सिन्धुपाल्चोक–काठमाडौं जोड्ने छोटो दूरीको सडक निर्माण सुरु «

सिन्धुपाल्चोक–काठमाडौं जोड्ने छोटो दूरीको सडक निर्माण सुरु


सिन्धुपाल्चोकको सदरमुकाम चौताराबाट काठमाडौं जोड्ने छोटो दूरीको सडक स्तरोन्नतिको काम सुरु गरिएको छ । चौतारा बसपार्क–सिपाघाट–कात्तिके–काठमाडौं अन्तर्गतको झ्याँडी–देउराली सडक खण्ड स्तरोन्नति कार्यको शुभारम्भ गरिएको हो ।
बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँल र सामाजिक विकासमन्त्री युवराज दुलालले सडकको उद्घाटन गरे । मन्त्री दुलालले डोजरले सडक खन्दै र फुयाँलले सावेलले बाटो खनेर सडक स्तरोन्नतिको कामको उद्घाटन गरेका हुन् । चौतारा बसपार्क–सिपाघाट–कात्तिके–काठमाडौं सडकको यो दोस्रो खण्ड हो । चौतारादेखि झ्याडी खोलासम्मको पहिलो खण्डको ९.४ किलोमिटर स्तरोन्नतिको काम भइरहेको छ ।
दोस्रो खण्डको रूपमा चौतारा साँगाचोकगढी नगरपालिका–७ स्थित झ्याडी खोलादेखि इन्द्रावती गाउँपालिका–७ स्थित देउरालीसम्मको करिब १२.६५० किलोमिटर स्तरोन्नति गरिन लागिएको हो । यो सडक प्रदेश सरकारबाट बहुवर्षीय गुरुयोजना सुरु भई दुई वर्षभित्र निर्माणकार्य सम्पन्न गर्ने लक्ष्य रहेको पूर्वाधार विकास कार्यालयका प्रमुख सिनियर डिभिजन इन्जिजियर राजु श्रेष्ठले बताए ।
सडक निर्माणको ठेक्का श्री प्यासिफिक इन्जिनियरिङ कम्पनी प्रालि काठमाडौंले पाएको छ । यो सडक स्तरोन्नतिका लागि ४६ करोड ७३ लाख ४२ हजार ९ सय लागत लाग्ने अनुमान गरिएको थियो । सोमध्ये प्यासिफिक इन्जिनियरिङ कम्पनीले २९ करोड ४९ लाख ५९ हजार नौ सयमा ठेक्का सम्झौता गरेको हो । २०७९ असोज २७ गते यसको निर्माणकार्य सम्पन्न गर्नुपर्नेछ ।
मुख्य गरी सडक चौडा गर्ने, नाली निर्माण गर्ने तथा कालोपत्रे स्तरसम्म स्तरोन्नति काम हुने श्रेष्ठले जानकारी दिए । “कुल ८ मिटर चौडा रहने सडकमा ६.२५ मिटर अस्फाल्ट कंक्रिटबाट कालोपत्रे गरिनेछ,” सिनियर डिभिजन इन्जिजियर श्रेष्ठले भने, “एक मिटर नाली रहने सडकमा चार सेन्टिमिटर बाक्लो कालोपत्रे हुनेछ ।” यो सडक निर्माणमा जग्गाको मुआब्जा दिइने छैन । जग्गालाई स्वेच्छिक दानबाट सडक निर्माण हुन लागेको हो ।
यो सडक हुँदै सदरमुकाम चौताराबाट सबैभन्दा छोटो समयमा काठमाडौं पुग्न सकिन्छ । यो सडक निर्माण भएर सञ्चालनमा आएमा चौतारा काठमाडौंको दूरी ५६ किलोमिटर मात्रै हुने उनले बताए । अहिले चालू रहेको सडक चौताराबाट काठमाडौं पुग्न ८५ किलोमिटरको यात्रा तय गर्नुपर्छ । निर्माण सुरुआत गरिएको सडकलाई प्रदेश सरकारले रणनैतिक महत्वको आयोजनाको रूपमा हेरेको छ ।

प्रतिक्रिया दिनुहोस्