विज्ञान र प्रविधिको अपरिहार्यता «

विज्ञान र प्रविधिको अपरिहार्यता

आज पश्चिमी बौद्धिक कुशलताले भौतिक तत्वको ज्ञान एवम् विचार विश्लेषणले सफलता पाएको देखिन्छ । यसरी मानव चेतना तथा जिज्ञासाको परिणामस्वरूप विज्ञानको विकास हुन थालेको हो ।
आज विज्ञानको विकासले भौतिक युगको सृजना र भोगविलासको स्रोतसाधनमा सम्पन्नता भई रोमाञ्चकारिताको संसारमा हामी जीवन गुजारिरहेका छौँ । विज्ञान र प्रविधिको विकासले गर्दा यातायात, सञ्चार, विभिन्न व्यवसाय, उत्पादन, उपभोग र वितरणको क्षेत्रमा निकै परिवर्तन आएको छ । वास्तवमा हाम्रो दैनिक आवश्यकताको परिपूर्तिमा जुन सहज र सुगम स्थिति विद्यमान छ, त्यसको लेखाजोखा गरेमा निःसन्देशह पनि विज्ञान र प्रविधिलाई वरदानका रूपमा अङ्गीकार गर्नु अत्युक्ति नहोला । परन्तु आज विभिन्न देशमा विज्ञानलाई रचनात्मक कार्यहरूको सट्टा ध्वंसात्मक कार्यहरूमा परिचालन गर्न थालिएकाले यी देशहरूको विभिन्न क्षेत्रहरूमा नकारात्मक असर पर्न गएको कुरा सर्वविदितै छ ।
वस्तुतः केही विकसित राष्ट्रहरूले विज्ञान र प्रविधिको क्षेत्रमा उल्लेखनीय प्रगति गरे तापनि अधिकांश देशहरू यस क्षेत्रमा निकै पछाडि परेका छन् । यी देशहरू विज्ञान र प्रविधिको क्षेत्रमा पछाडि पर्नाका प्रमुख कारणहरूमध्ये गरिबी र दक्ष जनशक्तिको कमीलाई विशेष मान्न सकिन्छ ।
नेपाल आजसम्म पनि विज्ञान र प्रविधिको क्षेत्रमा निकै पछि परेको छ । हुन त विज्ञान र प्रविधिको विकास गर्ने उद्देश्यले यहाँ विगत केही दशकयता विज्ञान र प्रविधिको विकासमा केही जोड दिन थालिएको छ । तर हालसम्म पनि यी संस्थाहरूले यहाँको आवश्यकताअनुरुप काम गर्न सकेका छैनन् । जसको फलस्वरुप यहाँका विभिन्न क्षेत्रहरूमा आजसम्म पनि ठोस प्रगति हुन सकेको छैन ।
आज नेपालमा तीव्र जनसंख्या वृद्धिका कारणले विभिन्न क्षेत्रमा विभिन्न समस्याहरू विद्यमान छन् । एकातर्फ खाद्यान्नको कमी एवम् कमजोर व्यवस्थापनका कारणले भोकमरीको समस्या दिनप्रतिदिन जटिल हुँदै गएको छ भने अर्कातर्फ बेरोजगारीको समस्या तीव्र गतिले बढिरहेको छ । यहाँ विज्ञान र प्रविधिको ठोस विकास गर्न सकेमा उपयुक्त समस्याहरू न्यून गर्न ठूलो सघाउ पुग्न सक्छ । यही कारणले गर्दा आज विश्वका धेरै राष्ट्रहरूमा विज्ञान र प्रविधिको विकासमा विशेष ध्यान आकृष्ट हुन थालेको छ । तर नेपालमा आजसम्म पनि सम्बन्धित क्षेत्रबाट विज्ञान र प्रविधिको विकासमा खास ध्यान पु¥याउन सकेको देखिँदैन र विद्यार्थीहरूले पनि यसतर्फ खासै ध्यान दिएको देखिँदैन ।
वास्तवमा भन्ने हो भने विभिन्न कठिनाइका बाबजुद वर्तमान समयमा नेपालले विकसित राष्ट्रहरूको जस्तो जटिल प्रविधिको विकास गर्न सक्दैन । त्यसैले यसले परम्परागत प्रविधिको विकासमा जोड दिई विभिन्न क्षेत्रमा अग्रसर हुन नितान्त आवश्यक छ । यसो गर्न सकेमा पनि हाल यहाँ विद्यमान गाँस, बास र कपास र समस्याको समाधान केही मात्रामा भए पनि हुन सक्छ । तर, विगतको सरकारले यसतर्फ खास ध्यान आकृष्ट गर्न र गराउन सकेन । फलतः यहाँ विज्ञानको क्षेत्रमा कुनै ठोस उपलब्धि गर्न सकिएन ।
