भारित औसत लागत गणना र जोखिम «

भारित औसत लागत गणना र जोखिम

नियमसंगत घोषित भारित औसत लागतको असीमिति जोखिमबाट मुक्ति र मानवीय त्रुटि सच्याउन दिनुपर्छ ।

धितोपत्र (सेयर, डिबेन्चर, म्युचुअल फन्ड) को लागत, लाभ र लाभकर समस्या समाधानको विकल्पमा प्रचलनमा ल्याइएको भारित औसत लागत गणना विधिमा लागत गणना र घोषणाको अधिकार, जिम्मेवारी र दायित्व लगानीकर्तालाई नै सुम्पिएको छ । सीडीएस एन्ड क्लियरिङ कम्पनी (सिडिएससी) ले विकास गरेको उत्कृष्ट स्वचालित गणना विधिमा विभिन्न विधिबाट प्राप्त सेयरको औसत लागत गणना सिस्टम (प्रणाली) बाट नगरी सम्पूर्ण दायित्व लगानीकर्तालाई सुम्पिएर सरकार र सीडीएससी सर्लक्क पन्छिएको छ । लगानीकर्ताले जसोतसो हिसाब गरेर स्वघोषणा गरिएको लागतको सम्भावित गल्तीबाट सिर्जना हुने करको दीर्घकालीन जोखिम लिन बाध्य बनाइएको छ ।
सामान्यतः लगानीकर्ताले हिसाब नराख्ने, सहजै औसत लागत गणना गर्न नसक्ने र अन्योलपूर्ण हुने जानकारी हुँदाहुँदै पनि सीडीएससीले अर्धस्वचालित कारोबार प्रणालीमा भएका तथ्यांक (२०७२ पुस मसान्तसम्म) र पूर्ण अभौतिक कारोबार (२०७२ माघ १ गतेदेखि) सुरु भएपछिका तथ्यांकलाई नयाँ स्वचालित प्रणालीमा समाहित नगरी २०७६ साउन १ बाट कार्यान्वयनमा ल्याउँदा समस्यैसमस्या देखिएको छ । कामचलाउ ‘वाक’ प्रणाली लगानीकर्ताका लागि ‘नखाऊँ भने दिनभरिको सिकार, खाऊँ भने कान्छा बाउको अनुहार’ जस्तो भएको छ ।
स्वचालित भनिएको प्रणालीमा क) कारोबारको तथ्यांक उपलब्ध भएको हकमा कारोबारको वास्तविक लागत र लागत नखुलेको वा अप्रमाणित अवस्थामा अंकित मूल्य नै लागत, ख) बोनस सेयर र हकप्रदको हकमा अंकित मूल्य नै लागत, ग) लिलामी, पारिवारिक हस्तान्तरण, एफपीओ, मर्जर, खरिद सेयरको हकमा लगानीकर्ताले घोषणा गरेको वा अंकित मूल्य नै लागत, र घ) पहिलो खरिद पहिलो बिक्री (फिफो) सिद्धान्तका आधारमा बिक्री भएका सेयर र लागत समायोजन गरी बाँकी सेयरको भारित औसत विधिबाट लागत गणना गरिएको देखिन्छ ।

