खुमा अर्याल फाउण्डेशनले बालिकाको उपचार गरिदिने

स्याङ्जा- केही दिनदेखि अविरल रुपमा परेको वर्षाका कारण गएको पहिरोमा परी घाइते भएकी वालिङ नगरपालिका–१४ तमादीकी १६ वर्षिया मनिषा नेपालीको खुमा अर्याल फाउण्डेशनले उपचार गरिदिने भएको छ ।
बिहीबार बिहानपख घरमाथिबाट खसेको पहिरोमा ९ जनाको मृत्यु भएको थियो । सोहि पहिरोबाट उद्धार गरिएकी नेपालीको फाउण्डेशनले सम्पूर्ण खर्च व्यहोर्ने गरी उपचार गरिदिने भएको हो । ९ जना आफन्त गुमाएकी नेपालीको आर्थिक अवस्था समेत नाजुक छ ।
पहिरोबाट उद्धार गरिएकी बालिकाको वालिङमा सामान्य उपचारपछि पोखरास्थित गण्डकी मेडिकल कलेजमा थप उपचार भइरहेको छ । अस्पतालका अनुसार बालिकाको अवस्था खतरामुक्त रहेपछि उपचार प्रक्रिया लामो हुनेछ ।
“बालिकाको आर्थिक अवस्था नाजुक रहेको र ९ जना आफन्त गुमाउँदाको अवस्थामा उनको उपचार हामीले गरिदिने निर्णय गरेका छौं,” फाउण्डेशनका सचिव ध्रुव शर्माले भने, “वैदेशिक रोजगारमा भारत रहेका एक दाजु बाहेक आफन्त सबै गुमाएकी बालिकाको उपचारमा जति खर्च लागेपनि फाउण्डेशनले तिर्नेछ ।”
उक्त पहिरोमा परी ज्यान गुमाउनेमा १४ वर्षे विक्रम नेपाली, १९ का बिनिता नेपाली, २१ का कुलदिप नेपाली र ७ महिनाका एक नाबालक रहेका छन् । यसैगरी, २८ वर्षकी उमाकला नेपाली, ४८ का माया नेपाली, ३० को दिपक नेपाली, ६० का सानी नेपाली र ९ बर्षे बिबश नेपाली रहेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।
कृषि तथा मेडिकल क्षेत्रमा लगानी गरेका स्याङ्जाका खुमा अर्यालको नाममा बनेको फाउण्डेशनले जिल्लामा शिक्षा, स्वास्थ्य र रोजगार क्षेत्रमा काम गर्दै आएको छ । जिल्लाका विभिन्न स्थानीय तहमा सक्रियतापूर्वक समाज सेवामा लागेको फाउण्डेशनले आर्थिक अवस्था नाजुक भएका विपन्न परिवारलाई समेत सहयोग गर्दै आएको छ ।