वैकल्पिक पेशामा होमस्टे व्यवसायी

लमजुङ-कोरोना भाइरस संक्रमण जोखिमसँगै पर्यटकहरूको आगमन नभएपछि लमजुङका पर्यटन व्यवसायीहरू वैकल्पिक पेशामा लागिपरेका छन् । पर्यटक आगमन शून्य भएपछि जिल्लाको मस्र्याङ्दी गाउँपालिका अन्तर्गत रक गार्डेन होमस्टे खानीगाउँका होमस्टे व्यवसायीहरू कृषि तथा अन्य घरेलु उत्पादनलाई जोड दिएका हुन् ।
कोभिड–१९ को जोखिमसँगै पर्यटन व्यवसाय प्रभावित भएपछि खानीगाउँका होमस्टे व्यवसायीहरू वैकल्पिक पेशाको सोच बनाएका हुन् । संक्रमणकालीन अवस्थामा पनि आम्दानीको विकल्प खोज्दै सामूहिक रूपमा व्यावसायिक तरकारीखेती सुरु गरेको स्थानीय होमस्टे व्यवसायी सीता गुरुङले बताइन् । अन्य समय पाहुनाहरूको स्वागत र सत्कारमा व्यस्त हुने स्थानीय होमस्टे व्यवसायीहरू हाल कृषि उत्पादनसँगै घरेलु उद्यममा पनि व्यस्त भएको गुरुङको भनाइ छ । “लामो समय पर्यटक नआएपछि के गरौं र कसो गरौं भयो,” गुरुङले भनिन्, “अब जीविकोपार्जन मात्रै नभई व्यावसायिक रूपमै तरकारी उत्पादन गर्ने सोच बनाएर टमाटर लगाएका हौँ ।”
स्थानीय महिलाको सहभागितामा दिदीबहिनी कृषि मोडल फर्म दर्ता गरी व्यावसायिक गोलभेडाखेती गरेका हुन् । कृषि ज्ञान केन्द्र लमजुङको सहयोगमा महिलाहरूले ६ वटा टनेल बनाई गोलभेडाखेती गरेका छन् । सरकारी निकायबाट आधारभूत संरचना निर्माणमा सहयोग पाएकाले यो पेशालाई निरन्तरता दिने उनीहरूले बताएका छन् ।
सरकारले पर्यटन वर्ष २०२० घोषणा गरिरहँदा स्थानीय पर्यटन व्यवसायी पनि त्यति नै उत्साहित भएका थिए । तर कोभिड–१९ कै प्रभावले गाउँमा अहिले बाह्यसँगै आन्तरिक पर्यटकको समेत आगमन शून्य छ । संक्रमणकालीन अवस्था सकिएसँगै भविष्यमा पर्यटन व्यवसाय फस्टाउने अपेक्षासहित तयारी गरेको स्थानीय पर्यटन व्यवसायी कामसार्की गुरुङको भनाइ छ । कृषिलाई पनि पर्यटनसँग जोड्दै जीविकोपार्जन मात्रै नभई व्यावसायिक रूपमै अघि बढ्ने लक्ष्यका साथ काम सुरु गरेको गुरुङले बताए । “प्रसिद्ध अन्नपूर्ण पदमार्ग भएकोले संक्रमणकालिन समय सकिएपछि पर्यटकहरूको आगमन फेरि बढ्ने छ,” गुरुङले भने, “अब पर्यटकका लागि खुवाउने तरकारी बाहिरबाट ल्याउनु पर्दैन, बरु हाम्रो उत्पादन मनाङसम्म पु-याउँछौँ ।”
स्थानीयहरूले गत आर्थिक वर्षको अन्त्यतिर मात्रै व्यावसायिक तरकारीखेती गर्ने सोच बनाएका हुन् । व्यावसायिक तरकारीखेती गर्ने स्थानीयको प्रस्तावलाई विश्वास गरेर सजिलो नभए पनि हाल उत्पादन र लगनशिलता देख्दा निकै सन्तुष्टि मिलेको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ । “सुरुमा अनुदान माग्न आउँदा काम गर्छन् जस्तो लागेको थिएन,” कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मदन रेग्मीले भने, “अहिले उहाँहरूको काम देख्दा निकै सन्तोशजनक पाएका छौँ, अब मिलेसम्म थप सहयोग गर्न विश्वस्त भएका छौँ ।”
स्थानीयले करिब पाँच लाखभन्दा बढी लगानी गरेको बताएका छन् । सुरुमा संरचना निर्माणका क्रममा धेरै रकम खर्च भए पनि अब उत्पादनसँगै आम्दानीलाई बढवा दिने कृषकहरूले बताएका छन् । कोभिड–१९ को संक्रमण सकिएसँगै आफूहरूको व्यवसायले निरन्तरता र थप सार्थकता पाउने स्थानीय पर्यटन व्यवसायी विर्ख गुरुङले बताए ।
व्यावसायिक कृषिसँगै उनीहरूले अर्गानिक खेतीलाई पनि बढवा दिने बताएका छन् । अब सिजन सुरु भएसँगै हिउँदे तरकारीको तयारी सुरु गरिएको स्थानीय मैतकाशी गुरुङले बताइन् । गाउँमै उत्पादित अर्गानिक तरकारीले आन्तरिक तथा बाह्य पर्यटकलाई थप आकर्षण गर्ने गुरुङको विश्वास छ ।
स्थानीय महिलाहरू व्यावसायिक तरकारीसँगै परम्परागत राडीपाखी, झोलालगायतका उत्पादनमा पनि लागेका छन् । फुर्सदको समयलाई सदुपयोग गर्दै गाउँमा आएका पाहुनालाई उपहार दिन मिल्ने गरी स्थानीयहरू परम्परागत उत्पादनतर्फ लागिपरेका हुन् । उनीहरूले भेडाको उन, अल्लोलगायतका कच्चा पदार्थबाट बन्ने परम्परागत राडी, पाखी, झोलालगायतका सामग्री निर्माण गरेको बताएका छन् ।
खानीगाउँ रक गार्डेन होमस्टेसँगै लकडाउनका कारण जिल्लाका पर्यटकीय घलेगाउँ, काउलेपानी, राइनास, सिउरुङ, मस्र्याङदीको छापा, बेसीसहरकै खासुर सामुदायिक होमस्टे प्रायः सुनसान बनेका छन् । कतिपय पर्यटकीय गाउँमा त लकडाउनका बेला पर्यटक आगमन निषेधै गरिएको छ । सोबाहेक लकडाउनका कारण विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्ग पनि सुनसान बनेको छ ।