अँध्यारो ढोरपाटनमा वैकल्पिक ऊर्जा «

अँध्यारो ढोरपाटनमा वैकल्पिक ऊर्जा

बागलुङ-अविरल वर्षासँंगै आएको बाढीले एक दर्जन लघुजलविद्युत् आयोजनामा क्षति पुगेपछि अन्धकारमय बनेको ढोरपाटनमा वैकल्पिक ऊर्जाको ब्यवस्था गरिएको छ । विभिन्न निकायको सहयोगमा ढोरपाटनका बाढीपीडितलाई १ सय २६ सेट सोलार सेट प्रदान गरिएको हो ।
गत भदौ १७ गते राति ढोरपाटन नगरपालिकाको वडा नं ९, ८ र ७ बोबाङस्थित भुजीखोलामा आएको बाढीले ठूलो भौतिक तथा जनधनको क्षति पु-याएको थियो । रातको समयमा पहिरोसँगै आएको बाढीमा परेर २२ जनाको ज्यान गएको छ भने १६ जना अझै बेपत्ता छन् । बाढीको कारण १ सयभन्दा बढी घरमा पूर्णक्षति पुगेको छ । यस्तै बाढीले ११ लघुजलविद्युत् आयोजनालाई क्षतिग्रस्त बनाएको छ । तत्काल क्षतिग्रस्त लघुजलविद्युत् सञ्चालनमा आउने सम्भावना नरहेपछि विभिन्न निकायसंँगको समन्वयमा विद्युत्को वैकल्पिक व्यवस्था गरिएको ढोरपाटन नगरपालिकाको कार्यालयले जनाएको छ ।
बाढी प्रभावित परिवारका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत ३२ थान, ढोरपाटन दैनिकमार्फत १५ थान, टपसन इनर्जी तथा कुलायन व्याट्री इन्डस्ट्रिज प्रालिमार्फत १०–१० थान तथा अन्य विभिन्न १५ कम्पनीबाट ५–५ थान सोलार सेट प्रदान गरेको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले बताए । “भुजिखोला आसपासमा सञ्चालित ११ वटा लघुजलविद्युत् आयोजनामा बाढीका कारण क्षति पु¥याएपछि सिंगो गाउँ नै अन्धकारमय बनेको थियो,” नेपालीले भने, “सोलार सेट हस्तान्तरण भएपछि केही राहतको महसुस भएको छ ।” नेपालीले सोलार सेटलाई तत्कालतका लागि बाढी प्रभावित बसेको ठाउँमा र पछि पुनर्निर्माण भएपछि उनीहरूको घरमा जोडिने बताए । सबै विद्युत् आयोजना क्षतविक्षत भएको अवस्थामा प्राप्त भएको सोलार सेटले ठूलो राहत मिलेको नेपालीले बताए ।
यसैबीच, बाढीले क्षतिग्रस्त विद्युत् आयोजना तत्काल सञ्चालन नहुने देखेपछि नेपाल टेलिकमले समेत वैकल्पिक ब्यवस्था गरेको छ । त्यहाँ रहेका लघुजलविद्युत् सञ्चालनमा आउने सम्भावना नरहेपछि टेलिकमले वैकल्पिक ऊर्जा सोलार जडान गरी सेवा सुचारु गरेको नेपाल टेलिकम बागलुङका प्रमुख केशव शर्माले बताए । ढोरपाटन नगरपालिका–८ बोवाङ बिजौरेमा रहेको टावरमा १३५ वाटको २४ थान सोलार जडान गरेर अवरुद्ध सञ्चार सेवा सञ्चालन गरिएको उनको भनाइ छ । विद्युत् आपूर्ति बन्द हुँदा बाढी प्रभावित क्षेत्रमा सञ्चार सेवाबाट सेवाग्राही वञ्चित भएका थिए । बोबाङको विजौरेको टावर अवरुद्ध हुँदा त्यस आसपास र ढोरपाटन नेपानेमा रहेको टावरमा रेडियो लिंक बन्द रहेको थियो ।
लिंक बन्द हुँदा ढोरपाटन शिकार आरक्ष क्षेत्रमा मोबाइल सेवा अवरुद्ध रहेको नेपाल टेलिकम पोखराका इन्जिनियर शिवप्रसाद पौडेलले जानकारी दिए । नेपाल टेलिकमको नमस्ते मोबाइल सेवा अवरुद्ध हुँदा ढोरपाटन नगरपालिकाको वडा नं ८ र ९ का बासिन्दा सञ्चार सेवाबाट वञ्चित हुनुका साथै बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत वितरणमा समस्या भएको थियो । मोबाइल सेवा सञ्चालनमा आएसँगै स्थानीयले राहत महसुस गरेको ढोरपाटन नगरपालिका–९ का वडाध्यक्ष हरिबहादुर घर्तीले बताए ।

प्रतिक्रिया दिनुहोस्