महिलाको आर्थिक विकासमा फेकोफनको भूमिका महत्वपूर्ण «

महिलाको आर्थिक विकासमा फेकोफनको भूमिका महत्वपूर्ण


भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) ले महिलाको नेतृत्व वृद्धि गर्न र उनीहरुको आर्थिक वृद्धि विकासका लागि महत्वपूर्ण भूमिका खेलेको बताएकी छिन् । महासंघले सामाजिक सेवा दिवसको उपलक्ष्यमा आयोजना गरेको भर्चुअल संवादमा उनले संस्थाले महिलालाई उत्प्रेरणा दिने कामलाई प्रभावकारी बनाउनुपर्नेम जोड दिइन् । “महिलालाई नेतृत्व तहमा ल्याउनु मात्र नभई उनीहरुको आर्थिक विकास आजको प्रमुख आवश्यकता हो” उनले भनिन्, “महिलाको आर्थिक विकास नभई समाजमा समानता आउन सक्दैन ।” महिलाको नेतृत्व बढाउनु मात्र नभई टिकाउनु पनि आजको चुनौती भएको उनको भनाई छ । महिलाका लागि उनीहरुको जनसंख्याभन्दा बढी तालिम दिए पनि त्यो अनुसार व्यवसायिकतामा जान नसकेको उनले दावी गरिन् । वनका क्षेत्रमार्फत महिलालाई लघुउद्यमशीलतामा लैजान महासंघले आगामी दिनमा काम गर्नुपर्नेमा उनले जोड दिइन् ।
वन तथा वातावरण मन्त्रालयको जलवायु महाशाखाका प्रमुख डा. राधा वाग्लेले हरेक सामाजिक काममा महिलाको भूमिका र योगदान महत्वपूर्ण रहेको बताइन् । उनले वन उपभोक्ता महासंघले शिक्षा, स्वास्थ्य, खानेपानीलगायत क्षेत्रमा क्षेत्रको महिलाको नेतृत्व बढाउँदै लगेको तथ्यांक प्रस्तुत गरिन् । “सामाजिक न्याय र प्राकृतिक न्यायका क्षेत्रमा महिलाको योगदान अपरिहार्य छ ,” वाग्लेले भनिन् ।
समाज कल्याण परिषदका सदस्य डा. मणिराम बन्जाडेले महासंघ महिला नेतृत्वमा सबैभन्दा क्रियाशील संस्था रहेको बताइन् । उनले सामाजिक क्षेत्रलाई अब राष्ट्रिय गौरवको क्षेत्र बनाउन सरकार लागिपरेकाले यी संस्थालाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिईन् ।
राष्ट्रियसभा सदस्य विमला राईले नेपालको संविधानमा महिलाको ३३ प्रतिशत नेतृत्व सुनिश्चित गर्नुअघि नै महासंघले यो अवधारणालाई अघि सार्नु प्रसंशनीय रहेको बताइन् । उनले सामाजिक क्षेत्रमा महिलाको भूमिका व्यापक रहेको बताइन् ।
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिका सभापति निरा जैरुले महासंघमा आफू सुरुदेखि नै क्रियाशील रहेकाले यही संस्थामार्फत नेतृत्वमा पुगेको बताइन् । उनले बाढी पहिरोले देशमा ठूलो धनजनको क्षति भएकाले त्यसतर्फ पनि महासंघको ध्यानाकर्षण हुनुपर्नेमा जोड दिइन् ।
सुदूरपश्चिम प्रदेश सांसद पूर्णा जोशीले महिलाको सहभागिता र उनीहरुको सोचविना समाजको परिकल्पना समेत गर्न नसकिने तर्क राखिन् । वन उपभोक्ता महासंघका अध्यक्ष भारती पाठकले सामुदायिक कार्यमा महिलाको भूमिका बढी भए पनि उनीहरुको कामको कदर हुन नसकेको गुनासो गरिन् । उनले महिलामैत्री नीति बनाउँदै जान तीनै तहका सरकारलाई आग्रह समेत गरिन् ।

प्रतिक्रिया दिनुहोस्