डिजिटल इकोनोमी कन्क्लेभ हुँदै «

डिजिटल इकोनोमी कन्क्लेभ हुँदै

काठमाडौंमा कात्तिक १ गते ‘डिजिटल इकोनोमी कन्क्लेभ, २०२०’ आयोजना हुने भएको छ । ब्रान्डवर्थ प्रालिले आयोजना गर्न लागेको कन्क्लेभमा डिजिटल इकोनोमीका सबै सरोकारवालालाई एकै छानामुनी ल्याई यसको भविष्य, सम्भावना र चुनौतीका बारेमा वृहत छलफल गरिने आयोजकले जनाएको छ ।
सूचना प्रविधिको तीव्र विकासले उत्पादन विकास र सेवा प्रवाहमा नवीनता, सरलता र सहजता ल्याएको छ । सूचना प्रविधिलाई विभिन्न क्षेत्रमा अंगीकार गर्दै अघि बढ्ने क्रममा हाम्रो अर्थतन्त्रमा वित्तिय सेवा, व्यापार, उत्पादनमा प्रविधिको उपयोग अभिन्न अंग बन्दै गएका छन् । यसले अर्थतन्त्रको रुपान्तरण र तीव्र विस्तारमा समेत सहयोग पु¥याएको छ । यसै सन्दर्भमा कन्क्लेभ आयोजना गर्न लागिएको हो ।
कार्यक्रममा अर्थतन्त्रको डिजिटाइजेसनको सम्भावना, यसको आगामी बाटो, आवश्यक सकारात्मक नीतिगत हस्तक्षेप तथा डिजिटाइजेसनले सिर्जना गर्ने अवसरबारे सरोकारवाला माझ छलफल हुने आयोजक संस्था ब्रान्डवर्थका प्रमुख कार्यकारी अधिकृत मोहन गजुरेलले जानकारी दिए । “सुलभ इन्टरनेट सेवा तथा स्मार्टफोन, बढ्दै गएको इन्टरनेट तथा मोबाइल फोनको उपलब्धताले नेपालको अर्थतन्त्रको डिजिटाइजेसनमा लैजाने अवसर दिएको छ,” गजुरेलले भने, “कोरोना भाइरस महामारी नियन्त्रणका लागि कार्यान्वयनमा ल्याइएको लकडाउनले अर्थतन्त्रमा डिजिटाइजेसनको टड्कारो आवश्यकता औंल्याएको छ ।”
कन्क्लेभमा विभिन्न विषयका विज्ञहरूले उनीहरूको हालसम्मको यात्रा, अनुभव, नियमनकारी निकायहरूद्वारा गर्नुपर्ने नीतिगत व्यवस्था लगायतबारे आफ्ना अनुभव र विचार आदानप्रदान गर्नेछन् ।
वित्तीय सेवा, भुक्तानी सुविधा, ई–कमर्स सम्बन्धित नीति, नियममनका व्यवस्था, अभ्यास तथा व्यवसायलाई सहजीकरणका सम्बन्धमा कन्क्लेभमा बृहत् छलफल हुनेछ । नेपाली ई–कमर्स इकोसिस्टमका सबै सरोकारवालाहरूको सहभागिता रहने यस कन्क्लेभले नेपालमा डिजिटल इकोनोमीका बारेमा नयाँ बहस सुरु गर्ने विश्वास आयोजकको छ ।

प्रतिक्रिया दिनुहोस्