मासु र दूधमा मकवानपुर आत्मनिर्भर

हेटौंडा-पछिल्ला वर्षहरुमा मकवानपुरमा मासु र दूध उत्पादन वृद्धि हुँदै गएको छ । मासु र दूधमा मकवानपुर दुई वर्षदेखि आत्मनिर्भर बनेको तथ्यांकले देखाएको छ ।
व्यावसायिक गाई, भैंसी, बाख्रा र कुखुरापालन बढ्दै जाँदा जिल्लामा अहिले मासु र दूधको प्रतिव्यक्ति उपलब्धता पनि आवश्यकताभन्दा नै बढी रहेको पाइएको हो । भेटेरीनरी मकवानपुरमा हाल प्रतिव्यक्ति दूधको आवश्यकता वार्षिक ९१ लिटर रहेकोमा १३७.३३ लिटर उपलब्धता रहेको छ । प्रतिव्यक्ति वार्षिक १४ किलो मासु आवश्यक रहनेमा मकवानपुरको जनसंख्याअनुसार प्रतिव्यक्ति वार्षिक १७.१२ किलो मासु उपलब्धता रहेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौंडाले जनाएको छ ।
केन्द्रका प्रमुख सुशील केसीका अनुसार मकवानपुरमा गाई र भैंसीको दूध उत्पादन वर्षेनी बढ्दो छ, त्यस्तै कुखुरा, राँगा, खसी, हाँसलगायतको मासु पनि उत्पादन तथा खपत पनि बढ्दो छ । विज्ञ केन्द्रको तथ्यांकअनुसार मकवानपुरमा गत आर्थिक वर्ष २०७६÷०७७ मा मात्रै ५ करोड ७५ लाख ३७ हजार लिटर दूध उत्पादन भएको थियो । त्यस्तै ३ हजार ४७ मेट्रिक टन राँगा÷भैंसीको मासु उत्पादन हुँदा २ हजार २ हजार ६ सय ७८ मेट्रिकटन कुखुरा तथा हाँसको मासु उत्पादन भएको तथ्यांकमा उल्लेख छ । एक वर्षमा जिल्लामा १ हजार ३ सय ८५ मेट्रिक टन खसीबोकाको मासु उत्पादन हुँदा १ सय ८४ मेट्रिक टन सुंगुर÷बंगुरको मासु उत्पादन भएको थियो ।
जिल्लामा दूध दिने गाई र भैंसीको संख्या स्थानीय, वर्णशंकर र उन्नत जातको गरी १ लाख २१ हजार ४७ वटा संख्यामा छन् । त्यस्तै ९३ हजार १ सय ७९ वटा भैंसीको संख्या रहेकोमा बाख्राको संख्या २ लाख ८९ हजार ४ सय ७१ वटा रहेको कार्यालय प्रमुख केसीले जानकारी दिए । स्थानीय, लेयर्स र उन्नतका गरी मकवानपुरमा ८ लाख ६४ हजार संख्यामा कुखुरा रहेका थिए ।
दूध र मासुमा आत्मनिर्भर बनेको मकवानपुर अण्डा र माछामा भने निकै कमजोर रहेको छ । तथ्यांकअनुसार मकवानपुरमा गत वर्ष २ सय ८ मेट्रिकटन मात्र माछा उत्पादन थियो । प्रतिव्यक्ति वार्षिक करिब ५ केजी माछा आवश्यक रहेकोमा मकवानपुरको जनसंख्याअनुसार प्रतिव्यक्ति ०.४९ केजी मात्रै माछा उपलब्धता रहेको जनाइएको छ । त्यस्तै मकवानपुरमा गत वर्ष एक करोड ७ लाख २५ हजार वटा अण्डा उत्पादन भएको थियो । यो उत्पादन मकवानपुरको जनसंख्याको आधारमा आवश्यकताभन्दा निकै कम उपलब्धता हो । वार्षिक प्रतिव्यक्ति ४८ वटा अण्डा आवश्यक रहनेमा जिल्लामा वार्षिक प्रतिव्यक्ति २५ वटा मात्रै उपलब्ध रहेको कार्यालय प्रमुख केसीले बताए ।
माछापालनलाई जमिन प्रयाप्त उपलब्धता नहुनु र व्यावसायिक किसानको संख्यामा पनि वृद्धि नहुनुले माछाको उत्पादन पनि निराशाजनक रहेको उनले बताए । लेयर्स कुखुरा पाल्नेको संख्या कम भएकाले अण्डाको उत्पादन पनि पर्याप्त हुन नसकेको केन्द्रको ठम्याई छ । माछामासु व्यवसायी संघको तथ्यांकलाई उदृत गर्दै विज्ञ केन्द्रले जनाएअनुसार मकवानपुरमा मासुको उत्पादनसँगै खपत पनि उत्तिकै मात्रामा छ । जिल्लामा दैनिक ६० वटा राँगा÷भैंसीको मासु खपत हुन्छ भने एक सय ३० वटा खसी÷बोकाको मासु खरिद बिक्री हुन्छ । त्यस्तै दैनिक १५ हजार वटा ब्रोइलर कुखुरा खपत हुँदा ३४ वटा बंगुरको मासु बिक्री हुने गर्दछ । त्यस्तै दैनिक ३ क्वीन्टलको हाराहारीमा माछा खपत हुने गर्दछ ।