स्वच्छ ऊर्जा : पेट्रोलियम इन्धनको विकल्प «
Logo

स्वच्छ ऊर्जा : पेट्रोलियम इन्धनको विकल्प

स्वच्छ ऊर्जाका रूपमा सुपरिचित जलविद्युत्लाई आयातित पेट्रोलियम पदार्थको भरपर्दो विकल्पसमेत मानिन्छ । यसलाई किन्न बजार गैराख्नु पर्दैन, घर–घरमा उपलब्ध हुन्छ । जलविद्युत् ऊर्जाको प्रयोगबाट नत वातावरण प्रदूषण हुन्छ नत यो पेट्रोलियम इन्धन जस्तो महँगो नै हुन्छ । नेपालमा ८३००० मेगावाट जलविद्युत् उत्पादन गर्न सकिने प्रशस्त जलभण्डार पनि छ । साथै जलविद्युत् आयोजना यस्तो उद्योग हो जसमा प्रशस्त रोजगारीका अवसरहरू सिर्जना भएका हुन्छन् । त्यसैगरी नेपालका नदी किनारका बस्तीहरू जलविद्युत् आयोजनाहरूको योगदान स्वरुप नै माथि उठ्न सफल भएका छन् । तथापी नेपालमा विगत लामो समयदेखि ऊर्जा संकट विद्यमान छ । अनि उच्च लोडसेडिङ कायमै छ । वि.सं. १९६८ सालको प्रथम जलविद्युत् आयोजना ‘चन्द्रज्योति’ देखि हाल सम्मको लामो विद्युतीय यात्रामा करिब १०४४ मेगावाट मात्र उत्पादन गरिनु हाम्रो लज्जास्पद विडम्बना हो । पेट्रोलियम कालोबजारीकोे यो चरम घडीमा शीघ्र जलविद्युत् विकास जरुरी छ ।
औद्योगिक लोडसेडिङ तत्काल न्यूनीकरणका लागि नेपाल विद्युत् प्राधिकरणका मौजुदा जलविद्युत् केन्द्रहरू मर्मत सम्भार गरी पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्छ । त्यसैगरी निर्माणाधीन जलविद्युत् आयोजनाहरू माथिल्लो तामाकोसी (४५६ मेगावाट), माथिल्लो त्रिशूली ३ए (६० मेगावाट), राहुघाट (४० मेगावाट), माथिल्लो साञ्जेन (४२.२ मेगावाट), साञ्जेन (१४.६ मेगावाट), मध्यभोटेकोसी (१०२ मेगावाट), रसुवागढी (१११ मेगावाट ), कुलेखानी तेस्रो (१४ मेगावाट) लाई तदारुकताकासाथ निर्माण सम्पन्न गर्न जरुरी छ । त्यसैगरी हाल विद्यमान २२.९ प्रतिशत विद्युत् चुहावटलाई सर्वपक्षीय सहयोगबाट अझ न्यूनीकरण गर्न जरुरी छ । यस क्रियाकलापवाट औद्योगिक लोडसेडिङ न्यूनीकरणका साथै आयातित पेट्रोलियम इन्धन स्वतः विस्थापन हुने देखिन्छ ।
पेट्रोलियम इन्धनको अर्को विकल्प भनेको सौर्य ऊर्जा हो । सूर्यको प्रकाशलाई ऊर्जा शक्तिमा परिणत गरी नेपाल सरकारको ‘उज्यालो नेपालः समृद्ध नेपाल’कार्यक्रमलाई साथ दिनु प्रभावकारी हुन्छ । यो सस्तो, भरपर्दो र सर्वसुलभ मानिन्छ । यसबाट आफ्नै घरमा सोलार उपकरण राखेर विना परिश्रम विद्युत् निकाल्न सकिन्छ । त्यसैले यसलाई पेट्रोलियमको अर्को सस्तो, भरपर्दो र वैज्ञानिक विकल्प मानिएको हो । त्यसैगरी वायु ऊर्जालाई अर्को संभावित विकल्पको रूपमा अगाडि बढाउन सकिन्छ । यस विधिमा वायुको माध्यमद्वारा मेसिन चलाएर ऊर्जा निकाल्न सकिने भएकाले सस्तो र भरपर्दो मानिन्छ । नेपालमा वायुबाट विद्युत् निकाल्ने प्रयास मुस्ताङमा गरिएको छ । आगामी दिनहरूमा अन्यत्र पनि यसको विकास र विस्तार जरुरी छ । त्यसैगरी गोवरग्याँस प्लान्टलाई पेट्रोलियम इन्धनको अर्को सस्तो र भरपर्दो विकल्पको रुपमा प्रस्तुत गर्न सकिन्छ । गाउँघरमा खासगरी सहर भए पनि गोबर उपलव्ध हुने ठाउँमा गोवरलाई पानीमा घोलेर एकातिर तरल र अर्कोतिर ग्यास जम्मा गर्ने र उक्त ग्यासलाई बिजुलीको रूपमा उपयोग गर्ने विधि हो । यसलाई पनि आयातित पेट्रोलियम पदार्थको एउटा प्रमुख विकल्पको रूपमा प्रस्तुत गर्न सकिन्छ ।
