मैत्रीपूर्ण खेलमा डीसीए टोली पराजित «

मैत्रीपूर्ण खेलमा डीसीए टोली पराजित

मुम्बई- मुम्बई टुरमा रहेको धनगढी क्रिकेट एकेडेमी (डीसीए) को १७ वर्षमुनीको टोली मंगलबार पहिलो मैत्रीपूर्ण खेलमा पराजित भएको छ । यहाँको स्टार सीसी क्लबले डीसीएलाई नौ विकेटले पराजित गरेको हो ।
स्थानीय आजाद मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको डीसीएले ४० ओभरको खेलमा ३६ ओभरमा अलआउट हुँदै एक सय पाँच रन बनाएको थियो । डीसीएका लागि रोहन विकले सर्वाधिक ३५ रन बनाए । कप्तान सुवोध ऐरले १६, सक्षम पार्कीले १५ सन्दीप आउजीले ८ रनको योगदान गरे । त्यस्तै, किरन नाथले ३ र निशान पन्तले १ रन जोडे । डीसीएका चार जना खेलाडी शून्य रनमै पवेलियन फर्केका थिए ।
डीसीएलाई धेरै रन बनाउनबाट रोक्ने क्रममा स्टार सीसीका लेग स्पीनर लक्षले सर्वाधिक पाँच विकेट लिए । त्यस्तै, सुभम र अंकितले दुई-दुई विकेट हात पारे । धनगढीबाट मुम्बईसम्मको लामो यात्राको थकानका कारण डीसीएका खेलाडीहरु खुलेर खेल्न सकेनन् ।
एक सय ६ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रेको स्टार सीसीले १० दशमलव ३ ओभरमा एक विकेट गुमाएर सजिलै लक्ष्य पूरा ग-यो । उसको जितमा प्रारम्भिक ब्याट्सम्यान तस्यमले अर्धशतक पूरा गर्दै अविजित ५८ रन बनाए । अर्का ओपनर रोहित काम्लीले ३० र तेस्रो नम्बरमा ब्याटिङ गरेका मयुरेशले नटआउट ८ रनको योगदान दिए ।
बलिङ गर्दै सोनु मण्डलले डीसीएलाई एक विकेटको सफलता दिलाए । दुई ओभर बलिङ गरेका उनले मात्र १३ रन खर्चेका थिए । तीन ओभर बलिङ गर्दै निशान पन्तले सर्वाधिक ३३ रन खर्चे पनि कुनै विकेट हात पार्न सकेनन् । त्यस्तै, ३० रन खर्चेका कुश मल्ल र १७ रन खर्चेका विनोद विष्ट पनि विकेटविहीन बने । तीन बल फालेका राजन लोहनीले १० रन खर्चे ।
प्रतिद्वन्दी राम्रो र बलियो रहेकाले डीसीएका खेलाडीहरुले राम्रो सिक्ने अवसर पाएको प्रशिक्षक दीपेन्द्र चौधरीले बताए । “यसबाट हामीले अरु खेलमा राम्रो प्रदर्शन गर्ने अपेक्षा गरेका छौं,” उनले भने ।
१० दिनको लागि मुम्बई टुरमा आएको डीसीए टोलीले यहाँका विभिन्न क्लबसँग अझै ६ वटा एकदिवसीय खेल खेल्नेछ । नियमित प्रशिक्षण गरिरहेका खेलाडीहरुलाई थप ‘एक्सपोजर’ दिनका लागि मुम्बई टुरमा ल्याएको धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीले बताए । “यसले हाम्रो खेलाडीहरुमा निखारपना आउनेछ,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्