विज्ञान प्रविधिमा विकास एजेन्सीको भूमिका महत्वपूर्ण «

विज्ञान प्रविधिमा विकास एजेन्सीको भूमिका महत्वपूर्ण


विज्ञान र प्रविधिको महत्व अझ बढिरहेको सन्दर्भमा विज्ञान प्रविधिमा विकास एजेन्सीको भूमिका बढ्दै गएको सरोकारवालाहरुले औंल्याएका छन् । राष्ट्रिय विज्ञान दिवसको अवसरमार भएको डिजिटल संवादमा
पूर्वमन्त्री गणेश शाहले यस वर्ष नेपालमा ग्लोबल इन्नोभेसन इन्डेक्समा १४ स्थान माथि उक्लेर ९५ स्थानमा आएको जानकारी गराउँदै अझ सरकारले यसतर्फ लगानी र उपयुक्त पोलिसी बनाउनुपर्ने बताए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. सञ्जय शर्माले अब आर्टिफिसियल इन्टेलिजेन्स र रोबोटिक्सको अधिकतम प्रयोग गरेर औद्योगिक विकास गर्नुपर्ने बताए । उनले सरकारले बनाएका विभिन्न नीति समयमा कार्यान्वयन नहुनु र चेतनाको अभावले गर्दा पनि समस्या खडा भएको बताए । सचिव शर्माले विज्ञान तथा प्रविधिको विकासका लागि विद्यालयदेखिको प्राविधिक तथा वैज्ञानिक शिक्षा जरुरी रहेको औंल्याएका थिए ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) का प्रमुख कार्यकारी अधिकृत प्रदीप ज्ञवालीले एनएचआरसीले संक्रामक रोगको नियन्त्रण र प्रविधिको विकासमा विशेष ध्यान दिइरहेको बताए । उनले नैतिक समीक्षा बोर्ड बनाएर विज्ञानको विकासबारे नयाँ प्रस्ताव आएमा वैज्ञानिक ढंगबाट विश्लेषण गर्ने बताएका थिए । एनएचआरसीले अहिले कोभिडको समयमा आयुर्वेदिक औषधिको क्लिनिकल परीक्षण पनि गरिरहेको ज्ञवालीले जानकारी दिए ।
यसैगरी नाष्टका प्रविधि प्रमुख डा. रवीन्द्र ढकालले पछिल्लो समय नाष्ट र अन्य संस्थाहरूको पनि सहकार्यमा इन्नोभेसनको विकास र प्रवद्र्धनात्मक कार्यक्रमहरू भइरहेको बताए । ग्लोबल इन्डेक्समा के कारणले हामी माथि उक्लियौं र कहाँ कमजोर छ भन्ने हेरेर आगामी दिनमा अझ सुधार गर्न लाग्नुपर्ने ढकालको भनाइ थियो ।
युएनडीपी नेपालका हेड अफ एक्सपेरिमेन्टेसन विशम ज्ञवालीका अनुसार युएनडीपीले ७० भन्दा बढी देशहरूमा सामाजिक आविष्कारको प्रयोगले बेरोजगारी हटाउने काम भइरहेको छ । कोभिड नियन्त्रणको लागि पनि सिस्टर रोबोट बनाउन र अन्य प्राविधिक सहयोगमा पनि काम गरिरहेको ज्ञवालीले बताए । आगामी दिनमा डिसिजन मेकिङ र अन्य कामहरूमा प्रविधिको प्रयोगलाई उच्च प्राथमिकतामा राख्दै अघि बढ्ने ज्ञवालीले बताए । द एसिया फाउण्डेसनका प्रनय स्थापितले कसरी र कुन लेवलबाट प्रविधिको प्रयोग गर्न सकिन्छ भनेर जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्