चाडपर्वको मुखमा रोजगारीका लागि भारत जाँदै नेपाली «

चाडपर्वको मुखमा रोजगारीका लागि भारत जाँदै नेपाली

फर्किने भन्दा भारत जानेको संख्या दोब्बर (सानो)
धनगढी-
नोवेल कोरोना भाइरसको त्रासका कारण भारतबाट नेपाल फर्किने नेपालीको संख्या भन्दा रोजगारी खोज्दै भारत जाने नेपालीहरुको दोब्बर भएको छ ।
पछिल्ला दिनहरुमा कोरोना भाइरसको बेवास्ता गर्दै रोजगारी गर्न दैनिक एक हजार भन्दा बढि नेपालीहरु भारत जान थालेका छन् भने भारतबाट दैनिक फर्किनेको संख्या पाँच सय भन्दा कम भएको छ ।
बिहीबार एक हजार १०६ जना नेपाली भारत नेपालबाट रोजगारीका लागि भारत जाँदा चार सय आठ जना नेपाली मात्रै भारतबाट नेपाल फर्किएका छन् । असोज ७ गते एक हजार ४०४ जना नेपाली धनगढीको त्रिनगर भन्सार नाका र भीमदत्तनगरको गड्डा चौकी नाकाबाट रोजगारीका लागि भारत गएका छन् । त्यस दिन भारतबाट चार सय १७ जना मात्रै नेपाली फर्किएका छन् ।
यसैगरी, असोज ६ गते एक हजार ७२९ जना नेपाली भारत भएका छन् भने तीन सय १२ जना मात्रै फर्किएका छन् । असोज ५ गते एक हजार २१९ जना नेपाली भारत जाँदा चार सय १७ जना मात्रै फर्किएका छन् । असोज ४ र ३ गते क्रमशः एक हजार ११६ र एक हजार ९६ जना रोजगारीका लागि भारत जाँदा तीन सय ८१ र चार सय ८२ जना नेपाली घर फर्किएका छन् ।
विगतका वर्षहरुमा दसैं नजिकिँदा भारतबाट चाड मनाउन र धानबाली भित्र्याउन भारतबाट घर फर्किनेहरुको लर्को लागेको हुन्थ्यो । तर यस वर्ष यसको उल्टो दृष्य देखिएको छ । दसैं तिहार नजिकिएपनि दैनिक एक हजार भन्दा बढी नेपाली रोजगारी खोज्न भारत जान थालेका छन् । असोज महिना लागेसँगै स्वदेश आउने नेपालीको संख्या भन्दा भारत जाने नेपालीको संख्या बढेको छ ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण रोजगारी गुमाएर फकिएका नेपालीहरु स्वदेशमै रोजगारीको विकल्प नपाएपछि पुनः भारत जान थालेको बताएका छन् । स्वदेशमा रोजगारी नपाएको र कमाएर ल्याएको रकम पनि उहिले नै सकिएपछि बाध्य भएर पुनः भारत जान परेको अछामको मेल्लेख गाउँपालिका–१ का दिपक विकले बताए ।
पछिल्लो २० दिनमा दुई हजार ६६४ जना महिला, ११ हजार ७३३ जना पुरुष र दुई हजार ३६३ जना बालबालिका गरी १६ हजार ५१४ जना नेपाली रोजगारीका लागि भारत गएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । सोही अवधिमा दुई हजार ८१३ जना महिला, छ हजार ४४९ जना पुरुष र एक हजार ६१६ जना बालबालिका गरी १० हजार ८७० जना नेपाली स्वदेश फर्किएका छन् ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले नेपाली नागरिकता देखाउनेलाई नेपाल भित्रिन र भारतीय आधार कार्ड देखाउने नेपालीलाई भारत जान दिइरहेको बताए । उनले भारतीय आधार कार्ड भएका नेपालीले लामो समय भारत बसेको र उनीहरुको परिवार नै भारतमा रहेको हुनाले जान दिन प्रशासन बाध्य रहेको बताए ।
“रोजगारी गर्न पाउने र रोजगारीका लागि विभिन्न देशमा जान पाउने नागरिकहरुको नैसर्गिक अधिकार भएकाले प्रशासनले यसमा केही गर्न सक्दैन,” प्रमुख जिल्ला अधिकारी महतोले भने, “नेपालीहरुलाई कोरोना कहरको बेला भारत जानबाट रोक्ने प्रमुख दायित्व स्थानीय सरकारहरुको हो । उनीहरुले स्थानीयस्तरमा रोजगारी सृजना गरेर नेपालीलाई संक्रमणको बेला भारत जानबाट जोगाउन सक्छन् ।”
स्थानीय र प्रदेश सरकारहरुले चालु आर्थिक वर्षको बजेटमा कोरोना प्रभावितहरुका लागि रोजगार सिर्जना गर्न कार्यक्रम र बजेट व्यवस्था गरेका छन् । तर ति कार्यक्रमहरु कार्यान्वयन हुन नपाउँदै नेपालीहरु रोजगारी खोज्दै भारत छिर्न थालेपछि कार्यक्रम र बजेटको प्रभावकारितामाथि प्रश्न उठेको छ ।
डोटीको गोरायल गाउँपालिकाका अध्यक्ष तथा गाउँपालिका महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष दुर्गादत्त जोशीले प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कारोना प्रभावितहरुको लागि कृषि व्यवसायका लागि निकालेको सूचनाको फाराम भर्न र कृषि व्यवसायमा लाग्न नागरिकलाई आग्रह गरिरहेको बताए । उनले तत्काल कृषिबाहेकका पेशामा रोजगारीको सम्भावना कम रहेको बताए ।
नेपाल भारत आवतजावतका लागि सुदूरपश्चिमको नाका प्रयोग गर्नेहरुमा सुदूरपश्चिमका सबै नौ जिल्लालगायत कर्णाली प्रदेशको सुर्खेत, जुम्ला, दैलेख जिल्लाका नागरिक पनि छन् । भारत जानेहरु र भारतबाट स्वदेश फर्किनेमध्ये अधिकांशले धनगढीको त्रिनगर नाका प्रयोग गर्ने गरेका छन् ।
यो बेला भारतको सिम्ला, कास्मिर लगायतका ठाउँमा स्याउ टिप्ने, समुद्री तटमा माछा मार्नेलगायका काम पाइने भएकाले नेपालीहरु सिम्ला, कास्मिर, महाराष्ट्र, पुना तिर जान थालेको छन् ।

प्रतिक्रिया दिनुहोस्