सालकको अवैध कारोबार गर्नेलाई १० वर्षसम्म कैद हुने «

सालकको अवैध कारोबार गर्नेलाई १० वर्षसम्म कैद हुने

पोखरा– चितुवाको छाला, सालकको खपेटा, केही हड्डी सहित एक युवा पोखरामा पक्राउ परेका छन् । बन्यजन्तुको आखेटोपहार अबैध ओसारपसार तथा कारोवार गर्ने गरेको गोप्य सूचनाको आधारमा कास्की प्रहरीले धादिङ गल्छी गाउँपालिका वडा नं. ४ का २८ बर्षीय सन्तोष लामिछानेलाई पक्राउ गरेको कास्कीका प्रहरी प्रवक्ता डि.एस.पी. सुवास हमालले बताए ।
इलाका प्रहरी कार्यालय शिसुवाको टोलीले चेकजाँच गर्ने क्रममा मंगलबार लामिछानेले मोटरसाइकलको पछाडी जेब्रा झोलामा लुकाई छिपाई ल्याएको अबैध चितुवाको छाला– १ थान, सालकको खपेटा १ थान, बन्यजन्तुको जस्तो देखिने हाड, खुट्टा तथा पंजा गरी करिब ३ के.जी. ७५० ग्राम फेला पारेको प्रहरीले जनाएको छ । थप अनुसन्धान र आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय कास्कीमा पठाइएको डि.एस.पी. हमालद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
अनलाइन सर्भिस गर्दै आएका लामिछानेबाट बरामद भएको सामानहरु काठमाडौंको विधि विज्ञान प्रयोगशालामा परीक्षणको लागि पठाउने भएको डिभिजन वन कार्यालय, कास्कीका प्रमुख केदार बरालले बताए । उनका अनुसार वन्यजन्तुको आखेटोपहार अबैध ओसारपोसार एवं वन्यजन्तुको अवैध कारोवार गरेको पुष्टि भएमा राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार कारवाही हुन्छ । सालकको अवैध कारोवार गर्ने उपर १ लाख देखि ५ लाख जरिवाना र १ बर्ष देखि १० बर्ष कैद सजाय हुने कानुनी व्याबस्था रहेको प्रमुख बरालले जनाए । चितुवाको छालाको अवैध कारोवार गर्ने उपर ६ महिना जेल २० हजारसम्मको जरिवाना हुने भएको उनले जनाए ।

प्रतिक्रिया दिनुहोस्