समाजसेवामा साजिदा सिद्धिकी «

समाजसेवामा साजिदा सिद्धिकी

दाङ : नेपालमा महिलाहरू राजनीतिक र सामाजिक नेतृत्वमा अघि बढेका छन् । यसको एक उदाहरण हुन्— घोराही, दाङकी साजिदा सिद्धिकी । मुस्लिम समुदायका अधिकांश महिला घरभित्रै सीमित भए पनि साजिदा भने करिब दुई दशकदेखि नै समाजसेवामा निरन्तर लागिरहेकी छन् । उनी १८÷१९ वर्षको उमेरदेखि सामाजिक क्षेत्रमा क्रियाशील भइन् । मुिस्लम समुदाय त्यसमाथि कलिलो उमेरमै समाजसेवामा हात हाल्नु उनका लागि चुनौतीको विषय थियो, तर साजिदा पछि हटिनन् । उनी भन्छिन्, “यही अठोटले नै मलाई आजसम्म सफलै बनाइरहेको छ ।”
२०६० साल वैशाख ३१ गते सिसा नेपाल संस्था दर्ता भयो । साजिदा यस संस्थाकी अध्यक्ष हुन् । उनी यो संस्था दर्ता हुनुभन्दा दुई वर्षअघिदेखि नै सामाजिक काममा अघि बढेकी थिइन् । सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा नागरिकको पहुँच पु-याउने उद्देश्यले सामाजिक क्षेत्रमा सक्रिय भएको उनले बताइन् । “मुस्लिम समुदायका महिलाहरू बाहिर निस्कन नपाउने अवस्था छ । यसलाई चिरेर म बाहिर निकेको हुँ,” सिद्धिकीले भनिन् ।
मुस्लिम समुदायमा महिलाहरू बुर्का लगाएर घरभित्रै बस्नुपर्ने बाध्यता छ । यस कारणले उनलाई सामाजिक काममा सक्रिय बन्नका लागि धेरै चुनौती भोग्नुपरेको थियो । तर, चुनौतीको सामना गर्दै उनी अगाडि बढेको बताउँछिन् । “समाजको सेवा गर्छु भनेर अगाडि आएपछि चुनौतीहरूको सामना गर्दै अगाडि बढ्नुपर्छ,” उनले भनिन् ।
सुरुका दिनदेखि उनले भोगेका चुनौतीहरू अहिले पनि उत्तिकै छन् । केहीले असहयोग गरे पनि सामाजको विकासका लागि काम गरेकाले धेरैको सहयोग रहेको उनले बताइन् । धेरैको सहयोगका कारण केही मात्रामा भए पनि सामाजिक सेवा गर्न पाएको उनी बताउँछिन् । “सामाजिक काम गर्दा अनेक चुनौतीको सामना गरेर अगाडि बढ्न सक्नुपर्छ,” उनले भनिन् । चुनौतीको सामना गर्ने नसक्नेले सामाजिक कार्य गर्ने नसक्ने उनको अनुभव छ । आफ्नो मिसन र भिजनका साथ अगाडि बढेमा अगाडि बढन सहज हुने उनी बताउँछिन् । “मुस्लिम समुदायमा महिलाहरूले धेरै पढ्नु हुन्न भन्ने समुदायको मान्यतालाई परिवर्तन गर्नुपर्छ भनेर सामाजिक क्षेत्रमा लागेको हुँ,” सिद्धिकीले भनिन् । यसलाई केही मात्रामा भए पनि परिवर्तन गर्न सकिएको उनले बताइन् ।
शिक्षाबिना मानिस अगाडि बढ्न नसक्ने उनको भनाइ छ । शिक्षा भएमा मानिस आर्थिक, सामाजिक तथा राजनीतिक क्षेत्रमा अगाडि बढ्न सक्ने उनले बताइन् । यसैले उनले यो अभियान अगाडि बढाएकी हुन् । मानिसलाई आर्थिक, सामाजिक तथा राजनीतिक क्षेत्रमा अगाडि बढ्न उनले मुस्लिम समुदाय मात्र नभई अन्य समुदायका मानिसलाई जोडेर अगाडि बढाइन् । मुस्लिम समुदायलाई आर्थिक, सामाजिक तथा राजनीतिक क्षेत्रमा अगाडि बढाउँदा अन्य समुदाय पछाडि पर्न सक्छन्, त्यसैले जोडेर अगाडि बढाइएको उनले बताइन् । “म मुस्लिम हुनुभन्दा पहिले नेपाली हुँ, त्यसैले सबैलाई सँगै जोडेर अगाडि बढाएको हुँ,” सिद्धिकीले भनिन् । सबै नागरिकलाई समान व्यवहार गर्नुपर्छ । सबै समुदायलाई जोडेर जाँदा जातीय विभेद हुँदैन । यसबाट आफ्नो धर्म मान्ने र अरूकोलाई सम्मान गर्ने वातावरण सिर्जना हुने उनको भनाइ छ ।
समाजमा रहेका मानिसलाई आर्थिक, सामाजिक तथा राजनीतिक क्षेत्रमा अगाडि बढाउन ११ वटा युवा क्लब, १ हजार विद्यालय र महिलालाई बचत समूहमार्फत करिब ५० हजारलाई सहकारीमा जोड्न सकिएको उनी बताउँछिन् । महिलाहरूलाई सीपमूलक तालिम प्रदान गरिएको छ । सीपलाई सदुपयोग गरेर अहिले उनीहरू आय आर्जनमा जोडिएका छन् । अहिले कोही व्यवसायी तथा उद्यमी बन्न सफल भएका छन् । “यसरी व्यवसायी तथा उद्यमी भएपछि उहाँहरूको आर्थिक अवस्थामा पनि सुधार भएको छ,” उनले भनिन् ।
आर्थिक रूपमा सुधार भएसँगै समाजको विकासमा समेत सहयोग मिल्नेछ । कोही अहिले राजनीतिक रूपमा अगाडि बढेर जनप्रतिनिधिसमेत बन्न सफल भएका छन् । “यसरी अगाडि बढेको देख्दा केही मात्रामा भए पनि समाजका लागि काम गर्ने सकिएछ भन्ने लागेको छ,” उनले भनिन् । तर, अझै पनि सबै क्षेत्रमा समान प्रतिनिधित्व हुन सकेको छैन । हरेक क्षेत्रमा सबै समुदायको प्रतिधित्व हुन आवश्यक रहेको उनले बताइन् ।
आफूले सोचेअनुसार सामाजिक कार्य नसकिएको उनको अनुभव छ । “आफूले सोचेअनुसार परिवर्तन गर्न समय लाग्छ, आफू निरन्तर लाग्नु आवश्यक छ,” उनले भनिन् । समाजमा अझै पनि आफ्नो अधिकार माग गर्नेहरूको कमी रहेको उनी बताउँछिन् । समाजमा परिवर्तनका लागि सबैले आफ्नो दायित्व पूरा गर्नुपर्ने उनले बताइन । शिक्षासँगै आर्थिक रूपमा अगाडि बढेमा समाजको विकास गर्न सकिन्छ । तर, यसका लागि सबैले आफैंबाट सुरुवात गर्नुपर्ने उनको धारणा छ ।

प्रतिक्रिया दिनुहोस्