वास्तवमा पेट्रोलियम इन्धनमा नेपाल सधैंभर परनिर्भर भइरहेको छ । बेलाबखत बन्द, हड्ताल र राजमार्ग अवरोधले यसको आपूर्ति व्यवस्थापनलाई प्रभाव पारेको छ । पेट्रोलियम निर्यातक (ओपेक) राष्ट्रहरूको माग र आन्दोलनको प्रभाव पनि यसै क्षेत्रमा पर्ने गरेको छ । महँगीको कुरा गर्ने हो भने पनि पेट्रोलको मूल्य आ.व. २०६२-६३ मा प्रति लिटर रु. ६७ रहेकोमा यो १३ वर्षमा क्रमश बढ्दै गएर हाल रु ११४ प्रति लिटर पुगेको छ । त्यसैगरी डिजेलको मुल्य आव २०६२-६३ मा प्रति लिटर रु.४६ रहेकोमा बढेर रु. १०१ पुगेको छ । त्यसैगरी मट्टितेलको मूल्य रु.३९ वाट बढेर रु. १०१ पुगेको छ भने एल.पि.ग्याँसको मूल्यप्रति सिलिन्डर रु. १४०० छ । यतिका महँगो इन्धन हामीले खरीद गरेर हाम्रो शोधनान्तर स्थिति कमजोर बनाएका हुन्छौं । यसैमा पटक–पटक मिसावट र कालोबजारी हुन्छ । निरिह सर्वसाधारण अज्ञानताको अभावमा ठगीका शिकार वन्न विवश भएका छन् । मूल्य बढाउनु परेमा मनपरी तवरले भारी वृद्धि गर्ने र घटाउनु पर्दा नगन्य मात्रामा घटाइनुले नेपाल पेट्रोलियमको प्रभावित शिकार बनेको पुष्टि हुन्छ । त्यसैगरी मूल्य घट्दा लुकाएर स्टक राख्ने र बढ्दा मात्र बेच्ने प्रवृत्तिले व्यापारीहरूको चलखेल पनि यसै क्षेत्रमा हुने गरेको छ ।
पेट्रोलियम पदार्थ वातावरण प्रदूषणको प्रमुख कारक पनि हो । यसले कार्बन मोनोअक्साइड ग्यासलाई उत्सर्जन गरेर स्वच्छ वातावरणलाई कालो र प्रदूषित मात्र वनाउदैन स्वस्थ मानिसलाई फोक्सो र श्वासप्रश्वासको रोगी समेत वनाउछ । मानिसको औसत आयुमा कमी, सडक वरपरको हरियाली विनाश, अम्लीय वर्षामा वृद्धि जस्ता महामारीको कारक पनि यही महंगो पेट्रोलियम ईन्धन नै हो । तसर्थ यसको भरपर्दो विकल्प तर्फको खोजमूलक यात्रा जरुरी छ ।
यसप्रकार अनावस्यक बाहिरी हस्तक्षेपविरुद्ध डटेर सामना गर्नु नेपाल र नेपालीको स्वाभिमानी कर्तव्य हो जुन हाम्रा विर पुरुषहरू अमरसिंह थापा र बलभद्र कुँवरलगायत पृथ्वीनारायण शाहका दिब्योपदेशले समेत सिकाएका छन् । त्यसैले अब ऊर्जामा पनि आत्म निर्भरता बढाएर महँगो पेट्रोलियम इन्धनलाई विस्थापन मात्र होइन वातावरणीय व्यवस्थापन र हरित सहर निर्माण गर्न पनि ज्यादा आवश्यक छ अनि मात्र सदियौं देखिको स्वाबलम्बी र स्वाभिमान नेपाल संभव छ ।
यसै परिप्रेक्ष्यमा मंगलबार नै साझा यातायातले ५ वटा विद्युतीय बस भित्र्याएको छ । चिनियाँ कम्पनी बिवाइडीले निर्माण गरेका बसको मंगलबार ललितपुर हरिहर भवनस्थित साझा यातायातको कार्यालय परिसरमा आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । यसरी विद्युतीय सवारी सञ्चालनमा ल्याउँदा नेपालमा पेट्रोलियम पदार्थको खपत घट्न गै नेपाल–भारत ब्यापार घाटा पनि उल्लेख्यरुपमा घट्न जाने निश्चित छ ।
साझाले यी बसहरू लुम्बिनी क्षेत्रमा गुडाउने बताए पनि नेपालका ठूला सहरमा विद्युतीय बस सञ्चालनमा ल्याउन सके नेपाल भारत ब्यापार घाटा कम हुने मात्र होइन स्वच्छ ऊर्जाको प्रयोगले वातावरणीय रूपमा पनि देशलाई फाइदा हुन्छ । लुम्बिनी विकास कोष र एसियाली विकास बैंक (एडीबी) बीच बस खरिदका लागि सम्झौता भएको हुनाले यी बसहरू भैरहवामा निर्माणाधीन गौतम बुद्ध विमानस्थल सञ्चालनमा आएपछि लुम्बिनीमा नै चल्नेछन् ।
यसरी विद्युतीय, वायु तथा सौर्य उर्जाको प्रयोगले पेट्रोल तथा डिजेल अनि खाना पकाउने ग्याँसजस्ता आयातीत ऊर्जाका स्रोतमा भर पर्नुपर्ने बाध्यता हट्दा आर्थिक रूपमा नेपाल स्वाबलम्बी बन्ने अवसर पनि सिर्जना हुन्छ । त्यसैले सोच बदलौं, स्वाभिमान तथा स्वाबलम्बि नेपाल सम्भव छ ।
(लेखक नेपाल विद्युत् प्राधिकरणमा प्रशासकीय अधिकृत छन् ।)

 

प्रतिक्रिया दिनुहोस्