चीनले श्रीलंकामा १ अर्ब डलर लगानी गर्ने «

चीनले श्रीलंकामा १ अर्ब डलर लगानी गर्ने

श्रीलंकाको प्रमुख बन्दरगाहनजिकको प्रमुख आयोजनामा निर्माण हुने तीनवटा ६० तले भवनमा चीनले १ अर्ब डलर लगानी गर्ने भएको कोलम्बोले जनाएको छ । बेइजिङले हिन्द महासागरमा आफ्नो प्रभाव बढाउने लक्ष्य निर्धारण गरेसँगै यो परिमाणको लगानी गर्न लागेको हो ।
बृहत् कोलम्बो इन्टरनेसनल फाइनान्सियल सिटीको विकासका लागि योभन्दा पहिले पनि चीनले १.४ अर्ब डलर लगानी गरेको थियो । यो सिटी रणनीतिक रूपमा श्रीलंकाको बन्दरगाहसँगै अवस्थित छ । यो क्षेत्रमा एक मात्र डिप सी कन्टेनर बन्दरगाह हो ।
यो आयोजना पूर्व श्रीलंकाली राष्ट्रपति महिन्द्रा राजापाक्षेले सुरु गरेका थिए । यसले हिन्द महासागरमा वित्तीय केन्द्रको स्थापना गर्नेछ । यो आयोजना श्रीलंका र युरोपमा जानुको सट्टा चीनको हातमा जाने र अर्बौं विदेशी लगानी र हजारौं रोजगारीको सिर्जना गर्ने अपेक्षा गरिएको छ । यो आयोजना मरिना जहाजका साथ आगामी वर्ष पूरा हुने अपेक्षा गरिएको छ । मरिना जहाजको निर्माण भने पूरा भइसकेको छ ।
“चाइना हार्वबर कम्पनीले ६० तले तीनवटा भवनको निर्माणका लागि १ अर्ब डलर खर्च गर्नेछ,” श्रीलंकाका सहरी विकास मन्त्री चम्पिका रानावाकले बताइन् । “यी ६० तले तीनवटा भवन विदेशी कम्पनीहरूलाई श्रीलंकामा आकर्षित गर्न सक्षम हुनेछन्,” उनले बताइन् ।
यो विवादास्पद आयोजना चिनियाँ राष्ट्रपति सी जिनपिङले २०१४ मा कोलम्बोको भ्रमण गरेपछि औपचारिक रूपमा सुरु भएको थियो । तर, नयाँ प्रशासनले यसको काम रोकेको थियो ।
राज्य स्वामित्वको चाइना कम्युनिकेसन्स कन्स्ट्रक्सन कम्पनी (सीसीसीसी) नयाँ सरकारसँग २०१६ को अगस्टमा नयाँ सम्झौतामा पुगेपछि यसको काम पुनः सुरु भएको थियो । क्षेत्रीय सुपरपावर भारतबाट आएको भूराजनीतिक चासोका बाबजुद यो सम्झौता भएको हो ।
भारतीय आयात–निर्यात कार्गोका लागि कोलम्बो प्रमुख केन्द्र बन्दै आएको छ ।नयाँ दिल्लीको विरोधपछि कोलम्बोले चिनियाँ कम्पनीलाई दिएको निर्वाध प्रयोगको अधिकार खोसेको र यसको सट्टा ९९ वर्षे भाडाको प्रस्ताव गरिएको थियो ।
निर्माणको काममा भएको प्रगतिका बारेमा निरिक्षण गर्नका लागि श्रीलंकाली प्रधानमन्त्री रनिल विक्रमासिंगेले मंगलबार उक्त क्षेत्रको भ्रमण गरेका थिए ।“यो क्षेत्रलाई युरोप तथा सिंगापुरको जस्तै वित्तीय केन्द्रमा रूपान्तरण गर्नका लागि हामी छोटो अवधिमा यसलाई अगाडि बढाउन चाहन्छौं,” उनले बताए ।सीसीसीसीले यो अयोजनाले ८३ हजार नयाँ रोजगारी सिर्जना गर्ने र श्रीलंकालाई पूर्वाधार विकास गर्नका लागि १३ अर्ब डलरको प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न सहयोग गर्ने अपेक्षा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्