Logo

प्रशासन कार्यालय परिसरमा ‘लमजुङ पार्क’ बन्दै

लमजुङ-जिल्ला प्रशासन कार्यालय लमजुङको परिसरमा लमजुङ पार्क निर्माण शुरु भएको छ । जिल्लाका स्थानिय तहको समन्वयमा लमजुङ पार्क निर्माण शुरु गरिएको प्रशासन कार्यालयले जनाएको हो ।
जिल्लाका धार्मिक, ऐतिहासिक एवं पर्यटकीय सम्पदाहरूको प्रवद्र्धनका लागि प्रशासन कार्यालयमा पार्क निर्माण गर्न लागिएको सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले बताए । पार्क निर्माणको काम शुरु भईसकेको र केहि महिना भित्रै पार्क जिल्लाका पर्यटकीय महत्वका सम्पदा सहितको लमजुङ पार्क निर्माण हुने सहायक प्रजिअ शाहीको भनाइ छ ।
प्रशासन कार्यालयमा निर्माण गर्न लागिएको पार्कमा सवै स्थानीय तहको महत्वपूर्ण धार्मिकस्थल, ऐतिहासिक सम्पदाहरूको नक्साको आधारमा राखिने बताइएको छ । जिल्लाका राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा चर्चा पाएका र पर्यटकिय दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण मानिएका सम्पदाहरूको तस्बिर राखिने प्रशासनले जनाएको छ ।
प्रशासनले जिल्लाका सवै स्थानिय तहहरूलाई सम्वन्धीत पालिकाका महत्वपूर्ण ठानिएका धार्मिक, ऐतिहासिक र पर्यटकीय सम्पदाहरूको पहिचान गरि त्यसको विवरण पठाउन पत्राचार गरिसकेको पनि जनाएको छ । हाल पार्क निर्माणको जग निर्माणको कार्य प्रारम्भ भइसकेकाले स्थानीय तहबाट प्राप्त विवरणअनुसार थप निर्माण कार्यलाई अघि बढाउने जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ ।
पार्क निर्माणको क्रममा जग निर्माणको लाग हालमध्य नेपाल नगरपालिकाले आर्थिक सहयोग गरिसकेको र अन्य स्थानिय तहबाट पनि सहयोग जुटाउने कार्य भईरहेको प्रशासनले जनाएको छ । करिव ५ लाख रुपैयाँबाट सुरु गरिएको लमजुङ पार्क निर्माण कार्य थप बजेटको उपलब्धता सँगै निर्माण सम्पन्न गरिने बताइएको छ ।
जिल्लाको सबैभन्दा बढी सेवाग्राहीहरूको आगमन हुने जिल्ला प्रशासन कार्यालयमा निर्माण हुन लागेको लमजुङ पार्कले समग्र जिल्लाको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने सरोकारवालाहरूको विश्वास छ । वार्षिक हजारौं बाह्य पर्यटकहरूको आगमन हुने लमजुङमा प्रशासन कार्यालयमा निर्माण हुने लमजुङ पार्कले आन्तरिक पर्यटकहरूलाई थप आकर्षण गर्ने विश्वास गरिएको छ ।
प्रशासन कार्यालयको सेवाग्राही प्रतिक्षालय अगाडि लमजुङ पार्क निर्माण गर्न लागिएको हो । प्रशासनमा निर्माण गर्न लागिएको लमजुङ पार्कबाट जिल्लाका विभिन्न स्थानमा भएका धार्मिक, ऐतिहासिक एवं पर्यटकीय सम्पदाहरूको अध्ययन र जानकारीका लागि पनि थप सहयोग पुग्ने लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।
लमजुङ पार्कमा गाउँसहरको ऐतिहासिक लमजुङ दरबार, इशानेश्वर महादेव मन्दिर, दूधपोखरी, मेमे पोखरी, बराह पोखरी, अन्तर्राष्ट्रिय ख्याति प्राप्त घलेगाउँ, राइनासकोट, तुर्लुङकोट, पुरानकोट गढीलगायत सबै स्थानीय तहका महत्वपूर्ण स्थानहरूलाई नक्सांकन गरी राखिने भएको छ ।
आधुनिक प्रविधिको प्रयोग गरेर पर्यटकिय सम्पदाहरूका बारेमा स्पष्ट बुझ्न सकिने गरी पालिका अनुसार सम्पदाहरूको समावेश गरी पार्क निर्माण हुन लागेको हो । स्थानीय तहले विवरण पठाएपश्चात केही महिनाभित्रै पार्क निर्माण सम्पन्न हुने पनि प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्