विद्युत्को समस्या सम्बोधन गर्न ऊर्जामन्त्रीको निर्देशन «

विद्युत्को समस्या सम्बोधन गर्न ऊर्जामन्त्रीको निर्देशन


ऊर्जा, जलस्रोत तथा सिंँचाइमन्त्री वर्षमान पुनले पछिल्लो केही दिनयता खराब मौसमका कारण विद्युत् वितरण प्रणालीमा उत्पन्न समस्या तत्काल समाधान गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् ।
प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालासहित आधा दर्जन बढी उपकार्यकारी निर्देशकहरूलाई बिहीबार मन्त्रालयमा बोलाएर मन्त्री पुनले यस्तो निर्देशन दिएका हुन् । पल्लिो समयमा विद्युत् आपूर्तिमा समस्या आएपछि उपभोक्ताहरूबाट गुनासो बढ्दै गएको छ । मन्त्री पुनले निमित्त कार्यकारी निर्देशक कोइरालालाई पूर्णअधिकार प्रयोग गरी काम गर्न र ठूलै समस्या आए तत्काल आफूलाई जानकारी दिएर समस्या समाधानका लागि सक्रिय बन्न निर्देशन दिए । “जनता हाम्रा ग्राहक हुन्, ग्राहकका गुनासा तत्काल सम्बोधन गर्नुस्,” मन्त्री पुनले भने, “नियमित विद्युत् सेवा पाइरहेका जनताले सेवा अनियमित हुँदा गरेको गु्नासालाई नकारात्मक रुपमा नलिऔं, नियमित विद्युत् पाउनु जनताको अधिकार हो भन्ने ख्याल गरेर काम गरौं, छिटोभन्दा छिटो गुनासा सम्बोधन गरौं ।”
मन्त्री पुनले हाल प्राधिकरण कार्यकारी निर्देशकविहीन रहेको विषयसँग जोडेर केही मानिसले सरकार, मन्त्रालय र प्राधिकरणको नियतमाथि प्रश्न उठाइरहेको भन्दै ती प्रश्नको व्यवहारबाटै जवाफ दिनुपर्नेमा जोड दिए । “समय परिस्थिति र घटनाक्रमका कारण पनि सरकार, मन्त्रालय र प्राधिकरणमाथि कतिपय स्वाभाविक, कतिपय अस्वाभाविक र कतिपय नियोजित गुनासा आएका छन्,” मन्त्री पुनले भने, “जायज र स्वाभाविक गुनासोलाई सम्मान गर्दै आफ्नो काम इमान्दारीपूर्वक गरौं, नियोजित आशंका आफैं हटेर जान्छन् ।”
उनले कोभिड–१९ का कारण विद्यालय र विश्वविद्यालयहरूको पठनपाठन अनलाइन कक्षामार्फत भइरहेकाले पनि विद्युत् अनियमित हुँदा विद्यार्थीको पढाइमा थप प्रतिकूल असर पर्नसक्नेतर्फ गम्भीर हुन आग्रह गरे ।
मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले नियमित विद्युत् पाइरहेका जनता समस्यामा पर्दा शंकाको आँखाले हेर्नु स्वाभाविक भएको बताउँदै प्राधिकरणका समस्या समाधान गरी जनतालाई नियमित विद्युत् उपलब्ध गराउने काममा मन्त्रालय सधैं गम्भीर रहेको स्पष्ट बताए ।
प्राधिकरणका निमित्त कार्यकारी निर्देशक कोइरालाले खराब मौसमका कारण समस्या आएको भन्दै मौसममा सुधार आएसँगै धेरै हदसम्म समस्या आफैं समाधान भएर जाने बताए । प्राधिकरणका कर्मचारीले रातदिन नभनी समस्या हटाउँदै विद्युत् सुचारु गरिरहेको उनको भनाइ थियो । “ललितपुरको खोकना र काठमाडौंको ग्राण्डी अस्पताल क्षेत्रमा हाम्रा कर्मचारीले रातभरि काम गरेर अवरुद्ध विद्युत् सुचारु गराए,” कोइरालाले भने, “तौलिहवामा विद्युत् सुचारु गराएर फर्कंदा वितरण केन्द्रका प्रमुखसहित हाम्रा चार कर्मचारी र दुई सर्वसाधारणलाई गाडीसहित खोलाले बगाउनेसम्मको दुःखद घटना भयो ।”

प्रतिक्रिया दिनुहोस्