Logo

वडालाई अधिकार प्रत्यायोजनमार्फत समृद्धि सपना

‘सिंहदरबारको अधिकार गाउँसम्म’ भन्ने नारा व्यवहारमा भने त्यति सार्थक हुन सकेको छैन । संघीय सरकारले आफ्नो अधिकार प्रादेशिक तहलाई छाड्न नचाहने र प्रदेशले स्थानीय तहलाई हस्तान्तरण नगर्ने समस्या देशव्यापी छ । स्थानीय तहभित्रै पनि वडालाई अधिकार प्रत्यायोजन नगरिएका उदाहरण प्रशस्तै छन् । तर, पोखरा महानगरपालिका यसमा अपवाद हो । महानागरले वडासम्म अधिकार विकेन्द्रीत गरेको छ । ७५३ स्थानीय तहमध्ये वडासम्म अधिकार विकेन्द्रित गर्ने सम्भवतः पहिलो स्थानीय तह हो, पोखरा महानगर । ठूला प्रकृतिका वाहेक सबैजसो कामको अधिकार वडालाई नै प्रत्योजन गरिएको नगर प्रमुख मानबहादुर जिसी बताउँछन् । ६ महानगरमध्ये क्षेत्रफलमा सबैभन्दा ठूलो महानगर हो पोखरा ।
नगरले अझै धेरै क्षेत्रबाट कर संकलन गर्न चुकेको स्वीकार्दै प्रमुख जिसी भन्छन्, “४७ अर्बको मूल्याङकन हुनुपर्नेमा हामीले करिब ५ अर्बलाई मात्र मूल्याङकन गरेको अवस्था छ । ४२ अर्ब मूल्याङ्कनको राजस्व त गुमेको छ ।” केन्द्र सरकारबाट ६० करोड आउने भए पनि सबै क्षेत्रमा कर संकलन गरेको अवस्थामा केन्द्र सरकारलाई १ देखि डेढ अर्ब रुपैयाँ राजस्व दिनसक्ने उनी दाबी गर्छन् ।
नगरले राजस्व संकलन पनि वैज्ञानिक ढंगले गर्दैछ । “प्रविधियुक्त सहर बनाउने उद्देश्यका साथ केही कामको सुरुवात भएको छ,” उनले भने, “एक हजार ५ सय किलोमिटर सडक स्तरोन्नति गर्ने, हरेक घरको नम्बरिङ गर्ने, अनलाइनमार्फत सेवा सुविधा दिन्छौं ।” यस्तै हाल सञ्चालनमा रहेका सोलार लाइट सिस्टम मर्मतसम्भार गर्न खर्च बढी लाग्ने र कम उज्यालो भएकोले गर्दा अब विद्युत्बाटै महानगरलाई उज्यालो पार्ने अभियानमा नेपाल विद्युत् प्राधिकरणसँंग सहकार्यको तयारी थालिएको पनि उनले बताए ।
फेवातालदेखि बेगनास हुँदै पोखराका अन्य तालको प्रबद्र्धन गर्न ‘लेक टु लेक साइकल ट्र्याक’ अभियान आगामी डेढ वर्षभित्र पूरा गर्ने लक्ष्य छ । विकटलाई निकट बनाउन वडादेखि वडा हुँदै वडादेखि पालिकासम्मको सडक सञ्जाल जोड्ने अभियान छ । पोखरा पर्यटकीय नगर भएकोले गर्दा निजी क्षेत्रलाई पर्यटन क्षेत्रमा लगानी गर्न प्रोत्साहन गरी पोखराको सौन्दर्यकरण गर्न लागेको मेयर जिसीले बताए ।
जेष्ठ नागरिक, अपांगता भएकाहरूलाई पोखरामा निःशुल्क यातायात सेवा दिएको उपप्रमुख मञ्जुदेवी गुरुङले बताइन् । पोखराका ज्येष्ठ नागरिक, प्रभावित महिला, अपांगता भएका व्यक्तिलाई निशुल्क यातायात सेवा सञ्चालन गर्ने गरी बजेट विनियोजन गरिएको उनले बताइन् । केही समयपछि महिला सेफहाउससमेत सञ्चालनमा ल्याउने, सडक वालबालिकारहित महानगरसहित बालमैत्री नगर घोषणा गर्ने अभियानमा भएको उनले जनाइन् । न्यायिक समितिका संयोजक समेत रहेकी उपमेयर गुरुङले उजुरी बढ्न थालेसँगै सोमबार र बुधबार इजलास बस्ने भएको बताइन् ।
पोखरामा महिलामैत्री क्वारेनटाइनको व्यवस्था, उपमेयर गुरुङको संयोजकत्वमा डेडिकेडेट समिति निर्माण भएसँगै रणनीतिक योजनाका साथ अघि बढेको र तत्काल अवस्था हेरी कोरोना संक्रमण दर बढेमा स्थानीयको मागअनुसार वडावडामा लकडाउन, शिलबन्दी गर्न सुरु भएको प्रमुख प्रशासकीय अधिकृत महेश बरालले बताए । कोरोनाका बिरामीको उपचारको क्रममा अन्य जोखिम समेत पोखरामा हुने हुदा त्यसलाई समेत मध्यनजर गरी आन्तरिक व्यवस्थापनमा महानगर जुटेको उनले जनाए । कोभिड १९ बाट बच्न र बचाउन महानगरका ३३ वटै वडा र टोल विकास संस्थासहितका संघसस्थालाई परिचालन गरिएको छ । नगरमा करिब ६ महिनाको कोरोनाको प्रभावमा साढे ४ करोड रुपैयाँ खर्च भएको छ । कोभिडले गर्दा राजस्व घटेको उनले जनाए ।
पोखराको विकासको मेरुदण्डका रुपमा हाल निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पोखरा अन्तर्राष्ट्रिय फुटवल स्टेडियम र यहाँका अन्य साहासिक खेल गतिविधि प्याराग्लाइडिङ, अल्ट्रालाइट, जिपफ्लायर, बन्जीजम्प, -याफ्टिङ, कायाकिङ, हट इयर बेलुन, बोटिङलगायत हुन् । अन्नपूर्ण पदमार्ग जाने पर्यटकहरूको मुख्य ट्रान्जिट प्वाइन्ट पनि हो पोखरा । पोखरा धार्मिक पर्यटकको हिसावले पनि धनी सहर हो । अन्नपूर्ण, माछापुच्छ«े, धौलागिरी, मनास्लु, गणेश, मार्दीलगायतका हिमश्रृंखलाले पोखराबाटै पर्यटकहरूलाई मोहित हुने गरेका छन् ।

प्रदेशः गण्डकी
जिल्लाः कास्की
वडा सङख्याः ३३ वटा
मेयरः मानबहादुर जिसी
उपमेयरः मन्जुदेवी गुरुङ
प्रमुख प्रशासकीय अधिकृतः महेश बराल
क्षेत्रफलः ४६४.२४ वर्गकिलोमिटर
जनसङ्ख्याः ४,०२,९९५

बजेटः आर्थिक वर्ष २०७७-०७८ का लागि ६ अर्ब १९ करोड ७१ लाख ७८ हजार, (चालू खर्चतर्फ ३ अर्ब २० करोड ८४ लाख र पुँजीगत खर्चतर्फ २ अर्ब ९८ करोड ८८ लाख रुपैयाँ ।)
विश्वविद्यालयः पोखरा विश्वविद्यालय, गण्डकी प्रदेश विश्वविद्यालय,

प्रतिक्रिया दिनुहोस्