आर्थिक क्षेत्र अध्ययन गर्न चार उपसमिति «

आर्थिक क्षेत्र अध्ययन गर्न चार उपसमिति

पूर्व अर्थमन्त्रीहरू भन्छन्ः समग्र अर्थतन्त्रकै अध्ययन गर्नुपर्र्छ

पूर्व अर्थमन्त्रीहरूले देशको समग्र अर्थतन्त्रकै अध्ययन गर्नुपर्ने धारणा राखेका छन् । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा उनीहरूले अर्थतन्त्रको ‘मेनस्ट्रिम’लाई नै अध्ययन गर्नुपर्ने आवश्यकता रहेकोे बताएका हुन् । बैठकमा भाग लिएका अन्य सांसदले पनि कोभिड १९ बाट देशको अर्थतन्त्रमा गम्भीर असर परेकाले समग्र क्षेत्रको सुक्ष्म अध्ययन गर्नुपर्नेमा जोड दिएका छन् ।
समितिका सभापति कृष्णप्रसाद दाहालले अर्थतन्त्रका विभिन्न क्षेत्रमा अध्ययन गरी सरकारलाई सुझाव दिने उद्देश्यले अध्ययन उपसमिति गठन गरिएको बताए । तर, पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका सांसद डा. बाबुराम भट्टराईले अर्थतन्त्रको ‘मेनस्ट्रिम’लाई नै अध्ययन गर्नुपर्ने आवश्यकता रहेकोे बताए । “मुख्य रुखलाई नै अध्ययन गरेपछि हाँगाबिगा त्यसभित्रै पर्दछन्,” उनले भने, “अर्थ राजनीतिलाई बृहत रुपमा नै अध्ययन गर्नुपर्ने आवश्यकता देखिएको छ ।”
पूर्व अर्थमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद सुरेन्द्र पाण्डेले पनि समग्र अर्थतन्त्रकै अध्ययन गर्नुपर्ने भन्दै सार्वजनिक संस्थानको अध्ययन गर्दा हाल भएका संस्थानको अध्ययन गर्नेमात्रै नभएर नयाँ संस्थान बनाउने या नबनाउने सम्बन्धमा समेत अध्ययन गर्नुपर्ने धारणा राखे । पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको समग्र अर्थतन्त्र र सरकारले लिएका आर्थिक नीतिहरूको बारेमा समेत अध्ययन गर्नुपर्ने सुझाव दिए । यस्तै, समितिबाट अध्ययन भएका विषयहरू सरकारका लागि सुझाव दिने गरी लागू हुनुपर्नेमा केन्द्रित हुन उनले जोड दिए ।
बैठकले अर्थतन्त्रको अध्ययन गर्न विभिन्न चारवटा उपसमिति गठन गरेको छ । समितिको मंगलबार बसेको बैठकले राजस्व चुहावट, राजस्व बक्यौता र राजस्व प्रशासन, सार्वजनिक खर्च, खरिद, लगानी र राष्ट्रिय गौरवका आयोजना व्यवस्थापन सम्बन्धी, बैंक तथा वित्तीय संस्था र सार्वजनिक संस्थान अध्ययन उपसमिति गठन गरेको हो ।
राजस्व चुहावट, राजस्व बक्यौता र राजस्व प्रशासन उपसमितिको संयोजकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद पदम गिरी, सार्वजनिक खर्च, खरिद, लगानी र राष्ट्रिय गौरवका आयोजना व्यवस्थापन सम्बन्धी उपसमितिको संयोजकमा नेकपाकै सांसद सत्या पहाडी, बैंक तथा वित्तीय संस्था उपसमितिमा पनि नेकपाका सांसद जुलीकुमारी महतो र सार्वजनिक संस्थानका अध्ययन उपसमितिको संयोजकमा सांसद मेटमणि चौधरी चयन भएका छन् । चौधरी पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद हुन् । मंगलबार गठित उपसमितिहरूले नेपालको राजस्व, कर नीति, नेपालको सार्वजनिक खरिद व्यवस्थापन, बैंकहरूका निक्षेप र कर्जा लगानीको अवस्था, तथा सार्वजनिक संस्थानहरूको वित्तीय तथा कार्यगत स्थितिको सम्बन्धमा आ–आफ्नो कार्य क्षेत्रभित्र रही अध्ययन प्रतिवेदन तयार पार्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्