डेढ महिनामा सुनको मूल्य तोलामा १० हजार घट्यो «

डेढ महिनामा सुनको मूल्य तोलामा १० हजार घट्यो

डेढ महिनाको अवधिमा बजारमा सुनको मूल्य तोलामा १० हजार रुपैयाँले घटेको छ । पछिल्लो समय अन्तराष्ट्रिय बजारमा मूल्य घट्दै गएकाले डेढ महिनाको अवधिमा तोलामा १० हजार रुपैयाँ मूल्य घटेको हो । गत साउन २३ मा सुनको मूल्य बढेर एक लाख ३ हजार पाँच सय पुगेको सुनको मूल्य घटेर बिहीबार तोलामा १० हजार चार सय रुपैयाँ घटेर ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
लामो समयदेखि लगातार उकालो लागेको सुनको मूल्य पछिल्लो समय क्रमिक रुपमा घट्न थालेको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुन बिक्रीमा आएकाले मूल्य घट्न गएको महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले जानकारी दिए । अन्तर्राष्ट्रिय बजारमा सुनको बिक्री ह्वात्तै बढेकाले डेढ महिनामा तोलामा १० हजार रुपैयाँ घटेको उनले जानकारी दिए । “सामान्य अवस्थामा सेयरबजारमा घट्दा सुनको मूल्य बढ्ने गर्छ,” उनले भने, “अन्तर्राष्ट्रिय बजारमा मार्जिन कल आएपछि यसपाली सेयर बजार घट्दा पनि सुनको मूल्य पनि घट्न गएको छ ।”
पछिल्लो समय सुन बिक्री गर्ने धेरै भएकाले मूल्य क्रमिकरुपमा गिरावट आएकाले आगामी दिनमा अझै घट्ने देखिएको शाक्यले जानकारी दिए । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य घट्दै गएपछि त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा पर्न गएको हो । कोराना भाइरसको कारणले लगातार बढेको सुनको मूल्य पछिल्लो अन्तर्राष्ट्रिय बजारमा बिक्री बढी हुन थालेपछि क्रमिक रुपमा घट्न थालेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । साताको पहिलो दिन आइतबार प्रतितोला ९७ हजार रुपैयाँ रहेको सुनको मूल्य बिहीबारसम्म तोलामा ३ हजार ९ सय घटेर ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ । सोमबार सामान्य मूल्य बढेर ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार घटेर ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै बुधबार घटेर ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ । सुनको मूल्य घटेर ९० हजारसम्म आउने उनको अनुमान छ ।
गत चैत महिना लकडाउनले बजार बन्द हुँदा प्रतितोला ७५ हजार रहेको सुनको मूल्य ३ महिनापछि बजार खुल्दा तोलामा १० हजार बढेर ८५ पुगेको थियो । त्यसपछि क्रमिकरुपमा बढ्दै गएर २३ साउनमा मूल्य बढेर एक लाख ३ हजार पाँच सय रुपैयाँ पुगेको थियो । त्यसबेला अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंश २ हजार ७८ डलर पुगेकोमा अहिले घटेर १ हजार ८ सय ८४ मा झरेको छ । त्यसपछि क्रमिक रुपमा घट्न थालेको सुनको मूल्य अहिले ९३ हजार १ सय रुपैयाँमा झरेको छ । अहिले सुनको मूल्य घटेपनि कारोबार भने बढ्न सकेको छैन । रुसमा कोरोना भाइरसविरुद्धको खोप तयार भएसँगै मूल्य घट्न थालेको व्यवसायीको भनाई छ ।
लगातार मूल्य बढेपछि सुनको कारोबार भने शुन्य अवस्थामा रहेको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा केही समय सुनको मूल्यमा उतारचढाव आएको थियो । कोराना भाइरसको प्रभावले गर्दा सुनको मूल्य निरन्तर बढ्दै गएपछि कारोबार हुन नसकेको व्यवसायीको भनाई छ । व्यवसायीका अनुसार मूल्य बढेसँगै बजारमा सुनको कारोबार ठप्प अवस्थामा रहेको छ । यो वर्ष तिजमा मूल्य बढेकाले कारोबार हुन नसकेको व्यवसायीको भनाई छ । चाडपर्वको समयमा सामान्य अवस्थामा दैनिक ३० देखि ४० केजी सुनको बिक्री भएकोमा यो वर्ष कारोबार न्यून मात्र भएको व्यवसायीको भनाई छ । मूल्य बढेकाले कारोबार नहुँदा व्यवसाय नै धरापमा परेको व्यवसायीको भनाई छ । कोराना भाइरसको प्रभावले गर्दा उपभोक्तासँग आम्दानी नहुँदा यतिबेला सुन खरिद गर्ने भन्दा पनि बिक्री गरेर खर्च धान्ने गरेका छन् । सुनको कारोबार नहुँदा व्यवसाय संकटमा पर्नका साथै धेरै जनाको रोजगारी समेत गुमेको व्यवसायीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्