सीबीआरआई परियोजनाको वेबसाइट शुभारम्भ «

सीबीआरआई परियोजनाको वेबसाइट शुभारम्भ


नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भारत सरकारको सहयोगमा नेपालको शिक्षा क्षेत्रमा भएका भूकम्पपछिका पुनर्निर्माण प्रयासबारे तयार पारिएको एक डेडिकेटेड वेबसाइटको संयुक्त रूपमा भर्चुअल समारोहमार्फत शुभारम्भ गरेका छन् ।
भारत सरकारको सहायतामा भएका भूकम्पपछिको पुनर्निर्माण प्रयासअन्तर्गत शिक्षा परियोजनासँग सम्बन्धित सबै जानकारीका लागि उक्त वेबसाइट अंग्रेजी र नेपाली दुवै संस्करणमा उपलब्ध हुनुका साथै सो वेबसाइट प्रयोगकर्तामैत्री पनि छ । साइटमा गएर परियोजनासम्बन्धी जानकारी लिन सकिनेछ । उक्त वेबसाइट केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई), रुड्कीको अवधारणा र निर्माणमा तयार पारिएको हो । वैज्ञानिक तथा औद्योगिक अनुसन्धान परिषद् (सीएसआईआर) अन्तर्गत रहेको केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई), रुड्की भारतकै एक प्रमुख राष्ट्रिय प्रयोगशाला हुनुका साथै परियोजनाका लागि डिजाइन तथा व्यवस्थापन परामर्शदाता पनि हो । आवास योजना, निर्माण सामग्री, संरचना, निर्माण तथा प्रकोप न्यूनीकरणजस्ता क्षेत्रमा अध्ययन अनुसन्धान गर्ने सीबीआरआई भारतकै एक प्रमुख संस्थान हो ।
शिक्षा क्षेत्रका परियोजनामा यी संस्थानको भूमिका पश्चात केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई), रुड्कीलाई भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण प्रयासअन्तर्गत स्वास्थ्य क्षेत्र परियोजनाका लागि डिजाइन तथा परियोजना व्यवस्थापन परामर्शदाताको रूपमा पनि नियुक्त गरिएको छ । स्वास्थ्य क्षेत्रमा देखाएको भूमिकाका लागि भारत सरकारको तर्फबाट भारतीय राजदूतावास र सीबीआरआई, रुड्कीको बीच हालै एउटा सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।
भारत सरकारको १ अर्ब अमेरिकी डलरको प्रतिबद्घताअनुरुप नेपालमा सञ्चालित भूकम्पपछिको पुनर्निर्माण परियोजना निरन्तरअघि बढिरहेका छन् । विशेषगरी आवास क्षेत्रमा, गोरखा र नुवाकोट जिल्लामा ५० हजार घरमध्ये ४६ हजार घर निर्माण भइसकेको छ । ७० वटा विद्यालय, एउटा पुस्तकालय, १४७ वटा स्वास्थ्य संरचना र २८ वटा सांस्कृतिक सम्पदा क्षेत्रका परियोजनासहित शिक्षा, स्वास्थ्य र सांस्कृतिक पुनःस्थापना परियोजना पुनर्निर्माण÷रेट्रोफिटिंगका लागि कार्यान्वयनमा छन् ।
भारत सरकार भूकम्पपछिको पुनर्निर्माण परियोजनालगायत नेपालको आर्थिक–सामाजिक विकासमा निरन्तर सहयोग गर्न प्रतिबद्घ रहेको दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्