कोइलाबास भन्सार सञ्चालन ल्याउन माग «

कोइलाबास भन्सार सञ्चालन ल्याउन माग

दाङ-जिल्लाको एक मात्र कोइलावास भन्सार सञ्चालनमा ल्याउन निजी क्षेत्रले तथा जिल्लावासीले माग गरेका छन् । यस भन्सार सञ्चालनमा आएमा दाङसहित साविक राप्ती अञ्चललाई नै सहजता हुने छ भने जिल्लाको आर्थिक विकासमा ठूलो भूमिका खेल्ने उनीहरुको भनाइ छ । कोइलावार भन्सार सञ्चालनमा आएपछि जिल्लामा सामान आयात निर्यातमा सहज हुने गढवा उद्योग वाणिज्य संघका अध्यक्ष रविलाल आचार्यले बताए । यो नाका हुँदै सामान ल्याउँदा छिटो तथा मूल्यमा समेत सस्तो हुने उनको भनाइ छ ।
अहिले यो भन्सार सञ्चालन नहुँदा जिल्लामा आयात तथा निर्यात कृष्णनगर भन्सार र रुपेडिया भन्सारबाट गर्नुपर्ने बाध्यता छ । कृष्णनगर भन्सार र रुपेडिया भन्सारबाट सामान आयत निर्यात गर्दा लामो दूरी भएकाले ढुवानी गर्दा रकम धेरै लाग्ने गरेको व्यवसायीहरु बताउँछन् । नेपालको पूरानोमध्येको भन्सार रहेकाले यसलाई सञ्चालन गर्नुपर्ने अध्यक्ष आचार्यले बताए । “यो पुरानो चलेको भन्सार हो दाङको भविष्यसँग जोडिएको छ” उनले भने । अहिले लमहीदेखि कोइलावाससम्म बाटोसमेत पक्की भइ सकेकाले भन्सार सञ्चालनमा ल्याउन समेत सहज हुने आचार्य बताउँछन् ।
केही भौतिक संरचना भएको र केही संरचना निर्माण गरी कर्मचारी थप गरेर यस भन्सारलाई सञ्चालनमा ल्याउन सकिने उनले बताए । भारतीय कस्टम पनि नजिकै ल्याउनु पहल गर्ने आवश्यक रहेको उनको भनाइ छ । अहिले भारतीय कस्टम वलरामपुर रहेको उनले बताए । यसका लागि संघीय सरकारले पहल गर्नु पर्ने उनी बताउँछन् । यो भन्सार सञ्चालन भए साविक राप्ती अञ्चल दाङ, रोल्पा, प्युठान, सल्यान र रुकुमका नागरिकलाई समेत सहजता हुने उनको भनाइ छ ।
कोइलावास पुगेका प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेलले भन्सार सञ्चालनमा ल्याउनका लागि पहल गर्ने बताए । भन्सार सञ्चालनमा ल्याउन लामो समयदेखि माग गरिएको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले बताए । लामो समयदेखि माग भएपनि हालसम्म सञ्चालनमा आउने नसकेको उनको भनाइ छ । “यो भन्सार दाङको भविष्य संग जोडिएको छ” अध्यक्ष भुसालले भने । भन्सार सञ्चालनमा आएपछि दाङ जिल्लालाई मात्र नभइ पहाडी जिल्लाका लागि समेत सहजता हुने उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्