पाइपलाइनबाट पेट्रोल ल्याउन भण्डारण पूर्वाधार बनाइँदै «

पाइपलाइनबाट पेट्रोल ल्याउन भण्डारण पूर्वाधार बनाइँदै


नेपाल आयल निगमले बाराको अमलेखगन्जमा ८२ लाख लिटर पेट्रोल भण्डारण गर्नेगरी पूर्वाधार निर्माण गर्ने भएको छ । अमलेखगन्जमा पेट्रोलको भण्डारण क्षमता न्यून भएकाले थप गर्न लागिएको हो । डिजेलको भण्डारण क्षमता उल्लेख्य भए पनि पेट्रोलको न्यून हुँदा थप ८२ लाख लिटरको क्षमता बढाउन लागिएको अमलेखगन्ज कार्यालयले जानकारी दिएको छ ।
निगमको अमलेखगन्ज कार्यालयका प्रमुख भरत रेग्मीले ८२ लाख लिटर पेट्रोलको भण्डारण क्षमता बढाउन लागिएको जानकारी दिए । ४१ लाख लिटरका दुई वटा पेट्रोल ट्यांकी निर्माण गर्न लागिएको उल्लेख गर्दै उनले भने, “पेट्रोलको भण्डारण क्षमता एकदम न्यून रहेकाले पाइपलाइनबाट पेट्रोल आउने तेल भण्डारण गर्नका लागि क्षमता बढाउन लागिएको हो ।” हाल अमलेखगन्जमा १९ लाख लिटर पेट्रोल भण्डारण क्षमता छ । प्राविधिक रूपले यसमा पनि पूर्ण क्षमतामा भण्डारण गर्न भने मिल्दैन । अहिले पाइपलाइनबाट डिजेलमात्र आयात भइरहेको छ । ८२ लाख भण्डारण क्षमता बढाएपछि एक करोड लिटर पुग्ने हुँदा अन्य स्थानमा आपूर्ति गर्नसमेत सहज हुने निगमको भनाइ छ । पाइपलाइनबाट हाल डिजेलमात्र आयात भइरहे पनि दोस्रो चरणमा पेट्रोल ल्याउनका लागि भण्डारण क्षमता बढाउन लागिएको रेग्मीले जानकारी दिए ।
भण्डारण क्षमता अभावकै कारण पाइपलाइनबाट हाल पेट्रोल आयात हुन सकेको छैन र ट्यांकरबाटै आयात गर्नु परिरहेको छ । निगमले अमलेखगन्ज–२१ मा रहेको आफ्नै १२ विघा जग्गामा नयाँ भण्डारणस्थल निर्माण गर्न लागेको हो । सोही स्थानमा ६० लाख लिटरको क्षमताको दुई वटा पानीका भर्टिकल ट्यांकीसमेत निर्माण गर्न लागिएको कार्यलयले जानकारी दिएको छ । यस्तै, २४ वटा ट्यांकर एकैपटक लोड गर्न सकिने व्यवस्था गर्न लागिएको छ । उच्चस्तरको प्रयोगशाला स्थापनासमेत गर्न लागिएको अमलेखगन्ज कार्यालयले जानकारी दिएको छ । इन्डियन आयल कर्पाेरेसन (आईओसी)ले इन्धनको गुणस्तरको सर्टिफिकेट पठाउने गर्छ । आईओसीले पठाएको तेलको गुणस्तर उपयुक्त छ कि छैन भनेर परीक्षण गर्न सकिने अत्याधुनिकस्तरको प्रयोगशाला निर्माण गर्न लागिएको रेग्मीले जानकारी दिए । उनका अनुसार यसका लागि ९७ करोड भारु लागत लाग्ने अनुमान गरिएको छ ।
हाल भारतको पटनाबाट पाइपलाइनमार्फत डिजेल आयात भइरहेको छ । आईओसीले मोतिहारीमा डिपो निर्माण गरेपछि त्यसबाट तेल ढुवानी गरिन्छ । अहिले पाइपलाइनबाट प्रतिघन्टा दुई सय किलोलिटर डिजेल आयात हुने गरेको छ । लकडाउन र निषेधाज्ञाका कारण बजारमा डिजेल खपत घटेपछि पाइपलाइनबाट तेल आउन रोकिएको छ । पाइपलाइनबाट डिजेल ढुवानी गर्दा प्रतिलिटर दुई रुपैयाँ सस्तो पर्ने गर्छ । एक वर्षको अवधिमा एक अर्ब भन्दा बढी ढुवानी रकम बचत भएको निगमले जानकारी दिएको छ । अहिले सम्म पाइपलाईनमार्फत ५७ लाख लिटर डिजेल आयात भएको छ ।

प्रतिक्रिया दिनुहोस्