‘मन्त्रीमण्डल हेरफेर हुने सम्भावना छ’ «

‘मन्त्रीमण्डल हेरफेर हुने सम्भावना छ’

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले अब बस्ने स्थायी समिति बैठकमा वर्तमान मन्त्रीहरुको कार्यशैली र मन्त्रीहरु परिवर्तन गर्नेबारे व्यापक छलफल हुने स्पष्ट पारेका छन् । उनले भने, “प्रधानमन्त्रीले अब टिम परिवर्तन गर्नुपर्छ । अब बस्ने स्थायी समिति बैठकमा प्रधानमन्त्रीको टिम परिवर्तन हुन्छ । तर, प्रधानमन्त्री परिवर्तन हुँदैन ।”
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पौडेलले भने, “सरकारको काममा प्रभावकारिता भएन । अब योभन्दा अझै प्रभावकारिता हुनुपर्छ । अब बस्ने स्थायी समिति बैठकमा जनताले हामीसँग राखेका गुनासा र टिप्पणीहरु जस्ताको त्यस्तै राख्छौं । अब दसैंलगत्तै वातावरण तात्छ । सरकारले अब आफ्ना गतिविधिहरु बढाउँछ । सरकारले अब काम थाल्नुपर्छ ।” यद्यपि उनले मान्छे फेरेर काममा प्रभावकारिता नआउने पनि स्पष्ट पारे । पौडेलले भने, “अनुभवी टिम आवश्यक प-यो भने मन्त्रिमण्डल पुनगर्ठन हुन्छ । तर, अहिले प्रधानमन्त्री फेरिने सम्भावना छैन ।”
उनले मन्त्रीहरुले सुशासनलगायतका काममा तत्काल परिणाम देखाउनुपर्ने भएपनि त्यो देखाउन नसकेको गुनासो पोखे । उनले भने, “सुशासन कायम गर्न त सकिन्छ नि, केले रोकेको छ ? मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै सुशासनलगायतका कामहरु कायम गरेर देखाउन सकिन्छ ।”
वर्तमान सरकार संविधान कार्यान्वयन गर्ने कुरामा पूर्ण प्रतिबद्ध रहेको पनि उनले सुनाए । उनले भने, “हामी संविधान कार्यान्वयन गराउन पूर्ण प्रतिबद्ध छौं । हामी दृढतापूर्वक संविधानको पक्षमा छौं ।” सरकारको प्रभावकारिताबारे उठेका प्रश्नहरुबारे पार्टीले गम्भिर समीक्षा गर्ने बताउँदै उनले रेल, पानीजहाज, ठूला ठूला बाटाघाटाहरु भन्ने कुरा १२० दिनमै बन्न नसक्ने बताए । पौडेलले भने, “हामीले चमत्कार नै गर्छौं भनेका छैनौं । काठमाडौं हुँदै लुम्बिनीसम्म रेल पु-याउँछौं र वीरगञ्ज हुँदै काठमाडौंसम्म पनि रेल ल्याउँछौं भनेका छौं । यो कार्यान्वयन गर्न केही समय लाग्छ ।”
पछिल्लो समय जनताका गुनासाहरु एकपछि अर्को बढ्दै गैरहेकोले सरकार र पार्टी दुवै यस विषयमा अलिक बढी नै गम्भिर बन्नुपर्ने र त्यही अनुसारको समीक्षा गर्नुपर्ने उनको धारणा छ । निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरण दुखद्, निन्दनीय र अमानवीय रहेको सुनाउँदै उनले यस विषयमा सरकारले अपराधी पत्ता लगाउन अनुसन्धानको काम गरिरहेको बताए । यद्यपि, उनले यो प्रकरणमा सरकार र मन्त्रीहरुको कामबारे जोडेर विरोध नगर्न विपक्षी दलका नेताहरुलाई आग्रह समेत गरे । उनले भने, “सामाजिक अपराधका घटनाबारे सबै एकजुट भएर लाग्नुपर्छ । को प्रतिपक्षी, को सत्तापक्षी भन्नुहुँदैन । यदि सरकारले विकास निर्माणका काममा गलत गरेको छ भने आलोचना गर्न सकिन्छ । तर, यो घटनामा सबै मिलेर अपराधी पत्ता लगाउनुपर्छ ।”
प्रधानमन्त्री केपी शर्मा ओलीका जनसम्पर्क सल्लाहकार अच्यूतप्रसाद मैनालीले वर्तमान सरकारको यो ८ महिने कार्यकाल पूर्ण सफल रहेको दाबी गरे । उनले भने, “सरकार असफल भयो भनेर विपक्षी दलले लगाएको आरोपमा कुनै सत्यता छैन । सरकार अब ‘एसशन–ओरिएन्टेड’ हुन्छ ।” यद्यपि, उनले जनताको चाहनाअनुसार अहिले काम भने हुन नसकेको स्वीकार गरे ।
नेपाल कम्युनिष्ट पार्टी (माले) का महासचिव सिपी मैनालीले प्रधानमन्त्री ओली नेतृत्वको वर्तमान सरकार सशक्त बहुमत भएपनि जनताले अपेक्षा गरेबमोजिम काम गर्न नसकेको र असफल भएको आरोप लगाए । उनले भने, “ओली सरकारसँग सशक्त बहुमत छ, तर जनताको अपेक्षाअनुसार सरकारले काम गर्न सकेन । सरकारको काम सन्तोषजनक छैन ।”

प्रतिक्रिया दिनुहोस्