साहसिक पर्यटनमा थपिँदै बन्जी र जिपलाइन «

साहसिक पर्यटनमा थपिँदै बन्जी र जिपलाइन

नेपालको साहसिक पर्यटन विकासमा पछिल्लो समय विभिन्न गतिविधि विकास हुँदै आएका छन् । कोभिड–१९ को महामारीबाट पर्यटन आगमन र आन्तरिक पर्यटनको चहलपहल नहुँदा सबैजसो पर्यटकीय गन्तव्यहरू पूर्वाधार विकासमा लागिपरेका छन् । पर्यटन क्षेत्रका व्यवसायी भएका पूर्वाधारको संरचना निर्माणमा लागिपरेका छन् भने केही पर्यटकीय सम्भावना देखेर लगानी विस्तार र पूर्वाधार निर्माणमा जुटेको अवस्था छ । कोभिड–१९ को असर पर्यटन क्षेत्रमा परेसँगै धेरै खाली समयको सदुपयोग गर्दै व्यवसायीहरूले भएका पूर्वाधारको विस्तार र स्तरोन्नति गरेको अवस्था छ भने भावी दिनमा नेपालमा पर्यटनको सम्भावना देखेर नयाँ पर्यटकीय गन्तव्य विकास पनि भइरहेको छ । विगतमा माउन्टेन साइक्लिङ, ¥याफ्टिङ, क्यानोइङ, प्याराग्लाइडिङ र सीमित बन्जीमा मात्र सीमित नेपालको साहसिक पर्यटन क्षेत्र अब भने थप जिपलाइन, बन्जीमा समेत विस्तार हुँदै गएको छ । पछिल्लो समय युवादेखि अन्य वर्गको रोजाइमा साहसिक पर्यटन क्षेत्र बढी रुचाउने भएसँगै यस क्षेत्रका लगानीको मात्र थपिँदो मात्रामा रहेको छ । पछिल्लो समयमा नेपालको साहसिक पर्यटन क्षेत्र जिपलाइन, बन्जीका बारेमा केन्द्रित रहेर यस क्षेत्रमा लगानी विस्तार गरेका व्यवसायीहरूसँग कारोबारकर्मी दीपेन्द्र थापाले गरेको कुराकानी :

