कोरोना महामारीले जापानमा ६० हजार व्यक्ति बेरोजगार «

कोरोना महामारीले जापानमा ६० हजार व्यक्ति बेरोजगार

टोकियो, जापान -जापानमा कोरोना संक्रमण सुरुभए यता हालसम्म ६० हजार बढी व्यक्ति बेरोजगार बनेका छन् । स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले गरेको एक सर्वेक्षणमा जापानमा मार्च महिना यता यतिधेरै व्यक्तिले रोजगार गुमाएका हुन् । सरकारले हेल्लोवर्क र अन्य सरकारी कार्यालयहरु मार्फत संकलन गरेको यो तथ्यांक जापानभरको भएको बताएको छ । सरकारले रोजगार गुमाएका व्यक्तिहरुलाई नयाँ रोजगार खोज्न तथा आवश्यक अन्य सहयोग गरिरहेको जनाएको छ । यसरी रोजगार गुमाउनेहरुमा कम्पनी बन्द भएर तथा रोजगार गर्ने कम्पनीले व्यापार घटेको कारण काममा राख्न नसकेको जनाएको पाईएको सरकारी अधिकारीहरुले बताएका छन् । यस बाहेक पार्ट टाईम काम गर्ने कामदारहरुको काम घटेको तथा गुमाएकाहरुको ठूलो संख्या यसमा समावेश नभएको बताईएको छ । जनवरी अन्त्यदेखी सेप्टेम्बर २३ सम्ममा जापानभर गरेर ६० हजार ४ सय ३९ व्यक्तिले रोजगार गुमाएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । यो तथ्यांक देशभरको जापान श्रम कार्यालय र हेल्लोवर्क मार्फत संकलन गरिएको मन्त्रालयले जनाएको छ । हल्लोवर्क कार्यालयहरुमा रोजगार गुमाएका तथा समस्याबारे जानकारी लिन आएकाहरुको विवरण हेर्दा रोजगार गुमाउनेको संख्या संकलित तथ्यांक भन्दा धेरै हुनसक्ने मन्त्रालयका अधिकारीहरुले बताएका छन् । नयाँ कोरोना भाइरसको कारण आफ्नो जागिर गुमाउने व्यक्तिको संख्या मे महिनामा १० हजार पुगेको थियो । कोरोना महामारी बढ्दै जाँदा त्यो संख्या जुलाईमा ३० हजार र गत महिना ५० हजार नाघेको थियो । कोभिड १९ भाइरसको महामारी घटेपनी समाधान नभएका कारण रोजगार गुमाउनेको संख्या आगामी महिना थप बढ्न सक्ने सरकारी अनुमान छ । स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले रोजगार समायोजन अनुदान तथा अन्य माध्यमहरुको प्रयोग गरी कम्पनीहरुलाई कामदारहरुको रोजगार कायम राख्न अनुरोध गर्दै रोजगारका लागि सहयोग प्रबर्द्धन गर्ने नीति अपनाउँदै आएको जनाएको छ ।

गोकर्ण अधिकारी

प्रतिक्रिया दिनुहोस्