धितोपत्रका स्रोत र लागत
प्राथमिकमा अंकित मूल्य र ‘वाक’ विधिपछि दोस्रो बजारबाट खरिद धितोपत्रको लागत गणनामा खासै समस्या नभए पनि एकमुस्ट डिम्याट गरिएका, पारिवारिक हस्तान्तरण, लिलामी, गाभिएका कम्पनी, एकबाट अर्को डीपीमा स्थानान्तरित, पुराना प्रिमियम मूल्यमा खरिद आईपीओ र एफपीओ सबै प्रकारका सेयरको लागत अंकित मूल्य (रु. १ सय वा १०) मा राखिदिएका कारण लगानीकताहरूले छुट्टै लागत गणना र घोषणा गर्नुपर्ने बाध्यता सिर्जना भएको छ । तर, सम्बन्धित निकायले आधिकारिक निर्देशिका र विधि उपलब्ध नगराएको अवस्थामा निम्न स्रोतबाट प्राप्त धितोपत्रको निम्नानुसार लागत गणना र घोषणाको विकल्प देखिन्न ।
१. प्राथमिक बजारबाट खरिद : प्राथमिक बजारमा (अंकित वा प्रिमियमसहित) खरिद गरिएका सेयरको तिरिएको मूल्यलाई नै प्रमाणको जिम्मेवारीसहित लागत घोषणा गर्न सकिन्छ ।
२. बोनस र हकप्रद : कम्पनीहरूले जारी बोनस वा हकप्रद सेयरको यथार्थ लागतका सम्बन्धमा सरकार र लगानीकर्ताबीच फरक मत रहँदै आएको छ । विशेष गरी बोनस सेयरको वास्तविक लागत अंकित मूल्य (रु. १ सय), करसहितको मूल्य (रु. १ सय ५.२६) वा बोनस दरले समायोजित मूल्य भन्ने विवाद निरुपण उपायका रूपमा ल्याइएको भारित औसत लागत विधिले अंकित मूल्यलाई नै बोनस सेयरको लागत स्वीकारेको अवस्थामा बोनस र हकप्रद सेयरको समेत लागत रु. १ सय घोषणा गर्न सकिन्छ ।
३. दोस्रो बजारबाट खरिद : दोस्रो बजारबाट किनिएको धितोपत्रको हकमा लागतमा ब्रोकर कमिसन, सेवोन शुल्क र डीपी शुल्क समेत जोडिएर आएको कुल लागत नै प्रणालीले देखाउने हुँदा प्रणालीले देखाएको लागतलाई आधिकारिक मान्न सकिन्छ । जस्तै, प्रतिकित्ता २ सयमा ५ सय कित्ता सेयर किन्दा लागत रु. १ लाखमा ब्रोकर कमिसन ५ सय ५० र सेवोन शुल्क १५ तथा डीपी शुल्क २५ समेत कुल लागत रु. १ लाख ५ सय ९० का आधारमा प्रणालीमा देखिने प्रतिकित्ता लागत २०१.१८ हुन्छ । तर ‘वाक’ प्रणाली अगाडिका धितोपत्रहरूको लागत गणना र प्रमाणीकरण केही जटिल भए पनि निम्नानुसार गर्न सकिन्छ ।
क) विभिन्न समयमा विभिन्न दरमा दोस्रो बजारबाट ‘खरिद मात्र’ भए खरिदको लागतमा हकप्रद र बोनसको प्रतिकित्ता रु. १ सयका दरले लागत जोडेर आउने कुल लागतलाई कुल कित्ताले भाग गरेर औसत लागत गणना र घोषणा गर्न सकिन्छ ।
ख) विभिन्न समयमा विभिन्न दरमा ‘खरिद–बिक्री’ समेत भएको अवस्थामा पहिलो खरिदबाट पहिलो बिक्री (फिफो) विधिबाट कटाउँदै बाँँकी कित्ताको औसत लागत गणना गर्न सकिन्छ । यसमा आधिकारिक विधि उपलब्ध नहुँदा येनकेन गणना गरिएको लागतको प्रमाणिकरण भने कठिन छ ।
ग) ‘वाक’ विधि अगाडिको खरिदबिक्री र पछिको खरिद अनि बिक्रीसमेत भएको ‘मिश्रित अवस्था’मा पुरानो वा एकमुस्ट डिम्याटमा आएका धितोपत्रको छुट्टै भारित औसत लागत गणना र घोषणा गर्दै पछिको खरिदको हकमा प्रणालीमा देखिएको लागत रुजु गरि अनुमोदन गर्न सकिन्छ ।
४. डीपी स्थानान्तरण : एउटा डीपीबाट अर्कोमा सेयर स्थानान्तरण गर्दासमेत हाल पुनः लागत गणना र घोषणा गर्नुपर्छ, सम्भवतः यो छिटै निरुपण हुनेछ । यदि पुरानो डीपीमा नै ‘वाक’ गरेको भए नयाँमा सोही लागत राखेर टिप्पणी (रिमाक्र्स) मा डीपी स्थानान्तरण लेख्नेबाहेक उपाय देखिन्न । पुरानो औसत लागत गणना नगरेको भए नयाँ डीपीमा एकमुस्ट प्राप्त देखिने सेयरको छुट्टै औसत लागत गणना र घोषणाको विकल्प देखिन्न ।
५. गाभिएर कायम सेयर : विभिन्न कम्पनी विभिन्न स्वापमा गाभिएर कायम सेयर कित्ताको लागत घोषणामा स्वाप र पुरानो लागतलाई ध्यान दिनुपर्छ । विगतमा यसरी कायम नयाँ सेयरको लागत अंकित मूल्य (रु. १ सय) नै आउँथ्यो र त्यसको पहिलेको औसत लागतलाई स्वाप रेसियोले कायम कित्ताको अनुपातले नयाँ लागत गणना गरेर कायम लागत घोषणा गर्नुपथ्र्याे । जस्तै, ओम विकास बैंकको औसत रु. २ सय ५० लागतको १ सय कित्ता सेयर एनएमबी बैंकसँगको स्वापका आधारमा ७६ कित्ता भएर आएको अवस्थामा नयाँ औसत लागत रु. ३ सय २८.९५ हुन्छ । तर, हाल गाभिनु अगाडि नै ‘वाक’ गरेमा नयाँ औसत लागत प्रणाली नै गणना गरिदिने हुँदा उक्त नयाँ लागत अनुमोदन मात्र गरे पुग्छ । जस्तै, सहयोगी विकास बैंकको औसत रु. २ सय ५० लागत गणना भइसकेको १ सय कित्ता सेयर सिटिजन्स बैंकको सेयर भएर आउँदा कायम ९१.७५ कित्ताको भारित लागत प्रणालीले नै प्रतिकित्ता रु. २७२.४८ (२५०÷०.९१७५) गणना गरेर दिन्छ । तर, सहयोगीको पहिले नै ‘वाक’ नभएको अवस्थामा कायम ९१.७५ कित्ताको लागत प्रणालीले रु. १ सय देखाउँछ र आफूले यथार्थ लागत गणना गरेर लागत घोषणा गर्नुपर्नेछ ।
६. लिलामीबाट खरिद : कम्पनीहरूबाट लिलामीमा बिक्री सेयरमा आफूले तिरेको लागत नै प्रमाणको जिम्मेवारीसहित लागत घोषणा गर्न सकिन्छ ।
तालिकाः भारित औसत लागतको गणनाको नमुना

