६ महिना पछि पोखरामा डुंगा सञ्चालन «

६ महिना पछि पोखरामा डुंगा सञ्चालन

पोखरा-कोरोना भाइरसको प्रभावले गर्दा पोखराको मुख्य पर्यटकीय स्थल फेवातालमा करिब ६ महिना पछि डुंगा सयर पुनः सुरु भएको छ । प्रशासनसँगको सहकार्यमा लामो समय बन्द रहेको डुंगा व्यवसाय हालै सञ्चालनमा गरिएको फेवा डुंगा व्यवसायी संगठनका अध्यक्ष बुद्धिबहादुर नेपालीले बताए ।
कोरोनाबाट बच्न बचाउन र आफ्नो व्यवसाय सञ्चालनका लागि सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पूरा गरी करिब ५० प्रतिशत सिट क्षमतामा यात्रुलाई डुंगा सयर गराउने गरेको उनले जनाए । उनले भने, “अन्य समयको जसरी हाल हामीले तालवराही मन्दिरमा दर्शन गराउन भने लैजाने गरेका छैनौं, हामीले आन्तरिक पर्यटकलाई घण्टाको रुपमा डुंगा सयर गराउन सुरु गरेका हौं ।” केही दिनदेखि सुरु भएको डुंगा व्यवसाय हाल दैनिक १० वटा डुंगा मात्र सञ्चालन हुने गरेको उनले जनाए ।
पोखरामा करिब ३ सय जना डुंगा व्यवसायीहरु रहेका छन् भने एक सय ५० जना मजदुरी गर्ने डुंगा चालक रहेका छन् । अधिकाशं डुंगा स्वरोजगार चालक छन् । फेवातालमा करिब ८ सय वटा डुंगा रहेको संगठनले जनाएको छ । डुंगा सयर गर्नुपूर्व यात्रुको ज्वरो मापन गरिने, मास्क र सेनिटाइजर अनिवार्य प्रयोग गर्न लगाई कम्तिमा एक मटिर दूरी कायम हुने गरी डुंगा सयर गराउने व्यवस्था मिलाएको अध्यक्ष नेपालीले बताए ।

प्रतिक्रिया दिनुहोस्