नौ वर्षमा बाढीपहिरोबाट साढे १७ अर्बको क्षति

मुलुकमा बाढीपहिरोको क्षति बर्सेनि बढ्दो क्रममा छ । स्याङ्जाका दुई स्थानमा गएको बाढीपहिरोबाट बिहीबार १० जनाको मृत्यु भएको छ । यसअघि सिन्धुपाल्चोक, बागलुङ, अछामलगायतका जिल्लामा गएको पहिरोले दर्जनौंको मृत्यु भए पनि भौतिक क्षतिको एकीन तथ्यांक आउन सकेको छैन । यता, सरकारले भने सिन्धुपाल्चोक र बागलुङलाई असोज मसान्तसम्म लागू हुनेगरी विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
बाढीपहिरोबाट भएको क्षतिको चालू आवको एकीन विवरण संकलन नभइसके पनि गत नौ वर्षमा मुलुकभर बाढीबाट करिब १६ अर्ब ६५ लाख बराबरको क्षति पुगेको छ । वि. सं. २०६८ देखि गत असारसम्मको अवधिमा बाढीपहिरोले भौतिक संरचना, सडक, पुल, घर, गोठ, भत्काउँदा त्यसको अनुमानित क्षति साढे १६ अर्ब नाघेको हो । राष्ट्रिय विपद्, जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा प्रकाशित ‘मनसुन पूर्वतयारी र प्रतिकार्य कार्ययोजना २०७७’ अनुसार नौ वर्षमा देशभर बाढीले ८ सय जनाको ज्यान लिएको छ भने ५ सयभन्दा बढी बेपत्ता भएका छन् । यस हिसाबले बाढीले बर्सेनि सरदर १५० जनाको ज्यान लिएको कार्ययोजनामा उल्लेख छ । कार्ययोजनाअनुसार बाढीका कारण धेरै भौतिक संरचनामा क्षति पुगेको छ ।
गत वर्ष मनसुनमा औसतमात्र पानी परे पनि बाढीले भने ७३ जनाको ज्यान गएको थियो । जसमा १ अर्ब रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको कार्ययोजनामा उल्लेख छ । यो वर्ष भने पहिरोको तुलानामा बाढीबाट हुने क्षति न्यून देखिएको छ । गृह मन्त्रालयको तथ्यांकअनुसार गत जेठ ३० गतेदेखि २९ भदौसम्म मुलुकभर बाढीबाट ३६ जानले ज्यान गुमाएका छन् भने ३५ जना बेपत्ता र ९ जाना घाइते भएका छन् । गृह मन्त्रालयको तथ्यांकअनुसार यो वर्ष बाढीबाट भएको आर्थिक क्षतिको विवरण भने संकलन हुन बाँकी छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार अझै पनि पानी पर्ने क्रम जारी छ र मुलुकभर बाढीको जोखिम बढेकाले सतर्क हुन जरुरी छ । यो वर्ष औसतभन्दा बढी वर्षा भइरहेको छ । बाढीको जोखिमबाट बच्न जल तथा मौसम विज्ञान विभागले बाढीको सम्भावित क्षेत्रका सर्वसाधरणलाई पूर्वसुचना प्रवाह गरिरहेको छ । विभागका अनुसार असोज ६ र ७ गते रातिबाट देशका सबै नदीमा बहाव बढेको र असोज ८, ९ र १० गते दशैभरका नदीमा पानीको बहाव उच्च रहने भएकाले असोज ११ गतेसम्म नदी तटीय क्षेत्रका क्रियाकलाप नगर्न वा गर्नुपरेमा अति उच्च सतर्कता अपनाउनु आवश्यक छ ।
बाढी रोक्न नसके पनि बाढीबाट हुने क्षति न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली प्रभावकारी देखिएको विभागका महानिर्देशक सरजुकुमार वैद्य बताउँछन् । “अहिले मुलुकमा २ सय जलसम्बन्धी स्टेसन र १ सय ४ स्वचालित बाढी पूर्वानुमान स्टेसन छन्,” उनले भने, “१० वर्षअघि सयौं मान्छे बाढीबाट मर्थे, तर अहिले पूर्वसूचनाका कारण समयमा नै मानिसले बाढीसम्बन्धी पूर्वसूचना पाउने भएकाले सुरक्षित ठाउँमा जान्छन्, धनजनको क्षति कम भएको छ ।” उनले अहिले मनसुन सिजनमा बाढीबाट कम क्षति भएको र धेरै न्यूनिकरण गर्न सफल भएको दावी गरे ।
विपतजन्य पूर्वतयारीमा लगानी बढाउन सके बाढीपहिरो जस्ता प्राकृतिक विपतबाट हुने आर्थिक तथा मानविय क्षति न्यून गर्न सकिने बताउँछन्, जलवायु तथा प्राकृतिक विपत व्यवस्थापनविद् डा. धर्मराज उप्रेती । “विपतको पूर्वतयारीमा लगानी बढाउन सके विपतपछिको क्षति कम हुने र विपतपछि गर्नुपर्ने राज्यको लगानी पनि कम हुन्छ , जस्तै १० हजार रुपैयाँ पूर्वतयारीका कार्यक्रममा खर्च गर्न सके विपतपछि गर्नुपर्ने करिब १ लाख लगानी बचाउन सकिन्छ ।”