पर्यटन प्रवद्र्धन गर्न हप्तामा दुई दिन सार्वजनिक बिदाको प्रस्ताव «

पर्यटन प्रवद्र्धन गर्न हप्तामा दुई दिन सार्वजनिक बिदाको प्रस्ताव


आन्तरिक पर्यटन प्रवद्र्धनका लागि पर्यटन मन्त्रालयले साताको दुई दिन सार्वजनिक बिदा दिने तयारी गरेको छ ।
पर्यटनमन्त्री योगेश भट्टराईको संयोजकत्वमा बिहीबार बसेको मन्त्रिस्तरीय बैठकले दुई दिन बिदाका लागि अध्ययन कार्यदल बनाउने निर्णय गरेको छ । मन्त्रालयका अनुसार कार्यदलले प्रस्ताव तयार गरेलगत्तै मन्त्रिपरिषदमा पेश गरिने छ । मन्त्रालयका सहसचिव तथा पर्यटन महाशाखाका प्रमुख प्रदीपकुमार कोइरालाको संयोजकत्वमा गठित कार्यदलमा पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मी सदस्य छन् । समितिमा अर्थ, गृह र सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि समेत राखेर कार्यदलले अध्ययन गर्नेछ ।
बैठकमा पशुपति मन्दिर र लुम्बिनी स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर खोल्ने प्रस्ताव सिसीएमसीमा पेश गर्ने निर्णय गरेको छ । बंगलादेश, इन्डोनेसिया, रुस, कोरिया र फिनल्याण्डलगायत मुलुकसँग भएको दुईपक्षीय हवाई सम्झौताहरु असोज महिनाभित्रै तयार गरेर मन्त्रिपरिषदमा पेश गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले एक साताभित्र हवाई इन्धन मूल्य पुनरावलोकन तथा हवाई भाडा सम्बन्धमा ठोस प्रस्ताव तयार गरी पेश गर्न हवाई महाशाखा र नेपाल नागरिक उड्डयन प्राधिकरणलाईं निर्देशन समेत दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्