भैरहवा–बुटवल–बर्दघाटमा एसी बस «

भैरहवा–बुटवल–बर्दघाटमा एसी बस

लुम्बिनी मेट्रो सिटी यातायात सुरु
रुपन्देही-नेपालको यातायात सेवामा निजी क्षेत्रबाट सम्भवत पहिलो पटक एसीबस स्थानीय तहमा भैरहवा–बुटवल–बर्दघाट रूटमा सञ्चालनमा आएको छ । सरकारले सिन्डिकेट अन्त्यको घोषणासँगै प्रतिस्पर्धात्मक यातायात प्रणालीलाई अंगिकार गर्दै दर्तामा आएको लुम्बिनी मेट्रो सिटी प्रालिले रुपन्देही र नवलपरासीको बर्दघाटसम्म बातानुकूलित बसद्वारा स्थानीय तहमा यात्रा सुचारु गरेको हो । लुम्बिनी मेट्रो सिटी प्रालिले ५ वटा एसी बसबाट सेवा प्रारम्भ गरेको हो ।
“हामीले अहिले ५ वटा बसबाट सेवा सुरु गरेका छौं । छिट्टै थप ५ वटा बस थपेर सेवा दिन्छौं,” कम्पनीका व्यवस्थापक समेत रहेका अध्यक्ष धनबहादुर अधिकारी क्षेत्रीले भने । “५ वटा बस भन्सारमा आइपुगेका छन्, भन्सार पासको प्रक्रिया पूरा भएपछि थप बसबाट पनि सेवा सुरू हुन्छ ।’ बसले अहिले नेपाल–भारत सिमाको बेलहियाबाट भैरहवा, भलवारी, मणिग्राम हुदैं बुटवल गोलपार्कसम्म र त्यहाँबाट बर्दघाटसम्म सेवा दिनेछ । यसपछि पुनः सोही रूटबाट भैरहवाको बेलहियासम्म बस सञ्चालन भैरहेको छ, अध्यक्षले भने ।
“हाम्रो लक्ष्य भनेको प्रदेश ५ को सबै नगरक्षेत्रलाई बस सेवाबाट जोड्ने हो । अहिले रूपन्देहीको बुटवल, तिलोत्तमा, सिद्धार्थनगर (भैरहवा), देबदह सुनवल हुदैं बर्दघाटसम्म पुगेको छ । थप बस आएपछि बेलहिया बुटवल गोलपार्क हुदैं पश्चिम पाँच नम्बरसम्म दुवैतर्फी नयाँ रूटमा चलाउने छौ र तेश्रो गन्तब्य बुद्धजन्मस्थल लुम्बिनी हुदैं भैरहवा र बुटवल जोड्ने छौं,” अध्यक्ष अधिकारीले भने ।
सबै बसहरू बातानुकुलित जडित छन् । बसमा सीसी क्यामरा जडान छ । ४० बढी सिट क्षमता रहेको बसमा ट्रयाकिङ सिस्टम पनि छ । बसको केन्द्रीय कार्यालय बुटवलमा बसेर बस कहाँ पुगेको छ र बसको अबस्था के छ भनेर हेर्न सकिन्छ । ई–टिकेट प्रविधिसमेत राख्ने तयारी बसमा छ । भारतमा निर्मित अशोक लिल्याण्ड कम्पनीका बसहरूमा प्रतिबस लागत ६० लाख रुपैयाँ छ ।
नेपालमा लामो दुरीमा चल्ने सवारी यातायातमा केहीमा एसी जडान गरिएको भए पनि अन्तर नगरपालिका जोड्ने गरी सञ्चालनमा आएको स्थानीय बसमा एसी जडान भएको यो नै नेपालको पहिलो सेवा रहेको लुम्बिनी मेट्रो सिटी प्रालिको दाबी छ । बसले एक साता अघिदेखि आफनो सेवा सुरु गरेको हो । सुरुका दिनमा नयाँ आकर्षक एसी जडित बस देखेर धेरै महँगो भाडा लाग्ने भ्रममा नचढेका स्थानीय यात्रुहरूले अहिले यो बसको सेवा मन पराइसकेको कम्पनीले जनाएको छ ।
कम्पनी रजिस्टारको कार्यालयमा दर्ता हुँदा सुपर डिलक्स बस सेवाको रूपमा प्रमाणपत्र पाएको लुम्बिनी मेट्रोसिटी प्रालिको भाडा दरमा सरकारकै नियमअनुसार सुपर डिलक्स बसले लिने भाडा दरनै कायम छ । सामान्य बसले लिने भाडामा भन्दा जम्मा २० प्रतिशत अतिरिक्त भाडा यो बसले लिन्छ ।
अहिले सामान्य बसको भैरहवा–बुटवलको भाडा ६५ रुपैयाँ छ भने लुम्बिनी मेट्रो सिटीको एसी जडित बसमा यात्रा गरी भैरहवाबाट बुटवल जाँदा प्रतियात्रु ८० रुपैयाँ भाडा लाग्छ । स्तरीय बसको सेवा प्रारम्भले यात्रुहरूलाई थप सुबिधा भएको सिद्धार्थ उद्योग वाणिज्य संघका महासचिव नेत्रप्रसाद आचार्यले बताए । बढी पर्यटक भित्रने नाका भएकाले पनि स्तरीय यातायात सेवाहरू स्थानीय तहमा संचालनमा आउनुपर्ने आचार्यको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्