कोरोना नियन्त्रण तथा व्यवस्थापनमा म्याग्दीमा ३ करोड ५८ लाख खर्च «

कोरोना नियन्त्रण तथा व्यवस्थापनमा म्याग्दीमा ३ करोड ५८ लाख खर्च

म्याग्दी-महामारीका रूपमा फैलिएको कोरोना भाइरसको नियन्त्रण र व्यवस्थापनका लागि म्याग्दीमा ३ करोड ५८ लाख रुपैयाँ खर्च भएको छ । बेनी नगरपालिका सहित ५ वटा गाउँपालिकाको आर्थिक वर्ष २०७६-७७ मा ३ करोड ५८ लाख रुपैयाँ खर्च भएको हो । क्वारेन्टाइन सञ्चालन व्यवस्थापन, आइसोलेसन कक्ष स्थापना, राहत वितरण, स्वास्थ्य सामग्री खरिद र स्वयम्सेवक परिचालन लगायतको क्षेत्रमा सो रकम खर्च गरेका हुन् ।
कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि बेनी नगरपालिकाले ८१ लाख ३३ हजार १ सय १२ रुपैयाँ खर्च गरेको छ । कुल १ करोड ३७ लाख ३० हजार ३७३ रुपैयाँ संकलित रकमध्य कोरना कोषमा ५५ लाख ९७ हजार २६१ रुपैयाँ बाँकी रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बताए ।
गाउँपालिकातर्फ अन्नपूर्णको ४६ दाख ५८ हजार, रघुगंगााको ७४ लाख ६९ हजार, मंगलाको ५९ लाख ५३ हजार, मालिकाको ५७ लाख ३९ हजार र धौलागिरि गाउँपालिकाको ३९ लाख २३ हजार खर्च भएको सार्वजनिक गरेका छन् । कुल खर्चको आधाभन्दा बढी रकम राहत खाद्यान्न वितरणमा भएको छ । स्थानीय तहको सहयोगमा बेनीको शैक्षिक तालिम केन्द्रमा २० बेड क्षमताको आइसोलेसन निर्माण गरिएको छ ।
विदेशबाट आएका र भारतीय सीमा नाकामा अलपत्र परेकालाई गाडीको व्यवस्था गरेर बेनी ल्याइ क्वारेन्टाइनमा राख्ने, खाद्यान्न राहत वितरण, स्वास्थ्य सामग्री खरिद, स्वयम्सेवक परिचालन गरेर स्वास्थ्य सुरक्षा मापदण्ड र लकडाउनको कार्यान्वयन गराउने, सीमा नाकामा चेकजाँच र गाउँमा सन्देशमूलक कार्यक्रम संचालन गरेका थिए ।
आर्थिक वर्ष २०७७÷७८ का लागि पुँजीगत तर्फबाट स्थानीय तहले कोरोना रोकथामसहित विपद् व्यवस्थापन कोषमा ७ करोड २७ लाख विनियोजन गरेका छन् । बेनी नगरपालिकाले १ करोड ५० लाख कोरना रोकथाम तथा नियन्त्रणमा छुट्याएको छ । हालसम्म ५० जना कोरना संक्रमित देखिए पनि आइसोलेसनमा १ जना छ, भने अन्य सबै निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्