एड्भेन्चर हबमा परिणत हुँदै कुश्मा
राजु कार्की
अध्यक्ष, द क्लिफ रिसोर्ट

पोखराबाट ५७ किलोमिटरमा रहेको बागलुङको बलेवामा २३ रोपनी क्षेत्रफलमा ‘द क्लिफ रिसोर्ट’ रहेको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई साहसिक पर्यटनमा मनोरञ्जन प्रदान गर्ने लक्ष्यका साथ स्वदेशमा नै विदेशी सुविधासहितको बन्जी, स्विङ र स्काई साइक्लिङ (एड्भेन्चर हब) एकै रिसोर्टमा दिन योजनाअनुरूप निर्माण गरेका हौं, जसले गर्दा स्वदेशमा नै पर्यटन गतिविधि बढाउने विश्वास लिएका छौं । नेपालीहरूले अर्बौं रुपैयाँ विदेशी भ्रमणमा खर्चिएको अवस्थामा हामीले निर्माण गरेको पर्यटकीय गन्तव्यले गर्दा केही हदसम्म भए पनि स्वदेशमा नै घुम्ने वातावरण विकास भएको छ । नेपालमा नै एड्भेन्चर हबका रूपमा विकास गर्ने गरी काम गरिरहेका छौं । हामीले निर्माण गरेको बन्जीका लागि निर्माण गरिएको पुल डिजाइन नेपालको मात्र नभई एसियाकै नमुना रहेको छ । बन्जी दोस्रो विश्वको अग्लो हो । पर्वत र बागलुङ अग्ला झोलुंगे पुलका जिल्ला भनेर प्रख्यात छन् । पोखराबाट ५५ किमि, अन्नपूर्ण बेसक्याम्पको गेटवे नयाँ पुलबाट १५ किमि र मुस्ताङ जाने बाटैमा पर्छ । सम्पूर्ण पर्यटन गतिविधि विकास गर्न र पर्यटकलाई एक थलोमा मनोरञ्जन प्रदान गर्न २०७३ सालदेखि ‘द क्लिफ’ लागिपरेको छ । १० जना समूहको २८ करोड रुपैयाँको संयुक्त आयोजनामा निर्माण गरिएको कम्पनीले पुल बनाएर बन्जी, स्विङ र स्काई साइक्लिङसँगै रिसोर्टको निर्माण कार्य लकडाउनकै अवधिमा पूरा भएको हो । भूकम्प, नाकाबन्दी र कोभिड–१९ का कारण करिब ८ करोड थप लागत लागेको छ । हामीले निर्माण कार्य पूरा गरेका भए पनि औपचारिक उद्घाटन गर्न बाँकी छ । परियोजनामा प्रभु बैंकको समेत ऋण सहयोग रहेको छ ।
कालिगण्डकी नदीको खोंचमा पर्वत सदरमुकाम कुश्मा र बागलुङको बलेवा जोड्ने ५ सय २५ मिटर लामो झोलुंगे पुल जम्प गर्ने प्लेटफर्मको निर्माण सकिएको छ । स्वीङ र स्काई साइक्लिङ विश्वकै सबैभन्दा अग्लो बनेको छ । लकडाउन अवधिमै गुलेली शैलीको लठ्ठे पिङसमेत निर्माण गरेका छौं । टेस्ट जम्पसमेत पूरा भएको तर परिस्थिति समान्य नभएकाले उद्घाटनको कार्य पूरा गर्न पाएका छैनन् । खोलादेखि पुलको उचाइ २ सय २८ मिटर अर्थात् ७ सय ४८ फिट छ । पुलको डिजाइन आरएनडी सेन्टर प्रालिका आरके मल्लिकले गरेका हुन् । यो परियोजानबाट पूर्ण रूपमा ७० भन्दा बढीले प्रत्यक्ष रोजगारी पाउनेछन् । बाह्य पर्यटकलाई एडभेन्चर हबबाट सेवा प्रदान गर्ने र आन्तरिक पर्यटकलाई भने पारिवारिक मनोरञ्जन दिने तयारी गरेका छौं । कोभिड–१९ को महामारी अनिश्चत रहेकाले आन्तरिक पर्यटनलाई नै जोड दिनुपर्नेछ । यहाँ निर्माण गरिएको रिसोर्टको २१ वटा सफारी टेन्टमा ७० जना अट्छन् । औपचारिक रूपमा परियोजनाको काम पूरा भएको भए पनि हाल हामी फिनिसिङको काम गरिरहेका छौं । नेपालको साहसिक पर्यटनको बजार करिब ७५ प्रतिशतसम्म आन्तरिक पर्यटक र विदेशमा रहेका नेपाली नागरिकले नै धानेको अवस्था छ । नेपालको साहसिक पर्यटनको सम्भावना नरहेको भने होइन, तर अहिले पर्ख र हेरको स्थितिमा रहेका छौं । विश्वकै अग्लो र लामो स्काई साइक्लिङ पनि रहेको छ । विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालनको तयारीमा रहेको द क्लिफ प्रालिले आफ्नै रिसोर्ट परिसरमा विश्वकै अग्लो र लामो स्काई साइक्लिङ बनाएका हौं । स्टिल कोर केबल प्रयोग गरी स्काई साइक्लिङ तयार गरिएको हो । स्काई साइक्लिङको उचाइ २ सय २८ मिटर छ भने लम्बाइ ३ सय मिटर छ । दुईतर्फी ३ सय मिटर लम्बाइ रहेको रुटमा एकपटकमा दुई जनाले साइक्लिङ गर्न मिल्नेछ ।
विश्वकै दोस्रो अग्लो बन्जी, विश्वकै अग्लो स्विङ, गुलेली शैलीको नेपालकै नमुना पिङसमेत निर्माण गरेका हौं । यो क्षेत्रलाई एड्भेन्चर हबका रूपमा विकास गर्ने योजना भएको र भविष्यमा अन्य गतिविधिसमेत थपिनेछ । गुलेली शैलीको लठ्ठे पिङको उचाइ नदीबाट २ सय ४८ मिटर छ । जमिनबाट १२ मिटर अग्लो बनाइएको पिङ नेपालमा अहिलेसम्म बनाइएका पिङभन्दा फरक छ ।

