विद्युत् विकासमा पहल

जलविद्युत्मा सम्भाव्य लगानीकर्ताहरू खोज्न र आयोजना विकास, निर्माण र सञ्चालनका क्षेत्रमा विश्वव्यापी रूपमा भइरहेका नयाँ–नयाँ विकासक्रमबारे थाहा पाउनका लागि विगत केही वर्षदेखि सरकारी र निजी स्तरमा लगानी सम्मेलन, जलविद्युत् सम्मेलनजस्ता कार्यक्रमहरूको आयोजना हुने गरेका छन् । |
हालैका वर्षहरूमा नेपालमा निजी क्षेत्रबाट विद्युत् विकासमा सहभागिता बढ्दै गएको छ । जलविद्युत्मा लगानीका लागि नेपालभित्रका आन्तरिक लगानीकर्तामात्र होइनन्, गैरआवासीय नेपालीदेखि विदेशी लगानीकर्ताहरूसमेत उत्साहित रहँदै आएका छन् । जलविद्युत्मा लगानीका लागि जबजब विदेशी लगानीको प्रस्ताव आउने गर्छ, अनेकन आशंका उब्जाइने गरिएको छ । नदीनालाहरू हाम्रा राष्ट्रिय सम्पत्ति हुन्, यिनको समुचित प्रयोग हुनुपर्छ भन्ने कुरामा सायदै दुईमत होला । राष्ट्रिय स्रोतको उपयोग गर्दाखेरि पहिला आन्तरिक हित र लाभ नै हेर्नुपर्छ । जलविद्युत्मात्र होइन, अब जलस्रोतकै बहुपक्षीय प्रयोगका विषयमा नयाँ ढंगले चर्चा र बहसहरू चलाइनु आवश्यक छ । ठूला आयोजनाहरू निर्माण गर्दा पक्कै पनि तिनका केही प्रतिकूल प्रभावहरू रहन सक्छन्, तर समग्रमा तिनले पुर्याउने क्षतिभन्दा लाभको पक्ष बढी हुने भएकाले सकेसम्म पर्यावरणीय क्षति कम गरेर आयोजना निर्माण गर्ने विधि अवलम्बन गरिन थालिएको छ । नेपालमा अहिलेसम्म निजी आयोजना विकासकर्ताहरू विभिन्न कारणले साना तथा मझौला आयोजनामा मात्र आकर्षित भएको अवस्था छ, यसका पछाडि आर्थिक र प्राविधिक दुवै कारण हुन सक्छन् । ठूला आयोजना निर्माणका लागि नेपाली निजी क्षेत्रको आर्थिक क्षमता नपुग्ने प्रश्न बारम्बार उब्जने गरेको छ । बैंक तथा वित्तीय संस्थाहरूको समेत कन्सोर्टिएम ऋण लगानी गर्दासमेत ठूला आयोजनाका लागि स्रोत नजुट्ने बताउने गरिएको छ । यस्तो अवस्थामा देशभित्रै रहेका अन्य संस्थागत लगानीका साथै विदेशबाट समेत लगानी नजुटाई धरै छैन ।
विदेशी लगानीमा अब छनौट गर्नुपर्ने बेला भइसकेको छ । नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्छु भनेर आएका विदेशी कम्पनीहरूको आर्थिक, प्राविधिक क्षमता बेलैमा विचार नगर्दा अस्ट्रेलियाको स्मेक कम्पनीले १० वर्षसम्म पश्चिम सेतीको लाइसेन्स होल्ड गरेर राखिदियो । अहिले केही ठूला आयोजना बनाउने भनेर लाइसेन्स होल्ड गरेर राखेका केही भारतीय कम्पनीको आर्थिक हैसियतमा सबाल उठिरहेको छ । नेपालभित्रका स्वदेशी लगानीकर्ताहरूले प्राविधिक तथा प्रशासनिक कारणहरूले समयमा आयोजना विकास गर्न नसक्दा झोलामा खोला राखेको आरोप लगाइरहँदा विदेशी कम्पनीहरूले हरेक पटक फरक–फरक कारण देखाई लाइसेन्स मात्र ओगटेर बस्ने प्रवृत्तिको भने अब अन्त्य हुनैपर्छ । यदि कुनै कम्पनीले तोकिएको अवधिमा आयोजना विकास गर्न सकेन भने त्यो लाइसेन्स फिर्ता लिई खुला, पारदर्शी प्रक्रियाबाट सार्वजनिक बोलकबोल गरी सक्षम लगानीकर्ताहरूलाई आयोजना दिनैपर्छ । यदि यसो गर्न सकियो भने मात्र नेपालले १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य पूरा गर्न सक्छ ।
जलविद्युत्मा सम्भाव्य लगानीकर्ताहरू खोज्न र आयोजना विकास, निर्माण र सञ्चालनका क्षेत्रमा विश्वव्यापी रूपमा भइरहेका नयाँ नयाँ विकासक्रमबारे थाह पाउनका लागि विगत केही वर्षदेखि सरकारी र निजी स्तरमा लगानी सम्मेलन, जलविद्युत् सम्मेलनजस्ता कार्यक्रमहरूको आयोजना हुने गरेका छन् । विद्युत् विकासकर्ता, यससम्बन्धी उपकरण उत्पादक र विज्ञहरूसमेतको सहभागिता रहने यस्ता कार्यक्रमहरू केवल ‘सम्मेलन पर्यटन’को एक हिस्सामात्र नभई साँच्चिकै त्यसले उत्पादक परिणाम दिन सक्यो भने यहाँको विद्युत् विकासमा योगदान पुग्ने आशा गर्न सकिन्छ ।