श्रेष्ठद्वारा प्रेस काउन्सिल कार्यवाहक अध्यक्ष पदबाट राजीनामा, नयाँ कार्यवाहकमा बुढाथोकी «

श्रेष्ठद्वारा प्रेस काउन्सिल कार्यवाहक अध्यक्ष पदबाट राजीनामा, नयाँ कार्यवाहकमा बुढाथोकी

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । श्रेष्ठले काउन्सिलको स्वायत्तताको रक्षा र निरन्तरताको निम्ति शुक्रबार प्रेस काउन्सिल बोर्ड बैठकसमक्ष राजीनामापत्र बुझाए ।
तीन वर्षअघि तत्कालीन अध्यक्ष भवानीप्रसाद बरालको नियुक्तिलाई विरुद्ध सर्वोच्च अदालतले रोक लगाएपछि रिक्त पदमा बोर्ड बैठकले श्रेष्ठलाई कार्यवाहक अध्यक्ष तोकेको थियो । २०६२-०६३ को आन्दोलनपश्चात् प्रेस काउन्सिलको सदस्यका रूपमा नियुक्त श्रेष्ठलाई सरकारले पटक–पटक नियुक्त गरेको थियो । कार्यवाहक अध्यक्ष पदबाट राजीनामा दिए पनि श्रेष्ठ काउन्सिल सदस्यको पदमा भने असोज १२ गतेसम्म रहने छन् । सदस्य र कार्यवाहक अध्यक्षका रूपमा भूमिका निर्वाह गरेको अवधि कठिनपूर्ण रहेको श्रेष्ठले राजीनामा पत्रमा उल्लेख गरेका छन्, ‘तीन वर्षदेखि पदीय हिसाबले कार्यकारी भूमिका निर्वाह गरेको अवधि तपाईं–हाम्रा निम्ति कठिन थियो’ राजीनामापत्रमा भनिएको छ, ‘प्रेस काउन्सिल मात्र होइन, समग्र पत्रकारिता जगत्को स्वतन्त्रताको जगेर्ना र हित प्रवद्र्धनमा सुरुदेखि नै सङ्घर्ष गर्दै आउनुपरेको क्षण अत्यन्तै रोमाञ्चक र चुनौतीपूर्ण रह्यो ।’
काउन्सिलको कार्यवाहक अध्यक्षमा बुढाथोकी
प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षमा गोपाल बुढाथोकी सर्वसम्मतिले चयन हुनुभएको छ । शुक्रबार कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पदबाट राजीनामा दिएपछि बोर्ड बैठकले प्रेस काउन्सिल ऐन २०४८, बैठक सञ्चालनसम्बन्धी, २०७१, सर्वोच्च अदालतको आदेश र विगतका नजीरसमेतको आधारमा बुढाथोकीलाई अध्यक्ष चयन गरेको हो । साँघु साप्ताहिकका सम्पादक बुढाथोकीलाई सरकारले २०७५ साल साउनमा सदस्यमा नियुक्त गरेको थियो । बुढाथोकीले शुक्रबारै पदभार ग्रहण गरे ।

प्रतिक्रिया दिनुहोस्