हवाई उडानसँगै पर्यटनको पुनरुत्थान

हवाई सेवाको सुरुवातले पछिल्लो छ महिनादेखि मृतप्रायः रहेको पर्यटन उद्योग पनि तङ्ग्रिने देखिन्छ ।
कोरोना संक्रमणको जोखिम बढेपछि करिब छ महिनादेखि बन्द रहेको व्यावसायिक आन्तरिक हवाई उडान सेवा सोमबारबाट सुरु भएको छ । मुलुकभित्र सेवा दिँदै आइरहेका विभिन्न नौवटा कम्पनीमध्ये आठवटाले सोमबारबाट आफ्नो नियमित सेवा सुरु गरे । सरकारले असोज १ गते नै आन्तरिक हवाई सेवा सुरु गर्ने भने पनि वायु सेवा कम्पनीहरूले सोमबारबाट मात्र स्वास्थ्य सतर्कता अपनाई उडान सुरु गरेका हुन् । लामो समयदेखि आन्तरिक एवं बाह्य उडान हुन नसक्दा हवाई सेवा कम्पनीहरूलाई मात्र होइन, सरकार र स्वदेशी तथा विदेशी नागरिकहरू सबैलाई नकारात्मक असर परिरहेको थियो । अर्थतन्त्र त झन् यसबाट अछुतो रहने कुरै भएन । त्यसैले अघिल्लो साताबाट सरकारले केही सुरक्षित देशबाट बाह्य उडान सुरु गरिसकेको परिप्रेक्ष्यमा सुरक्षाका सबै मापदण्ड प्रयोग गरेर आन्तरिक उडान सुरु गर्नु अत्यन्त सकारात्मक छ । वायुसेवा कम्पनीले पनि सरकारद्वारा जारी सुरक्षाका सबै मापदण्ड अवलम्बन गरी चालक दल, यात्रु, कर्मचारीलगायतको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी सचेततापूर्वक हवाई उडान गर्नु आवश्यक छ । अन्यथा वायुसेवा कम्पनी र कम्पनीमा आश्रित विभिन्न तहका कर्मचारीलाई प्रत्यक्ष असर पर्छ भने सरकारलाई पनि यसबाट उठ्ने राजस्व कम हुँदा सरकारी कर्मचारीको तलब खुवाउन एवं अन्य खर्चका लागि संकट पर्ने देखिन्छ । साथै, वायुसेवा कम्पनीले बैंक तथा वित्तीय संस्थाबाट लिएका ऋण तिर्न नसक्दा बैंक तथा वित्तीय संस्थामा पनि यसको प्रत्यक्ष असर परिरहेकै छ । विमानस्थल, धावनमार्ग, होल्डिङ कक्षमा साबुनपानीले हात धुने व्यवस्था, सेनिटाइजर, थर्मल गनसहितको प्रबन्ध गरी करिब ६ महिनापछि सुरु भएको हवाई सेवाका कारण विमान सेवा कम्पनीका कर्मचारी मात्र नभई विमानस्थलबाहिर ट्याक्सी सेवा प्रदायकहरूको रोजगारी पनि सुनिश्चित गरेको छ । तर, हवाई सेवा सञ्चालनमा आए पनि कम यात्रु भएकाले हवाई उडान संख्यासमेत एक चौथाइ मात्र भएको छ ।
हवाई सेवाको सुरुवातले पछिल्लो छ महिनादेखि मृतप्रायः रहेको पर्यटन उद्योग पनि तङ्ग्रिने देखिन्छ । अन्यथा पर्यटन व्यवसायमा आश्रित तारेदेखि साधारण होटल एवं विभिन्न पर्यटकीय स्थलहरूमा आश्रित रोजगारी तथा तिनमा आश्रित लाखौं परिवारको पनि विचल्ली भइरहेको छ । हवाई सेवाको सुरुवातले पर्यटनसँग सम्बन्धित विभिन्न पेसा–व्यवसायलाई पनि राहत हुने देखिन्छ । पर्यटन प्रवद्र्धन गर्न केही वायुसेवा कम्पनीहरूले सुहलियत दरमा भ्रमण प्याकेज सार्वजनिक पनि गरेका छन् । यसरी वायुसेवा कम्पनीहरूले होटल, ट्राभल्स, ट्रेकिङ कम्पनीहरूसँगको सहकार्यमा सहुलियत दरमा भ्रमण प्याकेज सार्वजनिक गर्दा पर्यटन उद्योगलाई बचाउन तथा आन्तरिक पर्यटनलाई चलायमान बनाउन मद्दत पुग्ने निश्चित छ । यस्ता प्योकजले वायु सेवा कम्पनीलगायत पोखरा, एभरेस्ट ट्रेल, मुक्तिनाथ, घान्द्रुक, जंगल सफारी चितवन, रारा, विराटनगर, नेपालगन्ज, भरतपुर, जनकपुर, भद्रपुर, भैरहवा, तुम्लिङटारजस्ता स्थानको पर्यटन चलायमान हुँदा अर्थतन्त्र पनि चलायमान हुन्छ । पर्यटन उद्योग तङ्ग्रिनासाथ पर्यटन व्यवसायमा आश्रित अनेकौं पेसा–व्यवसायलाई पनि सहजता हुने हुनाले यसले अर्थतन्त्र चलायमान बनाउन मद्दत गर्छ । लामो समयपछि उडान सुरु हुँदा पर्यटन व्यवसायीहरू पनि खुसी भएका छन् । सोसाइटी अफ टुर एन्ड ट्राभल अपरेटर्स (साट्टो), नाट्टा, नेपाल होटल संघ, टानलगायतका पर्यटन व्यवसायसँग सम्बन्धित संस्थाहरूले आन्तरिक उडान सुचारु हुनु पर्यटन क्षेत्रका लागि सकारात्मक भएको भन्दै अब छिट्टै पर्यटन स्थलहरू, मठमन्दिरहरू पनि खुला गर्नुपर्ने बताएका छन् ।