जघन्य अपराधहरूको ढाकछोप किन गरिन्छ ? «

जघन्य अपराधहरूको ढाकछोप किन गरिन्छ ?

विगत केही वर्षअघिदेखि आजसम्मका घटनाहरूबाट हामी सजिलै अनुमान लगाउन सक्छौं, जघन्य अपराधहरू पैसाको मिलेमतोमा कति जनाले प्रहरीसमक्ष कुरा पु-याउन आनाकानी गर्ने त कतिले मार्नेसम्मको धम्की दिँदै घरेलु हिंसादेखि जघन्य अपराधरहरूसम्म गर्ने हिम्मत गरिरहेका छन् । मानिसहरू आफन्त, छरछिमेकी तथा नजिकका नातेदारहरूबाट नै जघन्य अपराधहरूको सिकार बनिरहेका छन् । आखिर किन गरिन्छ त यस्ता घटनारूलाई लुकाउने र ढाकछोप गर्ने प्रयास ?
धेरै अगाडिको कुरा होइन, अघिल्लो महिनाको १० गते महोत्तरी जिल्लाकी एक अशक्त महिला सामूहिक बलात्कारको सिकार बन्न पुगिन् । ती महिला शारिरीक रूपमा अशक्त थिइन् । त्यस घटनामा राजनीतिक र आर्थिक चलखेल भएको प्रस्ट थाहा हुन्छ, किनकि पीडितका घरपरिवार र आफन्तले किटानी जाहेरी प्रहरीलाई गराउँदासमेत पनि प्रहरीले ती अपराधीहरूलाई हालसम्म पनि कानुनी दायरामा उभ्याउन सकेको छैन । पैसाको र लोभ र शक्तिको आडमा यस्ता घटनाहरूले कहिलेसम्म पिरोलिरहने हो सरकार ? ती महिलाले कहिले न्याय पाउने हो ? थाहापत्तो छैन ।
उक्त घटनामा ६ लाख रूपैयाँको बार्गेनिङ भएको थियो । जब ६ लाख रुपैयाको साँठगाँठ मिलाउन त्यस क्षेत्रका वडा अध्यक्ष नै सक्रिय रहेबाट पनि थाहा लगाउन सकिन्छ कि हामी जनताले कस्तो जनप्रतिनिधि छान्यौं ? हाम्रो हकहित र शान्तिसुरक्षाका लागि ती जनप्रतिनिधिहरूले पैसाको पछि दौडँदा आफूले जनतालाई आश्वासन दिएर पाएको जनमत दुरुपयोग गरिरहेका छन् । त्यसैले समाजका फोहोरी नेताहरूलाई हामी जनताले नजिकबाट चिन्नैपर्ने बेला आएको छ ।
अर्काे कुरा गरौं कि विगत एक महिनाअगाडि काठमाडौं, सीतापाइलामा एक किशोरीमाथि योजनाबद्ध रूपमा एसिड आक्रमण भयो । एसिड आक्रमणमा परी ती महिलाले आफ्नो स्वरूप मात्र बिगार्नु परेन कि चरम पीडामा आफ्नो दैनिकी व्यतीत गरिरहेकी छन् । कतिपय यस्ता घटनाहरूमा नियमन र अनुसन्धान गर्ने निकायले नै पैसा र शक्तिको आडमा घटना लुकाउने र पीडितलाई झन् पीडा दिने गरिएको पाइन्छ । एसिड आक्रमणकारीले किशोरीलाई देखाएको हर्कतबाट पनि थाहा हुन्छ, जघन्य अपराधमा संलग्न मानिसहरूमा महिलाहरूको तुलनामा पुरुषहरूले बढी अपराध गर्ने गरेको पाइन्छ । यद्यपि महिलाहरू पनि यस्ता आपराधिक कार्यमा संलग्न भने भइरहेका छन् ।
शिक्षा र चेतनाको अभावले समाजमा बलात्कार, एसिड आक्रमण र सामाजिक सञ्जालबाट धम्क्याउने, गाली बेइज्जतिका घटनाहरू दिनप्रतिदिन मौलाउँदै गएकोबाट हाम्रो देशको रक्षा तथा गृह मन्त्रालयले यस्ता खालका जघन्य आपराधिक घटनाहरूलाई राजनीतीकरण नगरी पीडित जनता र अन्य आमजनतालाई स्वतन्त्र न्याय दिनुहुन हार्दिक अनुरोध गर्छाै । माथि उल्लेख गरिएका घटनाहरू त केही प्रतिनिधि घटना मात्र हुन् । यस्ता घटनाहरूले सभ्य समाजको निर्माणभन्दा पनि दिन–प्रतिदिन असभ्यता र उच्छृंखलता बढाइरहेकाले सम्बन्धित निकायहरूले यस्ता घटनाहरूको रोकथाम गर्ने, जो पीडित हो उसलाई न्याय दिने र अपराधीलाई कानुनी कठघरामा उभ्याउने तथा यस्ता जघन्य अपराध गर्ने जोकोहीलाई कडाभन्दा कडा कानुनी कारबाही गर्ने वातावरण बनाई आमनागरिकलाई शान्ति–सुरक्षा कायम गराइदिनहुन सम्बन्धित निकायहरूलाई हार्दिक अनुरोध गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्