सावधानी र सुझाव
१. लागत गणना र घोषणाको दायित्व निर्वाह गर्दासमेत असीमित करको जोखिम रहनेतर्फ सचेत हुँदै प्रणाली वा स्वगणनाको हिसाब रुजु गर्दै सुनिश्चित भएपछि मात्र अनुमोदन गर्नुपर्छ ।
२. हाल भारित औसत लागत घोषणा गरेपछि सच्याउने विकल्प रहन्न । कतिपय अवस्थामा मानवीय वा प्राविधिक कारण हुन सक्ने यस्ता त्रुटि रेकर्ड राखेर सच्याउने विकल्प दिनैपर्छ ।
३. हाल प्रणालीबाट प्राप्त वा स्वगणना लागतबाट भविष्यमा सिर्जना हुन सक्ने करको जोखिम उन्मुक्ति पाउन सकिन्न । अब नियमसंगत घोषित लागतको असिमिति जोखिमबाट मुक्ति दिनैपर्छ । निश्चित अवधिभित्र सम्बन्धित निकायबाट रुजु गर्ने र कुनै टिप्पणी नभएमा कर प्रयोजनका लागि स्वतः अन्तिम मानिनुपर्छ ।
४. ‘मेरो सेयर’बाट बिक्रीको सेयर विद्युतीय हस्तान्तरण (इडिआइएस) गर्न डिम्याटमा भएका सबै धितोपत्रहरूको ‘वाक’ भएको हुनैपर्ने अवस्थामा लागत र करको केही जोखिम लिनु वा बेचेको सेयरको कागजी डीआईएस (भुक्तानी पुर्जी) दिनुको विकल्प रहन्न ।
५. हकप्रद र बोनसको बुक क्लोजपछि मूल सेयर घाटामा बेच्दासमेत हकप्रद र बोनसको लागत अंकित मूल्य नै कायम हुने अवस्थामा लागत मूल्य र थप करसहित दोहोरो नोक्सानी हुन्छ । नियामक र सरकारले बुक क्लोज र मूल्य समायोजन विधिमा पुनरावलोकन गर्दै बोनस वा हकप्रदको समायोजित मूल्यलाई लागत घोषणा गर्ने विकल्पमा जानुपर्छ ।
६. प्रिमियम मूल्यमा सेयर बेच्ने कम्पनीले सोको आधिकारिक प्रमाण र लिलामीको हकमा सकारेको मूल्यको प्रमाण उपलब्ध गराइनुपर्छ ।
(व्यावहारिक अनुभवका आधारमा सुझाइएको लागत विधिबाट कुनै लागत वा करको जोखिम सिर्जना भएमा त्यसको जिम्मेवार लेखक वा पत्रिका हुनेछैन ।)

प्रतिक्रिया दिनुहोस्