पोखरामा साहसिक पर्यटनको विकास
अध्यक्ष
सन्तोष भट्टराई
बन्जी नेपाल एड्भेन्चर्स

साहसिक पर्यटनको विकासमा नेपाललाई नयाँ आकर्षक गन्तव्यको विकास गरेर आन्तरिक र बाह्य पयर्यटकलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यसहित बन्जी नेपाल एड्भेन्चर स्थापना गरिएको हो । पोखरामा पाँच रोपनी क्षेत्रफलमा विकास गर्न लागिएको यो पर्यटकीय गन्तव्यमा मलगायत नौ जना साथीहरूको संयुक्त लगानीमा बन्जी नेपाल एड्भेन्चर्स सञ्चालनमा आउन लागेको हो ।
एड्भेन्चरमा रमाउने लत बसेका आन्तरिक पर्यटनहरूलाई नै प्राथमिकताका साथ यो योजना अगाडि बढेको हो । नेपालको पर्यटकीय राजधानी पोखरामा नयाँ बन्जी निर्माणमा हामी विगत डेढ वर्षबाट जुटिरहेका छौं । बन्जी नेपाल एड्भेन्चर्स प्रालि कम्पनीको माध्यमबाट पोखरा–१७, महतगौंडा (माउन्टेन म्युजियमको आडैमा) बनाइरहेको बन्जी लेकसाइडबाट जम्मा २ किलोमिटर दूरीमा रहेको छ । कोभिड–१९ को बीचमा पनि निर्माण गति पाएको भए पनि केही प्राभाव भने परेको छ । हाललाई हामीले टावर निर्माणको पूरा गरेका छौं । आउने मंसिरबाट औपचारिक उद्घाटनमार्फत सञ्चालनमा ल्याउने गरी आन्तरिक गृहकार्यमा जुटेका छौं । कोभिड–१९ का कारण लगानी अझ बढेर गएको अवस्था छ । कुल लगानी १० करोड रुपैयाँमा निर्माण भएको यहाँका पूर्वाधारमा बन्जी, टावर क्लाइम्बिङ, पिङ, बन्जी परिसरमै कार्यालयसँगै रेस्टुराँसमेत बनेको छ । साथै, अन्य मनोरञ्जन गतिविधिका साधनहरू समेत सञ्चालनमा ल्याउने योजना रहेको छ । क्यान्टिलिभर ब्रिजको डिजाइनमा बनाइएको ३५ मिटर अग्लो टावरको फेदबाट बन्जी जम्पका लागि ५५ मिटर लामो प्लेटफर्म निर्माण गरिएको छ । जुन एसियाको तेस्रो अग्लो बन्जीमा पर्छ । टावर क्लाइम्बिङ भने उचाइका हिसाबले एसियाकै पहिलो पर्यटकीय पूर्वाधार हो । हामीले पहिलो प्राथमिकता आन्तरिक पर्यटकलाई नै भरपुर मनोरञ्जन विकास गर्ने लक्ष्य राखेका छौं । सबै उमेर समूहलाई सेवा र मनोरञ्जन प्रदान गर्ने गरी पर्यटन गतिविधिका काम गरिरहेको अवस्था छ । यहाँ आन्तरिक र बाह्य दुवै पर्यटकले एउटै शुल्कमा यहाँका मनोरञ्जनका गतिविधिमा संलग्न हुन सक्नेछन् । फोटो र भिडियोको काम भने मदन क्रिएसनले गर्नेछ । फोटो र भिडियो सामाजिक सञ्जालमा पोस्ट भएपछि प्रचार–प्रसारमा मद्दत पुग्नेछ । हामी आन्तरिकमा पनि युवा वर्गलाई लक्षित गरेर पूर्वाधारको विकास गरिरहेका छौं, जसले गर्दा आन्तरिक पर्यटन विकासमा पनि ठूलो टेवा पुग्ने विश्वास छ । सेती नदीको खोंचमा बनिरहेको बन्जीको प्लेटफर्म नदीदेखि १ सय २१ मिटर अग्लो छ । बन्जीको निर्माण आईएसो स्ट्यान्डर्डमा निर्माण गरिएको छ । जापानी प्राविधिक सहयोगमा विकास गरिएको यहाँका पूर्वाधारमा न्युजिल्यान्ड र अस्ट्रेलियाबाट इक्युप्मेन्ट आयात गरिएको छ । अन्तर्राष्ट्रियस्तरमा बन्जीको लोकप्रिय नाम ‘गो बञ्जी’ सँगको प्राविधिक समन्वयमा काम गरिएको छ, जसले गर्दा हामीले दिने सेवा–सुविधामा गुणस्तरीय र भरपर्दाे रहेको छ । करिब ५० जनालाई प्रत्यक्ष रोजगारी दिने यो पर्यटकीय गन्तव्यमा बन्जीकै लागि बनाइएको ३५ मिटर अग्लो टावरमा क्लाइम्बिङ गर्न सकिन्छ ।

