दुई सय विदेशीद्वारा भिसा शुल्क मिनाहाको माग «

दुई सय विदेशीद्वारा भिसा शुल्क मिनाहाको माग

कोभिड–१९का कारण नेपालमा अलपत्र परेका करिब डेढ दर्जन मुलुकका विदेशी पर्यटकले सरकारसँग भिसा शुल्क निशुल्क गर्न माग गरेका छन् । उनीहरूले संयुक्त आह्वान गर्दै आफूहरूसँग भएको पैसा पनि सकिएको र कोभिड–१९ का कारण स्वदेश फिर्ता हुन नसकेको भन्दैं सरकारसँग भिसा शुल्क मिनाह गरेर सहयोगको माग गरेका छन् ।
सार्वजनिक यातायातसँगै सीमा नाका बन्द रहेको, सीमित अन्तर्राष्ट्रिय उडान र महँगो भाडाका कारण स्वदेश फिर्ता हुन नसकेको भन्दै नेपालमा रहेका पर्यटकले सरकारसँग सहजीकरणका लागि माग गरेका छन् । कुल १९८ जनाले संयुक्त रूपमा नाम र देश उल्लेख गरेर सरकारसँग यस्तो माग गरेका छन् । यसमा ५२ जना चिनिया, २८ अमेरिकी, ९ जर्मन, ८ रसियाली, ७ फ्रान्सेली, ५ स्पेनीसहित बेलायती, इटालीयन लगायत करिब १ दर्जन बढी देशका नागरिक रहेका छन् ।
सहज व्यावसायिक अन्तर्राष्ट्रिय उडान र बोर्डर खुला नभएसम्म पर्यटक शुल्क नलिन सरकारसँग उनीहरूले माग गरेका छन् । “तत्काल हामीसँग केही पनि आम्दानीको स्रोत नभएको, भएको पैसा पनि सकिएकोले हामी नेपालमा बसिरहेको र भिसा शुल्क निशुल्क गर्नको लागि सरकारसँग माग गर्छौ,” संयुक्त मागमा भनिएको छ । बोर्डरहरू सिल रहेको भएका सीमित चार्ट उडानको चर्का शुल्क तिर्नसक्ने अवस्था नभएकाले गर्दा तत्काल सहज र सरल व्यावसायिक उडान नभएसम्मको लागि नेपाल बसाइको भिसा शुल्क निशुल्क गर्न उनीहरूले माग गरेका हुन् ।
अध्यागमन ऐन–२०४९ र अध्यागमन नियमावली–२०५१ को आधारमा सरकारले कुनै पनि विदेशी नागरिकको भिसा शुल्क निशुल्क गर्ने कानुनी व्यवस्था छ । भिसाको दण्ड जरिवानाको शुल्क मिनाहा गर्ने अधिकार अध्यागमन ऐन–२०४९ अनुसार विभागका महानिर्देशकलाई अधिकार प्रत्यायोजन गरेको भए पनि पर्यटकको भिसा शुल्क मिनाह गर्ने अधिकार सरकारलाई मात्र छ । केही छोटो समयको भिसा शुल्क मिनाहा गृह मन्त्रालयले गर्नसक्ने भए पनि ठूलो रकम र लामो समयको भिसा शुल्क मिनाहा मन्त्रिपरिषद्बाट गर्ने गरिएको छ । विभागका महानिर्देशक रमेशकुमार केसीका अनुसार नेपालमा रहेका दूतावासहरूले विशेष अनुरोधसहित भिसा शुल्क मिनाहा गर्न आएको प्रस्ताव(फाइल)लाई आवश्यक प्रक्रियासहित अगाडि बढाउन विभागले मन्त्रालयमा पठाउने गरेको छ ।
सरकारले नेपालमा रहेका संयुक्त राष्ट्रसंघीय निकायका साथै अन्य केही कुटनीतिक निकायको संस्थागत अनुरोधमा भिसा शुल्क मिनाहा गर्न आएको प्रस्तावलाई स्वीकारेको विगतको अभ्यास रहेको अधिकारीले बताएका छन् । विभागले भदौ ४ देखि निषेधाज्ञा लागू गरेको समयमा भिसा नवीकरण गर्नबाट बन्चित भएका विदेशी नागरिकलाई १५ दिनसम्म कुनै पनि थप शुल्क नलिइ भिसा नियमित गर्न पाउने सुविधा प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्