नेपालमा प्रचुर मात्रामा विभिन्न किसिमका स्रोत तथा साधनहरू भए तापनि यिनीहरूको राम्ररी परिचालन गर्न सकिएको छैन । यसले विगत धेरै वर्षदेखि हालसम्म पनि हामी धेरैजसो चिजका लागि अन्य देशहरूमा भर पर्नुपरेको छ । यतिमात्र होइन, व्यापारघाटा बढ्नाले यहाँको अर्थतन्त्रमा नकारात्मक असर परेको छ । अतः परम्परागत प्रविधिको विकास गरी स्थानीय स्रोत तथा साधनहरूको अधिकतम परिचालन गर्न सके यहाँको अर्थतन्त्र सबल बनाउन ठूलो सघाउ पुग्न सक्ने कुरा नकार्न सकिँदैन । यसका लागि प्रत्येक वर्ष स्थानीय स्रोत तथा साधनहरूको परिचालनमा केही धनराशि छुट्याउन धेरै आवश्यक छ । यसका साथसाथै स्थानीय स्रोतसाधनहरू परिचालन गरी योगदान पु¥याउने व्यक्ति तथा संस्थाहरूलाई पुरस्कार प्रदानगर्ने व्यवस्था हुनुपर्छ । यस्तो परिपाटीको जग बसाल्न सकियो भने नेपालमा विज्ञान तथा प्रविधिको विकासमा नयाँ आयाम थपिने अपेक्षा गर्न सकिन्छ ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुआयामिक र बहुसांस्कृतिक विशेषतायुक्त देश हो । प्राकृतिक छटा र सुन्दरताका कारण पर्यटनको क्षेत्रमा काम गर्ने विभिन्न विश्वविख्यात पत्रपत्रिका तथा संस्थाहरूले यो देशलाई उत्कृष्ट गन्तव्यस्थलका रुपमा समावेश गरेका छन् । तर, आवश्यक पूर्वाधारको कमी र सरकारको यथोचित ध्यान पुग्न नसक्नाले यहाँ आजसम्म पनि पर्यटकहरूको आगमन सन्तोषजनक रुपबाट हुन सकेको छैन ।
सांस्कृतिक विविधता, भौगोलिक पर्यावरण र अतिथि सत्कार गर्ने परम्पराका कारण नेपाल पर्यटकहरूको रोजाइमा सधैं नै परेको छ । तर पर्यटन उद्योगको धेरै सम्भावना भए पनि यहाँ उक्त उद्योगबाट अपेक्षित फाइदा लिन सकेको छैन । यो खास गरेर विगतका सरकारहरूको कमीकमजोरीले नै गर्दा हो भन्न सकिन्छ ।
आज विज्ञान र प्रविधिको विकासले विश्व नै एउटा सानो गाउँका रुपमा परिणत हुँदैछ । तर नेपालमा आजसम्म पनि उक्त क्षेत्रको ठोस विकास हुन सकेको छैन । वास्तवमा यहाँ पनि विज्ञान र प्रविधिको विकास गरी विद्यमान राष्ट्रिय सम्पदालाई विश्वसमक्ष प्रस्तुत गरेर विश्व पर्यटन बजारबाट अत्याधिक फाइदा लिन सकिन्छ ।
हालसम्म पनि यहाँका अधिकांश जनता कृषिमा आश्रित छन्, तर आजसम्म पनि यहाँ परम्परागत किसिमबाट खेतीपाती गर्नाले उक्त व्यवसायबाट खासै फाइदा हुन सकेको छैन । जनसंख्या वृद्धिको तुलनामा कृषि उत्पादन बढाउन नसक्नाले प्रत्येक वर्ष खाद्यान्नको आयात बढाउनुपरेको छ । यसको कारणले यहाँको व्यापारघाटा प्रत्येक वर्ष बढिरहेको छ ।
कुनै पनि देशको कुनै पनि क्षेत्रको ठोस विकासका लागि त्यस देशमा लागू गरिएको नीति–नियमहरूले महत्वपूर्ण भूमिका खेल्छन् । यसैले नेपालमा पनि विज्ञान र प्रविधिको ठोस विकासका लागि उपयुक्त नीति तथा नियमहरू तर्जुमा गरी कार्यान्वयन गर्न विशेष जोड दिन अति आवश्यक छ । यी कुराहरूबाहेक यहाँ विज्ञान र प्रविधिको विकास गरी अधिकतम लाभ लिन एकातर्फ विज्ञान र प्रविधिको महत्वबारे व्यापक प्रचार–प्रसार गरी यहाँका बालबालिकाहरूलाई सानै उमेरदेखि विज्ञान तथा प्रविधिको महत्वबारे विशेष ध्यानआकृष्ट गर्न आवश्यक छ भने अर्कातिर यस किसिमको शिक्षाबाट देशमा परेको प्रभावको बेलाबेलामा मूल्याङ्कन गरी समसामयिक सुधार गर्न उत्तिकै जरुरी छ ।
वर्तमान समयमा यहाँका नागरिकको हक तथा अधिकारलाई कुण्ठित नहुने गरी विज्ञान र प्रविधिको विकासमा सरकारले प्रोत्साहन दिएमा समृद्धिका लागि विकास भन्ने मूलमन्त्रलाई साकार बनाउन बल पुग्नेछ ।
विज्ञान र प्रविधिको विकासका लागि अनुसन्धानको आवश्यकता पर्छ जसका लागि प्रचुर धनराशिको जरुरी छ । यो कुरा विकसित देशहरूको अनुभवबाट बोध हुन्छ । परन्तु यहाँ अनुसन्धानका लागि न्यून बजेट छुट्याउने परम्परा भएकाले उक्त क्षेत्रको ठोस विकास हुन सकेको छैन । त्यसैले यसतर्फ सम्बन्धित पक्षको ध्यान जान नितान्त आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्