मकवानपुर गढी जिपलाइन, साथै रिसोर्ट
गोविन्द घिमिरे
अध्यक्ष, गढी भ्यू रिसोर्ट

मकवानपुर गढी गाउँपालिका पाप्लाखर्कमा २ बिघा क्षेत्रफलमा रहेको गढी भ्यू रिसोर्ट प्रालिले आन्तरिक तथा बाह्य पर्यटकलाई मनोरञ्जन प्रदान गर्ने योजनासहित लागिरहेका छौं । ऐतिहासिक मकवानपुर गढी आफैंमा लोकप्रिय गन्तव्य हो । फागुनबाट नै निर्माण कार्य पूरा गरेर गढीकै काखमा निर्माण भएको जिपलाइन औपचारिक उद्घाटनपछि सञ्चालनमा आएको छ । सातदोबाटोबाट ६५ किलोमिटरमा अवस्थित यो गढी भ्यू रिसोर्ट प्रालिले जिपलाइन सञ्चालनमा ल्याएको छ, सँगै स्विमिङ पुलसहितको सुविधाजनक रिसोर्टको निर्माण गरिरहेको छ । हेटौंडाबाट भने १७ किलोमिटरको दूरी पार गरेर यहाँ आउन सकिन्छ । मकवानपुर गढी पृथ्वीनारायण शाहको ससुराली घर दरबार नेपालको ठूलो गढीका रूपमा पहिचान बनाएको ऐतिहासिक गन्तव्य भएकाले पनि पर्यटकको प्रचुर सम्भावना रहेको छ । आन्तरिकदेखि बाह्यमा भारतीय पर्यटक बढी आउने गरेका छन् । पर्यटकीय गन्तव्यका रूपमा नै विकास गर्ने गरी कान्तिलोक पथ सञ्चालनमा आएपछि यो क्षेत्रको पर्यटन विकास अझ बढेर जानेछ । हामीले १ हजार ५७ मिटरको लामो जिपलाइन सञ्चालनमा ल्याएका छौं, करिब डेढ मिनेटमा पूरा गर्न सकिन्छ । भावी दिनमा चारतारे होटल सञ्चालन गर्न गरी पूर्वाधारको काम गरिरहेका छौं । १० जनाको समूहले हाल २० करोड रुपैयाँको संयुक्त लगानीमा सञ्चालन गरेका यो पर्यटकीय गन्तव्यमा भावी दिनमा ५० करोड लगानी गरेर आकर्षक गन्तव्य विकासमा लागिरहेका छौं । मकवानपुर गढी जुन पृथ्वीनारायण शाहको ससुराली घरमा रहेका पुराना संरचनाहरूलाई प्राथमिकताका साथ स्थानीय सरकारले पनि सुधार गरेको छ । मेन गढी, सानो गढी र ढुंगे गढी रहेको छ । मेन गढीबाट तराईलाई अवलोकन गर्न सकिन्छ । यहाँको पर्यटन विकासमा लागिरहेका छौं । नेपालको पहिलो डब्बल वायर जिपलाइन हो । सुपरम्यान, क्लासिक र टेन्डम (जोडी) गरि तीन प्रकारका जिपलाइन खेल्न मिल्ने जिपलाइन हो । एउटै प्लेटफर्ममा दुईवटा लठ्ठा राख्ने गरी बनाइएकाले एकै पटक दुई लाइनमा खेल्न मिल्नेछ ।

