री ज्ञवालीले गैरआवासीय नेपालीले सिकेको ज्ञान, सीप हस्तान्तरणको खााचो औल्याए ।
मन्त्री ज्ञवालीले कोभिड–१९ को कारण विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फीर्ता गर्ने कार्य तीब्र गतिमा भइरहेको जानकारी गराउादै वर्तमान असहज परिस्थितिलाई अरू बेला जस्तै सहज रुपमा नलिन पनि आग्रह गरे । विदेशबाट फर्काउने क्रममा केही कठिनाई भएको स्वीकार्दै मन्त्री ज्ञवालीले हाल असहज परिस्थिति भएकाले पनि सोचे जस्तो नहुन सक्छ भन्ने कुरा बुझिदिन आग्रह गरे ।
मन्त्री ज्ञवालीले तेस्रो मुलुकबाट झन्डै ३ लाख नेपाली स्वदेश फर्कन लागेको र अहिलेसम्म ७६ हजार बढी नेपालीलाई उद्धार गरिएको बताए । भारतबाट मात्र ५ लाख नेपाली स्वदेश फर्किएको र तेस्रो मुलुकसहित गरी करिब १० लाख वैदेशिक रोजगारीमा रहेका नेपाली स्वदेश फर्कन लागेकाले तत्काल १० लाख नेपालीलाई रोजगारी सिर्जना गर्नु अर्को चुनौती रहेको पनि बताए ।
कार्यक्रममा गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष तथा संरक्षक देवमान हिराचनले नेपालमा विदेशी तथा गैरआवासीय नेपालीहरू लगानी गर्न इच्छुक रहे पनि नेपालमा त्यो अवस्था नरहेको भन्दै सरकारलाई लगानी गर्ने वातावरण बनाइदिन आग्रह गरे । पूर्वअध्यक्ष हिराचनले एनआरएनएको १७ वर्षे इतिहासलाई समीक्षा गर्नुपर्ने खाँचो औल्याउँदै कुनै कार्यक्रम गर्न अब काठमाडौंमा करोडौ खर्च गरेर आउनुपर्ने अवस्थाको अन्त्य भएको पनि बताए ।
गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक तथा पूर्वअध्यक्ष शेष घलेले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्हरूले कोभिड– १९ को बेलामा एक कदम अगाडि बढेर सेवा गरिरहेको बताए । प्रमुख संरक्षक घलेले एसिया प्रशान्त क्षेत्रबाट नेपालमा जुनसुकै बेला पनि सहयोग हुने गरेकोमा धन्यवाद दिए ।
अस्ट्रेलियाको भिक्टोरिया राज्य समन्वय परिषद्लाई यहाँको स्थानीय सरकारले १ लाख ५० हजार डलर आर्थिक सहयोग गरेको उदाहरण दिनु हुँदै आफू बसेको देशमा विश्वास दिलाउन सकेको खण्डमा स्थानीय सरकारबाट पनि सहयोग मिल्नेतर्फ ध्यान दिन आग्रह गरे ।
कोभिड–१९ प्रभावीत नेपालीहरूका लागि आइएलोबाट संघलाई १० करोड सहयोग प्रदान भएको जानकारी गराउनुहुँदै अहिले संघको सम्पूर्ण ध्यान विदेशमा रहेका नेपालीमा केन्द्रित रहेको पनि बताए ।
त्यस्तै, अध्यक्ष पन्तले संघको विशेष महाधिवेशनको लागि परराष्ट्र मन्त्रालयमा निवेदन पेस गरेको जानकारी गराउनु हुँदै अनलाइन माध्यमबाट विशेष महाधिवेशन गर्ने अनुमति पाएपछि र विशेष महाधिवेशन सम्पन्न गरिने बताए । यसरी नै उनले नेपालको आर्थिक सम्मृद्धिमा थप योगदान गर्न गैरआवासीय नेपालीहरू लागिपरेको बताए ।
कार्यक्रममा म्यानमारका लागि नेपाली राजदूत भीम उदास, नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डा. डिला संग्रौलालगायतले विदेशमा नेपालीले सिकेको ज्ञान, सीप र प्रविधिको हस्तान्तरण गर्दै मुलुकको सम्मृद्धिमा लगाउनुपर्नेमा जोड दिनुका साथै कोभिडका कारण अझ अलपत्र परिरहेकाहरूलाई नेपाल फर्काउन नेपाल सरकारसँग आग्रह गरिन् ।

घरफिर्ती, पुनःएकीकरण र रोजगारलाई सहज बनाउन जोड

गैर आवासीय नेपाली संघ एसिया प्यासिफिकको आठौं क्षेत्रीय भेला तथा पहिलो विज्ञ सम्मेलनको मूख्य शत्रका रुपमा ‘आप्रवासी नेपाली कामदार स्वदेश फिर्ता, पुन एकिकरण र रोजगार’ का विषयमा सरकारी पक्ष, सम्बन्धित विषयका विज्ञ र गैरआवासीय नेपालीहरूबीच छलफल भएको छ ।
आप्रवासी कामदारको घर फिर्ती, पुनएकीकरण र रोजगार सहज हुनुपर्ने सरोकारवालाको जोड छ । कोभिड–१९ का कारणका नेपाली कामदारको रोजगार गुमेको हुँदा स्वदेशमा नै रोजगार सृजना गर्न एनआरएन र नेपाल सरकारबीच सहकार्य हुनुपर्ने बताइएको छ ।
कार्यक्रममा वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले विदेशमा रहेका नेपालीहरूको उद्धार तथा पुनएकीकरणका लागि सरकारले काम गरिरहेको बताए । उनले विदेशमा समस्यामा परेका नेपालीलाई निःशुल्क उद्धारका लागि पैसा पठाइसकिएको तर सरकारले मात्र स्वदेश फर्कन चाहने सबैलाई ल्याउन नसकिने बताए ।

प्रतिक्रिया दिनुहोस्