फस्टाउँदै अनलाइन व्यापार–व्यवसाय «

फस्टाउँदै अनलाइन व्यापार–व्यवसाय

विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ का कारण कुनै पनि मुलुक यस महामारीबाट अछुतो रहन सकेन । विश्वमा लाखौं मानिसले ज्यान गुमाइसकेका छन् भने करोडौं मानिस यस कोराना भाइरसबाट संक्रमित हुनुपरेको छ । विश्वको अर्थतन्त्र धेरै खस्किसकेको छ भने लाखौं मानिसले आफ्नो श्रमबाट रोजीरोटीसमेत गुमाइसकेको अवस्था छ । यसको प्रत्यक्ष प्रभाव हाम्रो मुलुक नेपालमा पनि विगत ६ महिनादेखि नै देखिसकेको छ ।
गत चैत ११ गतेदेखि हाम्रो मुलुकमा पनि लकडाउन भएको थियो । लकडाउनको समयमा कुनै पनि बैंक–वित्त, व्यापार–व्यवसाय, यातायात तथा औद्योगिक क्षेत्रहरू पूर्ण रूपमा बन्द नै भएका थिए । एक ठाउँबाट अर्को ठाउँमा हिँडडुल गर्नसमेत निषेध गरिएको थियो । समग्रमा भन्दा लकडाउनको समयमा सरकारले जनातालाई घरभित्रै थुनेको थियो । करिब चार महिनाको बन्दाबन्दीपछि साउन ४ गतेदेखि सरकारले लकडाउन केही खुकुलो गरेको थियो । त्यसपछि आंशिक रूपमा सवारी साधन चले पनि व्यापार–व्यवसाय भने पूरै ठप्प रहे ।
यस्तो अवस्थामा राजधानीभित्रका धेरै जनताले पसलमा गएर सामान खरिद गर्नेभन्दा पनि धेरै मानिस आफूलाई चाहिने अत्यावश्यक सामान प्रायः अनलाइन माध्यमबाटै अर्डर गरी खरिद गरेर समस्याको समाधान गर्ने गर्छन् । अनलाइनबाट अत्यधिक अर्डर गरिने सामानहरू कपाल काट्ने मेसिन, मोबाइल, लत्ताकपडा, खाद्यान्न, विद्युतीय सामानलगायत धेरै सामान अनलाइनबाट नै मानिसहरू मगाउने गर्छन् ।
ललितपुर, टीकाथलीनिवासी रञ्जिता गिरी पोखरेलले गत सोमबार जमसुट अनलाइनबाटै खरिद गरिन् । उनले कोरानाबाट सचेत रहन र बजार धाइरहनुपर्ने झन्झटबाट केही सरलीकरण भएको र सस्तो र सुलभ मूल्यमा अनलाइनबाट नै सामान मगाउँदा यसमा आफू सन्तुष्ट रहेको अनि अनलाइनबाट मगाएको सामान गुणस्तर पनि रहेको बताइन् । उनले यो अनलाइन सेवा–सुरक्षाका दृष्टिकोणले अत्यन्तै प्रभावकारी रहेको र समयको समेत बचत हुने कुराको जानकारीसमेत दिइन् । त्यस्तैगरी काठमाडौंको गोठाटारस्थित रमा घिमिरे चापागाईंले पनि अनलाइनबाटै जिम्मी कम्पनीको एउटा कपाल काट्ने मेसिन २ हजार रुपैयाँ तिरेर मगाइन् । उनले त्यो कपाल काट्ने मेसिनले सोही दिन चार जनाको कपाल काटिन् । उनी भन्छिन्, “अनलाइनबाट मगाएको एकैछिनमा मोटरसाइकलमा आफूले भनेको सामान लिएर मानिस आउनुभयो ।” यसले गर्दा यत्रो महामारीमा सार्वजनिक यातायात चढेर बजारसम्म जानुपर्ने झन्झट समाप्त भएको छ भने समयको बचतसँगै अनलाइनबाट सामान खरिद गर्ने माध्यम प्रभावकारी रहेको समेत चापागाईंले बताइन् ।
सूक्ष्म तरिकाले विश्लेषण गर्ने हो भने रञ्जिता गिरी पोखरेल र रमा घिमिरे चापागार्इं अनलाइनबाट सामान अर्डर गर्ने केही उदाहरण मात्र हुन् । मुलुकमा यस्ता धेरै अनलाइन सामान बिक्री–वितरण गर्ने विभिन्न ब्रान्डका कम्पनीहरूले आफ्नो व्यवसायलाई निरन्तरता दिन र आर्थिक उन्नति हासिल गर्न यसरी अनलाइनबाट व्यवसाय गर्ने गरेको पाइन्छ । यस्ता व्यवसाय गर्ने कम्पनीहरू मुलुकभित्र प्रशस्तै छन् । जस्तै— होटल तथा खानेकुराका लागि भरपर्दो अनलाइन माध्यम फुडमाण्डु रहेको छ भने यातायातका लागि अत्यन्तै लोकप्रिय पठाओ । त्यस्तैगरी खानेकुरा तथा खाद्यान्नका लागि मनोहरा मार्टलगायत धेरै मुलुकमा आ–आफ्नो कम्पनीले विषम परिस्थितिमा अनलाइन माध्यमबाट आममानिसलाई सेवा प्रदान गरिरहेका छन । र, यो अनलाइन सेवाले मुलुकमा तीव रूपमा फैलिएको कोराना भाइरसजस्ता रोगको महामारीमा केही मात्रामा भए पनि जोखिम न्यूनीकरण गर्नका लागि सहयोग पुग्ने आममानिसको विश्वास छ भने अहिलेको विषम परिस्थितिमा अनलाइन व्यापार–व्यवसाय पनि फस्टाउँदै गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्