उपत्यकामा एडभेन्चर हबको विकास हुँदै
दिनेश महर्जन
प्रबन्ध निर्देशक,वानहर्न एड्भेन्चर्स नेपाल

कीर्तिपुर नागपालिकाको ६ नम्बर वडामा मन्जुश्री पार्क चोभारमा वानहर्न एड्भेन्चर्स प्रालिले ८ करोडको लागतमा विभिन्न एड्भेन्चर हब बनाउन लागेका हौं । उपत्यकाका नागरिकहरूलाई बिदाको समयमा साहसिक खेलमार्फत मनोरञ्जन प्रदान गर्ने सोचका साथ यो परियोजना विकास भएको हो । जनघनत्वले गर्दा काठमाडौं आसपासमा नै साहसिक पर्यटन विकास गर्न सकिने हामीले यो परियोजनाबाट सम्भव देखेका छौं । ३ सय ५० मिटर लम्बाइको क्यानोपी जिपलाइनिङको हो । सन् २०२० को मध्यतिरबाट सुरु गर्न अभियान भए पनि कोभिड–१९ का कारण अदि निर्माण सुस्त भएको छ । सिभल ओर्कको काम पूरा भएको छ भने स्ट्रिक्चर र प्राविधिक काम भने बाँकी छ । पार्कमा बन्दै गरेको क्यानोपी जिपलाइन तीन चरणको हुनेछ । टावर बनाएर निर्माण गरिएको जिपलाइनको पहिलो चरण १ सय मिटर, दोस्रो १ सय ७० मिटर र तेस्रो १ सय १० मिटरको हुनेछ । दुई जनाले करिब २ करोड रुपैयाँ लगानी तत्काल गरेर साहसिक पर्यटनलाई टेवा दिने लक्ष्य लिएको छ भने ४ करोडको पूरा परियोजना गर्नेछौं । अन्य मनोरञ्जन र रेस्टुराँहरूको समेत पार्कमा निर्माण गरिने योजना अगाडि सारेका छौं । सबै वर्ग र तहका नागरिकलाई यहाँबाट मनोरञ्जन दिन सकिनेछ । साथै विद्यालयस्तरका विद्यार्थीलाई तालिमसमेत यो जिपलाइनमा दिने ट्रेनिङ सेन्टरमा विकास गर्ने योजना रहेको छ । भावी दिनमा स्विङ पनि विकास गर्ने लक्ष्य लिएको छ । एब्सेलिङ र केभिङसमेत गराइने पार्कमा ५० मिटर अग्लो स्विङसमेत खेल्न पाइनेछ ।

अर्गानिक खानाको साथमा जिपलाइन
सानोकाजी खड्गी
अध्यक्ष, ट्रायम्फ अर्गानिक रिसोर्ट जिपलाइन

उपत्यकाभन्दा बाहिर गएर बिदाको समयको सदुपयोग गर्न साहसिक पर्यटकमा रमाउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर यो परियोजना विकास गरिएको हो । नौबिसेबाट ८ किलोमिटर दूरीमा रहेको धादिङको सातघुम्ती थार्के– ६ मा ५० रोपनीमा फैलिएको रिसोर्ट हो यो । अर्गानिक खानाका साथै साहसिक पर्यटकको विकास गर्न लागेका हौं ट्राम्फ अर्गानिक रिसोर्ट जहाँ १४ सया मिटरको जिपलाइन बन्दैं छ । हाल यहाँ सिभल ओर्कको काम पूरा गरेर स्ट्रक्चर र प्राविधिकको काम बाँकी रहेको छ । बाहिरबाट सामान आयात गर्नुपर्ने भएकाले गर्दा कोभिड–१९ को असर परेको छ । अर्गानिक उत्पादन, स्वीमिङ पुल, रेस्टुराँसहितको परियोजना हो ।

प्रतिक्रिया दिनुहोस्