वर्षाले तरकारी उत्पादनमा गिरावट

झापा-निरन्तरको वर्षाले झापामा तरकारी उत्पादनमा भारी गिरावट आउने भएको छ । वर्षाले झापामा यो वर्ष ७० प्रतिशत तरकारी उत्पादनमा गिरावट आउने किसानहरुले जनाएका छन् ।
झापाको बिर्तामोड–१०, अर्जुनधारा–५, बुद्धशान्ति–५, कनकाई–५, भद्रपुर–२ र ३ कमल– ३ र ७ दमक–३, गौरीगञ्ज– २ लयायत क्षेत्रमा लगाइएको तरकारी वर्षाका कारण उत्पादन नै हुन सकेको छैन । विशेष गरी पछिल्लो समय बेमौसमी तरकारीले राम्रो बजार पाउने भएसँगै खेती बढ्दै गएपनि यो वर्ष अत्याधिक वर्षा भएका कारण विरुवा नै उत्पादन गर्न नसकेको किसान बताउँछन् । उत्पादनमा कमी आएसँगै अहिले बजारमा तरकारीको मूल्य पनि अत्याधिक वृद्धि भएको छ ।
झापाको दमक नगरपालिका –३ मा रहेको मानसरोवर कृषि सहकारी संस्थाले ४ विगाहमा लगाएको तरकारी वर्षाले नष्ट पारेको सहकारीका व्यवस्थापक महेन्द्र अधिकारीले बताए । सहकारीले ४ विगाहमा रायोको साग, तोरीको साग, भिन्डीलगायतका तरकारी लगाएको थियो ।
त्यो ठाउँमा पुनः तरकारी लगाउन बेर्ना उत्पादन गरेपनि हिलो जमिन भएको कारण तत्काल बेर्ना लगाउन नसक्ने सहकारीका व्यवस्थापक अधिकारीले जानकारी दिए । तरकारी सँगै १÷१ विगाहमा लगाइएको केरा र मेवालाई समेत वर्षाले क्षति पु¥याएको उनी बताउँछन् । वर्षाले २० देखि २५ लाख रुपैयाँसम्म घाटा भएको उनको भनाइ छ । मानसरोवर जिल्लाकै उत्कृष्ट कृषि फर्म हो । फर्मले १५ विगाह जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आएको छ । फर्ममा ११ वटा टनेलमा समेत तरकारी खेती हुन्छ । खुल्ला खेतीमा भने वर्षाका कारण क्षति पुगेको अधिकारीले जनाए ।
झापाको अर्जुनधारा नगरपालिका–५मा रहेको मामाभाञ्जा कृषि फर्मका सञ्चालक निर्मल अधिकारी विरुवा उत्पादन हुन नसक्दा सिजनमा तरकारी उत्पादन गर्न कठिनाइ भएको बताउँछन् । “यो सिजन उत्पादन गरेको तरकारी मंहगो मूल्यमा बिक्री हुन्थ्यो” उनले भने, “उत्पादन गर्न नसक्दा सोचे अनुरुप आम्दानी नहुने भयो ।”
फर्ममा हाल उनीहरुले २० विगाहमा तरकारी खेती गर्दै आएका छन् । यतिखेर करेला, काँक्रा, काउली, टमाटर, सिमी, फर्सीलगायतका तरकारी लगाउने तयारी भएको थियो । तर, विरुवा उत्पादनमा ढुसीजन्य रोग लागेपछि समस्या भएको छ ।
बिर्तामोड नगरपालिकाका कृषि अधिकृत राजेन्द्र कडरियाका अनुसार टनेल भित्रै पनि तापक्रम नमिल्दा विरुवा उत्पादन हुन नसकेको बताउँछन् । उनी भन्छन्, “यो वर्ष ७० प्रतिशत भन्दा बढी तरकारी उत्पादनमा गिरावट आउने छ ।” अत्याधिक वर्षाका कारण आउँदै गरेको चाडपर्वमा तरकारीको मूल्य थप आकसिने कडरिया बताउँछन् । झापाका अधिकांश कृषकले आफूले खानका लागि लगाएको तरकारीसमेत पानीले डुवानमा परेपछि बजारको भर पर्नु परेको छ ।
कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंहले यो वर्ष वर्षाले उत्पादन गर्न नसकेको भएता पनि यति नै क्षति भयो भन्ने गुनासो कृषकबाट नआएको बताए । झापामा गत वर्ष ५८ वटा ब्लक मार्फत् तरकारीलगायत खेती हुँदै आएकोमा टनेलबाहेक खेती गर्ने कृषकले तरकारी उत्पादन गर्न नसकेको बताए ।
गत वर्ष झापामा ९ हजार ७६ हेक्टरमा लगाइएको तरकारीबाट १ लाख, ६२ हजार, ७ सय ७९ मेट्रिक टन तरकारी उत्पादन भएको प्रमुख सिंहले बताए । यस वर्ष भने उत्पादनमा ह्रास आउनसक्ने सिंह बताउँछन् । उनले वैदेशिक रोजगारीबाट फर्केर आफ्नै मुलुकमा केही गरौँ भन्ने उद्देश्य लिएका युवामा भने निरासा पैदा भएको जनाए । झापामा यो समय पहाडी जिल्ला, इलाम, पाँचथर, धनकुटा, तेह्रथुमलगायत जिल्लाबाट तरकारी आउने गरेको छ ।
झापाको कृषि उपज बजार केन्द्रमा भारत र पहाडी जिल्लाबाट आयात भएका तरकारी मात्र बिक्री भइरहेको पाइएको छ । झापालगायत तराई क्षेत्रमा उत्पादित तरकारी बजारमा नआएको स्थानीय व्यवसायीको भनाइ छ ।