किया सोनेटको प्रिबुकिङ खुला «

किया सोनेटको प्रिबुकिङ खुला

किया कम्पनीले कम्प्याक्ट एसयूभी सेग्मेन्टमा नयाँ कार सार्वजनिक गरेको छ । किया सोनेट भनेर चिनिने यो कार आक्रमक डिजाइन र प्रस्तुतीका कारण कार पारखीले रुचाउने विश्वास गरिएको छ । कियाको नेपालका लागि आधिकारिक विक्रेता कन्टिनेन्टल ट्रेडिङले नेपालमा सो कार भित्र्याउने तयारी गरेको छ । कम्पनीले कारको प्रिबुकिङ खुला गरेको जानकारी दिएको छ । नेपालमा किया सोनेटको बेस एचटिई भेरियन्टको सुरुआती मूल्य ३५ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।
सोनेट भारतमा निर्मित कियाको सेल्टोस र कार्निभल लक्जरी एमपीभीपछिको तेस्रो गाडी हो । सब–४ मिटर एसयुभी स्पेसका साथ आएको सोनेट मारुतिको ब्रेजा, टाटाको नेक्सन, ह्युन्डाइको भेन्यु तथा महिन्द्राको एक्सयुभी–३०० को कडा प्रतिस्पर्धी हो । सुविधाका आधारमा जीटएक्स प्लस भेरियन्टको मूल्य ६५ लाख ९० हजार रुपैयाँसम्म पर्ने कम्पनीले जनाएको छ ।
सोनेट दुईवटा ट्रिम कन्सेप्टमा टेक लाइन ट्रिम र जीटी लाइनमा उपलब्ध छ, जुन यसअघि सेल्टोसमा देखिएको थियो । सोनेट सातवटासम्म कलर अप्सनमा उपलब्ध हुनेछन् जसमा तीनवटा डुअल–टोन कलर थिम छन् । सोनेटमा एचटी लाइन (टेक लाइन) भेरियन्टमा एचटीई, एचटीके, एचटीके प्लस, एचटीएक्स, एचटीएक्स प्लस समावेश छन् । उपलब्ध रंगको संख्या अर्डर बढेसँगै थप हुने कम्पनीले जनाएको छ । एचटीई, एचटीके भेरियन्ट क्लियर ह्वाइट, स्टिल सिल्भर, ग्राभिटी ग्रे र इन्टेन्स रेडमा उपलब्ध छन् भने एचटीकेप्लस र एचटीएक्स भेरियन्ट अरोरा ब्ल्याक, बेस गोल्ड र इन्टेलिजेन्स ब्लु अप्सनमा उपलब्ध छ ।
सोनेटले यो सेग्मेन्टकै सबैभन्दा बढी फिचर भएको क्याबिन दिनेछ । यसमा १०.२५ इन्चको एचडी इन्फोटेनमेन्ट स्क्रिन, युभीओ कनेक्टिभिटी अप्सन, सब–उफरसहितको ७ वटा स्पिकर, एलईडी साउन्ड मुड ल्याम्प, कुलिङ फङ्सनसहितको वायरलेस स्मार्टफोन चार्जर, भेन्टिलेटेड फ्रन्ट सिट, एयर प्युरिफायरलगायत विशेषता छन् ।
कारको प्रमुख सुरक्षा फिचरमा ६ वटा एयरब्याग, ईबीडी सहितको एबीएस, भेहिकल स्टाबिलिटी म्यानेजमेन्ट, इलेक्ट्रोनिक स्टाबिलिटी कन्ट्रोल, हिल स्टार्ट असिस्ट कन्ट्रोल र ब्रेक असिस्टलगायत फिचर छन् ।

प्रतिक्रिया दिनुहोस्